जोखिम मोलेर त्रिशूलीमा हेलिँदै मजदुर

1131 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • केशव अधिकारी

धादिङ, १ साउन – वर्षायाममा नदीबाट बालुवा निकाल्नु जोखिम भएपनि छोटो समयमा धेरै कमाउने लोभमा ठेकेदारहरुले कुनै सुरक्षा विधि नअपनाई मजदुरलाई त्रिशूली नदीमा हेलिन वाध्य पार्ने गरेका छन् ।

त्रिशूली नदीबाट बालुवा निकाल्ने क्रममा असार २४ गते गल्छी गाउपालिका वडा नम्बर–४ बेल्खुदोभानबाट एक किशोर हराइरहेका छन् । त्रिशूली नदीबाट बालुवा झिक्न स्थानीय ठेकेदार डिलबहादुर भण्डारी मार्फत् काममा लगाईएका गल्छी गाउँपालिका वडा नम्बर २ निवासी १६ वर्षीय ताराबहादुर लुंगेली मगर अझै भेटिएका छैनन् । एसइई परीक्षा दिने तयारीमा रहेका मगर घरखर्च धान्न आफन्त र छिमेकीहरु संगै त्रिशूली नदीमा वालुवा निकाल्ने काममा लागेका थिए ।

 

असार २४ गते भण्डारीको घर पछाडिबाट बालुवा झिक्दै गर्दा मगरलाई नदीले बगाएर बेपत्ता बनाएको हो । हराइरहेका मगरको खोजी गरिएपनि उनको अवस्था खुल्न नसकेपछि ठेकेदारको तर्फबाट ३ लाख ५० हजार रुपैयाँ र गाउँपालिकाको तर्फबाट १ लाख रुपैयाँ गरी ४ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ । पीडित पक्षले धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ समक्ष क्षतिपूर्तिको माग गर्दै असार ३० गते निवेदन दिएपछि प्रशासनले सर्वपक्षिय बैठक बोलाएर हराईरहेका मगरको परिवारलाई क्षतीपुर्ति दिलाउन ठेकेदारलाई बाध्य पारेको हो ।

 

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी तामाङ, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, धादिङका प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी, गल्छी गाउँपाकिला अध्यक्ष कृष्णहरी श्रेष्ठ,उपाध्यक्ष राधा तिमिल्सिना, गल्छी २ का अध्यक्ष षडानन्द खनाल, नेकपा धादिङका अध्यक्ष नेत्रराज पौडेल, नेपाली काग्रेस धादिङका सभापति रमेश धमलाका साथै ठेकेदार प्रतिनिधिहरु समेतको उपस्थितीमा पीडित परिवार बिच भएको छलफलका क्रममा मजदुर परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको पीडित परिवारका आफन्त सागर लामीछाने मगरले बताउनुभयो ।

 

भण्डारीले नदीबाट बालुवा झिकेर विक्रि गर्दा मजदुरलाई प्रति टिपको ज्याला ६ हजार दिएर त्यसमा आंफुले नाफा गरेर विक्रि गर्ने गरेका थिए । हराइरहेका ताराबहादुर सहित १५ जना मजदुरलाई भण्डारीले काममा लगाएको भएपनि दुर्घटना पछि आफ्नै घरमा बस्दै आईरहेका खोटाङ जिल्ला घर भएका मजदुर प्रदिप राईलाई डमी ठेकेदारको रुपमा अघि सारेर जिम्मेवारीबाट पन्छन खोजेपछि जिल्ला प्रशासन कार्यालयमा आएर निवेदन दिई छलफल गराउन वाध्य भएको आफन्तहरुले वताए ।
त्रिशूली नदी किनारमा ज्यानको जोखिम मोलेर वालुवा निकाल्ने मजदुरको संख्या सयौं देखिएपनि ति मजदुर आंफैले बालुवा निकालेर बिक्री गर्न भने पाउँदैनन् । नदी नजिक घर भएका, खेतबारी भएका व्यक्तिले नदी आफ्नो सोरानी भित्र पर्ने भन्दै नदीको वालुवा कव्जा गर्ने गरेका छन् ।

 

जिल्ला अनुगमन तथा समन्वय समितिले नदी तथा खोलाबाट मजदुरले बालुवा निकाले सोही स्थानमा गाडी लैजान निषेध गरेको भएपनि नदी किनारमै गाडी लगेर बालुवा लोड भइरहेको जनप्रतिनिधिहरुको गुनासो छ । नदीमा बर्षेनी बालुवा झिक्ने क्रममा सावधानी अपनाउन नसक्दा मजदुरलाई नदीले बगाएर वेपत्ता पार्ने गरेको भन्दै नदीमा काम गर्ने सम्पूर्ण मजदुरको विमा गरिनुपर्ने, जोखिममा काम गर्दा सुरक्षाका सबै उपायहरु अपनाउन ठेकेदारहरुलाई निर्देशन दिएपनि उनिहरुले बेवास्ता गरिदिंदा मानविय क्षती हुने गरेको गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठ बताउनुहुन्छ ।

 

नदीमा मेशिन औजार प्रयोग गर्न रोक लगाईएको भएपनि रातको समयमा लुकीछिपी मेशिन लगाएर बालुवा झिक्ने र सडकबाट नदेखिने स्थानमा दिउँसै पनि नदीको दोहन भइरहेकोले स्थानीय तह र प्रहरी प्रशासनले यस्ता कार्य रोक्न असफल भएको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल बताउनुहुन्छ ।

 

त्रिशूली नदीबाट एक्साभेटरले राती नदीजन्य पदार्थ झिक्ने र उज्यालो भएपछि ती उपकरण लुकाउने गरेको स्थानीयको भनाइ छ । प्रदेश सरकारले नदीजन्य पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनाएको कार्यविधिमा परिच्छेद ४ को ९ मा नदीजन्य पदार्थ संकलन अवधिबारे नदीजन्य पदार्थको संकलन असोजदेखि जेठ मसान्तसम्म हुने उल्लेख छ । सोही कार्यविधिको १६ को अनुगमन सम्बन्धी थप व्यवस्थाको उपदफा ९ मा ढुंगा, गिटी, बालुवाको उत्खनन गर्दा एक्साभेटर डोजर लगायतका हेभी औजारको प्रयोग पूर्ण रुपमा बन्देज गर्नुपर्ने भनिएको भएपनि कार्यान्वयन हुन नसकेको गल्छी २ का वडाअध्यक्ष खनालले बताउनुभयो ।

 

बर्षातको बेला नदीबाट निकालिएको वालुवा धुन नपर्ने र सिधै ग्राहकलाई बेच्न सकिने भएकाले नदी जन्य पदार्थ दोहन गर्नेहरू यो समयमा आकर्षित हुने गरेका हुन ।