नीलकण्ठ नगरप्रमुख ढुंङ्गानालाई नेकपाको खबरदारी

1530 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंङ्गानाले बहुमतको आडमा नेकपा निकटका उपप्रमुख र वडाअध्यक्षलाई पाखा लगाएर एकलौटी ढंगबाट योजना तर्जुमा गरि बजेट  विनियोजन तथा अन्य दैनिक कार्यसञ्चालन गर्ने गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नीलकण्ठ नगर सङ्गठन कमिटी धादिङले विरोध जनाएको छ ।

नेकपा नगरकमिटीले मङ्गलबार नगर प्रमुख ढुङ्गानालाई ज्ञापन पत्र बुझाएर सचेत गराएको छ । बहूमतको आडमा नगर प्रमुखले नेकपाबाट विजयी भएका उपप्रमुख र वडा अध्यक्षहरुलाई बाहिर राखी नगरपालिकालाई काङ्ग्रेसको शक्तिकेन्द्रका रुपमा प्रयोग गरिरहेको नेकपा निकटका वडाअध्यक्षहरुको गुनासो रहेको छ ।

आफ्ना दल निकटका वडाअध्यक्षहरुले जितेका वडामा जभाभावी बजेट विनियोजन गर्ने, नगरपालिकाको हरेक विकासका आयोजनाहरु सार्वजनिक बोलपत्रमार्फत नगरी आफ्ना कार्यकर्ता र नजिकका ठेकेदारहरुलाई आन्तरिक सहमतिमा जिम्मा लगाउने, वडा अध्यक्षको अधिकार समेत कटौति हुनेगरी नगर शिक्षा ऐन पास गरी नगरप्रमुखले हस्तक्षप गरेको, कोरोना कोषको सम्पूर्ण हिसाब सार्वजनिक गर्नुपर्ने, स्थानीय सरकार सञ्चालन ऐन विपरित एकलौटी बजेट विनियोजन गरेको जस्ता गम्भीर विषयहरु तत्काल सच्याउनु पर्ने माग राख्दै नेकपा नीलकण्ठ नगर सङ्गठन कमिटीले नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।

नेकपा नीलकण्ठ नगरकमिटीका अध्या दिपक विश्वकर्माको नेत्तृत्वमा गएको टोलीले नगरप्रमुख ढुंङ्गानालाई १५ वटा बुँदा समावेश गरिएको ज्ञापन पत्र बुझाउँदै १ घर १ कोरोना पिसिआर परीक्षण गर्नुपर्ने, हरेक वडामा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, १ वडा १ कालोपत्रे अभियान सञ्चालन गर्नुपर्ने जस्ता मागहरु रहेका छन् ।

ज्ञापन पत्र बुझ्दै ढुङ्गानाले सुझावका रुपमा आएका मागहरुलाई स्वागत गर्दै नीति तथा कार्यक्रममा समेट्ने कोशिष गर्ने आश्वासन दिएका थिए । ढुङ्गानाले हरेक विकास निर्माणका कार्यमा नगर कार्यपालिकाको निर्णय गराएर मात्र कार्यान्वयन गर्ने गरिएको बताउदै नगर प्रमुखले कुनै पनि भ्रष्टाचार गरेको प्रमाण सहित आए तुरुन्तै राजिनामा दिन तयार रहेको बताएका थिए । ज्ञापन पत्र बुझाएपछि भएको कोणसभामा बोल्दै नेकपा नीलकण्ठ नगर सङ्गठन कमिटीका अध्यक्ष दिपक विश्वकर्माले नगर प्रमुख ढुङ्गानाले बहुमत र राजनैतिक दम्भका आडमा नगरपालिकाका विकासका योजनाहरु सञ्चालन गर्ने कार्य तत्काल नरोके भोलिबाट नै चरणबद्ध रुपमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रममा उत्रिने चेतावनी समेत दिनुभयो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेकपा धादिङका उल्लेख्य सङ्ख्यामा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेसका नेता समेत रहेका नगरप्रमुख ढुङ्गानाले बहुमतको दम्भमा नगर कार्यपालिकाको बैठक बसाएर एकलौटी निर्णय गर्दै आईरहेको र आगामी बर्षको निती तथा कार्यक्रम र वजेट तयार पर्दा नेकपा निकटका उपप्रमुख र वडाअध्यक्षहरुलाई कुनै जानकारी नदिएको आरोप लागेको छ । नगरप्रमुखको कार्यशैली प्रति पटक पटक प्रश्न उठेपनि सुधार हुन नसकेको एक वडाअध्यक्षले वताए ।

नगरपालिकालाई आफुं निकटका व्यक्तिहरुलाई जागिर खुवाउने भर्तिकेन्द्रका रुपमा प्रयोग गर्नुका साथै अवसर वितरणमा समेत नगरप्रमुखले जहिले पनि विभेद गर्ने गरेको आरोप लाग्ने गरेको छ ।