कोरोना, अनलाइन कक्षा र बास्तविक अबस्था

1993 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


– सानुबाबु तिमिल्सिना

एकजना छिमेकी दाई दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहनुभएको छ । मजदुरी गरेर नै उहाले आफ्ना छोराछोरीलाई सदरमुकामको निजी विद्यालयमा पढ्न पठाउनुहुन्छ । तर अहिले कोरोना भाईरस कोभिड १९ का कारण उत्पन्न परिस्थितिले उहालाई निकै समस्यामा पा¥यो । कोरोनाका कारण दैनिक मजदुरी गर्ने काम बन्द भयो । काम बन्द भएपछि दैनिक गुजारामा समस्या हुने नै भयो । जेनतेन विभिन्न निकाय तथा पालिका र वडा कार्यालयले प्रदान गरेको राहतले गर्दा दैनिक गुजारामा भरथेक गरेको छ । यस्तैमा लामो समयसम्म विद्यालय खुल्ने अवस्था नरहेपछि अनलाईन कक्षा शुरु गर्ने विषयमा विद्यालयले खवर ग¥यो । दुःखसुख गरेर उहाले एउटा राम्रै मोबाइल किन्नु भएको रहेछ, । अनलाईन कक्षाको लागि मोबाईल त भयो तर इन्टरनेट थिएन । अनलाईन कक्षाको लागि इन्टरनेट पनि अनिवार्य भयो । जसोतसो ऋणधन गरेर भएपनि कोठामा नेट पनि जोडियो, अनलाईन कक्षा शुरु भयो, बालबच्चाले नियमित रुपमा अनलाईन कक्षा लिइरहेका छन् । यसबाट बालबालिका खुसी पनि छन् । फेरी विद्यालयले टेलिभिजनबाट पनि सरकारले पठनपाठनको व्यवस्था गरेकोले समय मिलाएर टेलिभिजनबाट पठन पाठन गराउन भनेर सुचना पठाएको छ । अव भने ती छिमेकी दाईलाई समस्या थपियो । अनलाईन कक्षाको लागि नेट जडान गर्दा लागेको ऋण तिरिनसक्दै फेरी टेलिभिजन कक्षा भनेर टिभि किन्न पर्ने पो भयो उहाले गुनासो गर्नुभयो ।

छिमेकी दाई मात्र होइन यस्तो समस्या अहिले धेरै भन्दा धेरै अभिभावकहरुलाई परेको छ । अनलाइन, टेलिभिजन कक्षा के हो र दुवै अनिवार्य हो वा जे भएपनि हुने हो भन्ने अनविज्ञ पनि पक्कै भएको छ होला । लामो समयसम्म विद्यालय खुल्ने अवस्था नआएपछि सरकारले नै अहिले अनलाईन कक्षाको अवधारणा बनाएको हो । बालबालिकाहरुमा लामो समयसम्म पठनपाठनबाट बाहिर हुँदा समस्या हुनसक्ने भन्दै अहिले यसो थोरै समय पठनपाठनमा व्यवस्त गराउन सके बानी पर्दै जाने र पछि कक्षा शुरु भएपछि सजिलो त पक्कै होला तर यो सरकारले भनेजस्तो सहज पनि छैन । सरकारले नेटको पहुँचमा भएकालाई अनलाईन कक्षा, टेलिभिजनभएकालाई टेलिभिजनबाट र त्यो नभएकालाई रेडियोबाट पठनपाठनको व्यवस्था गर्ने भनेको छ । तर भनेजस्तो यस्तो सजिलो देखिएको छैन । हाम्रा सबै भुगोलमा अझै पनि राम्रोसँग फोन त टिप्दैन अनि कसरी अनलाईन कक्षा लिनु । टेलिभिजनबाट पढुँ भन्दापनि सबैको पहुँचमा टेलिभिजन छैन । यस्तो अवस्थामा सबैको सहज र पहुँचमा उपलब्ध हुनसक्ने माध्यम भनेको रेडियो हुँदा हुँदै पनि बालबालिकाहरुले कसरी सिक्छन्, सुनेकै आधारमा कसरी त्यसलाई अनुशरण गर्लान यसै भन्न सकिन्न । तर यसको विकल्प पनि अहिले छिट्टै देखिंदैन । अवस्था सहज छैन ।

अहिले कोरोना भाइरस अर्थात कोभिड १९ रोगका कारण विश्व नै त्रसित रहेको छ । दिनानु दिन कोरोना संक्रमण दर पनि बढ्दै गइरहेको छ । नेपालमा पनि रोग संक्रमणको दर बढ्दै गएको अवस्था छ । कोरोनाका कारण हरेक क्षेत्र प्रभावित बन्दै गएको छ । ज्यालामजदुरी, पेशा व्यवसाय लगायतका सबै क्षेत्र प्रभावित छन् । यस्तै अवस्थामा कोरोनाबाट शैक्षिक क्षेत्र पनि प्रभावित बनेको छ । सरकारले २०७६ चैत्र ११ गतेबाट देशभर लगाएको लकडाउनका कारण सबै शैक्षिक संस्था बन्द भए र अहिलेसम्म पनि बन्दको अवस्थामा छन् । यसबाट नयाँ शैक्षिक सत्रको शुरुमा नया कक्षामा नयाँ पाठ्यपुस्तकका साथ अध्ययन गर्ने अपेक्षामा रहेका लाखौं बालबालिबाहरुको भविष्य पनि अन्यौल बनेको छ । बालबालिकाहरुमा एक किसिमको कौतुहलता पनि उत्पन्न भएको छ कि एसईई परिक्षा रोकियो, त्यसमा के हुन्छ होला ? यसैगरी हाम्रो पठन पाठन पनि शुरु भएको छैन । कतै पठन पाठन नहुने पो हो की ? यस्तो कौतुहलता हुनु स्वभाविक पनि हो । किनभने विद्यालय बन्द भएको तीन महिनाभन्दा बढि भइसक्यो । सामान्य अवस्थामा पनि केही दिन विद्यालय नखुल्दा कस्तो कस्तो नौलो लाग्ने, अवस्था यो लामो समयसम्म विद्यालय बन्द भएको अवस्थामा यस्ता खुलदुली आउनु स्वभाविक हो । तर यस्तो विशम अवस्थामा अन्य सामान्य अवस्थाकै जस्तो सबैकुरा पनि पाइदैन । जे छ, त्यसमै खुसी हुन सक्नुपर्छ । यस्तो अवस्थामा खेल्दै सिक्दै, केही नया काम गर्ने, नया सिर्जना गर्ने, आफुभन्दा अग्रजहरुबाट ज्ञान गुणका कुराहरु सुन्ने गर्दा पनि केही फाइदा अवस्य हुन्छ ।

कुरा बालबालिकाको भविष्यको मात्र होइन कोरोना रोग फैलिएसँगै नेपाल सरकारले रोग संक्रमण भएका र विदेशबाट देशमा आएका आम नागरिकहरुका लागि सुरक्षित तवरबाट बसोबासको व्यवस्था मिलाउन धेरै ठाउँमा सरकारी विद्यालयहरुलाई क्वारेन्टीनको रुपमा रुपान्तरण गरिएको छ । जसमा अहिलेपनि विदेशबाट फर्किएका नागरिकहरु निश्चित अवधिका लागि बसोबास गर्दै आइरहेका छन् । हाम्रै धादिङ जिल्लाको कुरा गर्ने हो भने पनि जिल्लाका अधिकांश नगरपालिका वा गाउँपालिकाले पालिकाभित्र रहेका सरकारी विद्यालयहरुलाई क्वारेन्टीनको रुपमा व्यवस्था गर्दै आएका छन् । अहिलेको विशम अवस्थामा धेरै मानिसकलाई एकै पटक अस्थाई रुपमा व्यवस्थापन गर्न सकिने ठाउँ भनेको विद्यालय नै हो । तत्कालको लागि अन्यत्र व्यवस्थापन गर्न नसक्दा सरकारी विद्यालयलाई क्वारेन्टीनको रुपमा व्यवस्था हुनु अन्यथा पनि मान्नु हुँदैन भन्ने लाग्छ । तर यसबाट पर्न सक्ने मनोसामाजिक असरका विषयमा भने पक्कै ध्यान दिनु जरुरी छ । जस्तै ः विद्यालयमा विरामी बसेर गएपछि पठनपाठनको समयमा सो कक्षाकोठामा बसेर पढिरहँदा बालबालिकाहरुलाई ‘यो कोठामा त यस्तो रोग लागेका विरामी बसेको, यति दिनसम्म बसेका, यो रोगको औषधी नै छैन र, कसो हुने होला’ भन्ने जस्तो जिज्ञासा उत्पन्न हुन सक्ने हुँदा यसले बालबालिकाको मष्तिष्कमा पार्न सक्ने असरको विषयमा समयमै ध्यान दिनु आवश्यक छ ।

कोरोना भारइसका कारण देशैभर बैशाख महिनाबाट शुरु हुनुपर्ने शैक्षिक सत्र र पठनपाठनको काम शुरु हुन सकेको छैन । अव कहिलेबाट सहज ढंगबाट शुरु हुन्छ भन्ने पनि अझै अन्यौल नै छ । कोरोनाकै कारण बालबालिकाहरुको उच्च शिक्षाको आधार स्तम्भको रुपमा रहेको माध्यमिक शिक्षा परिक्षा (एसईई) पनि रोकियो । अहिले विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा विद्यार्थीलाई नम्वर दिने भनिएको छ । एसईई अगाडिको टेस्ट परिक्षा सम्पन्न भइसकेका कारण एसईईको लागि यसले असर नपारेपनि अन्य कक्षामा अव पढ्ने तयारीमा रहेका बालबालिकाहरुलाई भने मनोसामाजिक रुपमा असर पर्न सक्छ । तर यस्तो अवस्थामा पठनपाठनको काम अगाडि बढाउन पनि सम्भव छैन । जोखिम मोलेर बालबालिकालाई शिक्षा प्रदान गर्ने कुरा पनि आउंदैन । यस्तै बेलामा अधिकांश निजी विद्यालयरुहले अनलाईन विधिबाट पठनपाठनको व्यवस्था समेत शुरु गरिसकेको छन् । निजी शैक्षिक संस्था मात्र होइन सरकारले पनि रेडियो, टेलिभिजन तथा अनलाईनबाट पठनपाठनको व्यवस्था शुरु गरिसकेको अवस्था छ । यसैगरी केही एफ एम रेडियोहरुले पनि मुख्य विषयलाई रेडियोबाट पठनपाठनको व्यवस्था मिलाएका छन् । शुरुमा एसईई लक्षित पठन पाठन शुरु भएको भएपनि अहिले भने अन्य कक्षाका अनलाईन पठनपाठन पनि शुरु भएका छन् । तर यस्तो कक्षा प्रभावकारी हुन सकेको छैन भन्ने विषयमा धेरै आवाज आइरहेका छन् ।

खासगरी अहिले उठेको सवाल भनेको विद्यालयमा जस्तो घरमा बसेर सिक्न सकिँदैन कि भन्ने पनि छ । त्यो कुरा एक हिसावले ठिकै पनि हो किनभने विद्यालयमा शिक्षक शिक्षिकासँग घुलमिल हुँदै नजानेका कुरा उत्तिखेरै सोध्दै प्रश्ट हुने अवस्था आउँछ भने घरबाट यस्तो काममा अलि समस्या पर्नसक्छ । तर अहिलेको अवस्थामा यसको विकल्प पनि छैन । कोरोनाको असर कति लामो समयसम्म रहन्छ, अवस्था कहिले सहज हुन्छ र विद्यालय कहिले शुरु हुन्छ भन्ने यकिन नभएको अवस्थामा यस विषयमा ध्यान दिनु जरुरी छ ।
सिद्धलेक १ धादिङ