बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

1653 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,५ साउन – देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा रहेको मौवाखोलाको पुल बाढीले बगाएको छ । पुल बाढीले वगाएपछि पश्चिम नेपालबाट राजधानी आउने नाका समेत वन्द हुन पुगेको छ । मौवाखोलाको बाढीले धादिङ र चितवन दुबै तर्फ केही घरहरु समेत बगाएका छन् । मानवीय क्षति भएको छैन ।

धादिङको वेनिघाट रोराङ र चितवनको इच्छाकामना गाउँपालिकाको सिमा भएर बग्ने मौवाखोला धादिङ र चितवन जिल्लाकै सिमाना समेत हो । आईतबार रातीदेखि परेको अविरल बर्षाका कारण मौवाखोलामा आएको बाढीले राजमार्गमा रहेको पुल बगाएको हो । पुलको धादिङ तर्फको भाग बाढीले वगाएपछि त्यहाँबाट आवागमन वन्द हुन पुगेको वेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले जानकारी दिनुभयो ।

देशका ६७ जिल्लालाई राजधानी संग जोड्ने पृथ्वीराजमार्गको मौवाखोलाको पुल भत्किएपछि देशको अधिकांश भूभागको राजधानी काठमाण्डौं सम्पर्क टुटेकाले भत्किएको पुलको विकल्पमा जतिसक्दो छिटो वेलिव्रिजको व्यवस्था गर्न आंफुले पहल गर्ने धादिङ जिल्ला क्षेत्र नम्बर १ का संघीय सांसद भूमीप्रसाद त्रिपाठीले वताउनुभयो ।

निरन्तरको वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वीराजमार्गको दर्जनौं ठाउँमा अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वीराजमार्गको धादिङ खण्डमा मोटर ठाउँ ठाउँमा रोकिएका छन ।

काठमाडौंबाट नागढुंगा हुंदै विभिन्न स्थानमा जान लागेका सवारी साधनहरुलाई धादिङ, नुवाकोट र रसुवा बाहेकका जिल्लामा जाने सवारी साधनलाई अब काठमाण्डौं तर्फ पठाईने धादिङका प्रहरी नायव उपरिक्षक एवम प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो ।

धादिङको जोगिमारामा खसेको पहिरोले ३ वटा मोटर बगाएको छ भने ४ वटा पुरिएको छ । धादिङको फुर्केखोला, गलौंदी, गल्छी, थांक्रेको महेशखोला क्षेत्रमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको प्रवक्ता खड्काले बताउनुभयो । वर्षाका कारण राजमार्गमा माटोको लेदो र पहिरो खसेका छन् ।

धादिङमा पहिरोका कारण दुई जना बेपत्ता भएका छन भने एक जना घाइते भएका छन् । डीएसपी खड्काका गजुरी गाउँपालिका– २ मा पहिरोले ६ घरमा क्षति भएको छ, एक जना बेपत्ता र एक जना घाइते भएका छन । त्यस्तै बेनिघाट रोराङ गाउँपालिकामा एक जना घाइते भएका छन् ।