टेलिकमको १५ लाख पुराना सिमकार्ड अब नयाँ ग्राहकलाई

1378 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । नेपाल टेलिकमको सिम लिएर लामो समय सम्म प्रयोग गर्नु भएको छैन भने अब त्यो सिमको नम्बर तपाईको नामबाट स्वत अरुमा सर्ने भएको छ ।
नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगमा ल्याएकोले लामो समय देखि नचलेका सिम अब नयाँ व्यक्तिलाई दिन लागिएको हो ।
टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको संख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेर प्रयोगमा ल्याउन थालेको हो । लामो समयदेखि प्रयोग नभएका सिमकार्डलाई पुनः प्रयोग गर्न रिसाइकल गरिएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार रिसाइकल गरिएका नयाँ सिमकार्डको नम्बर पुरानै हुने भए पनि प्रकृया पुरा गरेर नयाँ ग्राहकले लिन सक्नेछन् । नेपाल टेलिकमले प्राधिकरणबाट हाल ९८४,९८५ र ९८६ नम्बरको अपरेटर कोड प्राप्त गरेको छ । टेलिकमका सिमकार्ड नम्बर यिनै अङ्कबाट सुरु हुने गरेको छ । ९८४ र ९८६ प्रिपेडका लागि र ९८५ पोष्टपेड सिमका लागि प्रयोगमा रहेको छ । टेलिकमले दुई करोड सिमकार्ड नम्बर मात्रै सिर्जना गरि बिक्री गर्न पाउने छ । गत बर्षको मङ्सिरमै प्रिपेडतर्फको दुई करोड संख्या नाघेपछि टेलिकमले त्यसयता पुराना सिम रिसाइकल गरेरै बजारमा नयाँ ग्राहकलाई सिमकार्ड उपलब्ध गराइरहेको जनाएको छ ।