मलेखु धादिङबेसी सडक खण्डमा ट्याक्सी पल्टिंदा एक जनाको मृत्यु

944 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,९ असोज । धादिङको मलेखु धादिङबेसी सडक खण्ड (कालुपाण्डे राजमार्ग) मा विहीवार राती भएको दुर्घटनामा परि एक महिलाको ज्यान गएको छ । अन्य चार जना घाईते भएका छन् ।

सुत्केरी लिएर काठमाडौबाट धादिङबेसी तर्फ रिजर्भमा आउँदै गरेको बा १ ज १२६२ नम्वरको ट्याक्सी विहिवार राती ८ वजे तिर धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ फिस्टार नजिकैको तिरतिरे धारा स्थित सडकमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ३ की ५० बर्षिया विन्दु तामाङको मृत्यु भएको र सुत्केरी सहित अन्य चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

दुर्घटना भएको ठाउँमा गएको साउन ५ गते पहिरो खसेर सडक निकैे साँघुरो भएकाले चालकले सडकको ज्ञान नपाउँदा ट्याक्सी अनियन्त्रित भई सडकबाट एक सय ५० मिटर तल थोपल खोलामा खस्न पुगेको अनुमान गरिएको छ ।

पहिरोले भत्किएको सडक पुनर्निमाण गर्ने तर्फ अहिलेसम्म कुनै पनि निकायले चासो नदिंदा निकै सकसका साथ पहिरो गएको सडक पार गरेर सवारी चल्ने गरेका छन् ।