पहिरोले परिवार र घर गुमाएका एक अभिभावकलाई घर

834 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । दुई महिनाअघि पहिरोले परिवारका तीन सदस्य र घरसमेत गुमाएका एक अभिभावकलाई सहयोगीदाताहरुले तत्काल बसोबासका लागि अस्थायी घर निर्माण गरिदिएका छन् ।

गएको साउन ६ गते राति खसेको पहिरोले घर पुरिँदा छोरा, बुहारी र नातिनीसमेत गुमाएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ गोलाङ काफलगैरीका चेतवहादुर खाँणलाई सहयोगीदाताहरुले अस्थायी बसोबासको लागि सहयोग गरेका हुन् ।

साउन ६ गते राति ३ बजेतिर झरेको पहिरोले घर भत्किँदा चेतबहादुरका २५ वर्षीय छोरा मिलन, २१ वर्षीया बुहारी सम्झना र डेढ वर्षे नातिनी अन्जिताको पहिरोेमा पुरिएर निधन भएको थियो ।

पहिरोले परिवारका सदस्यका साथै बस्ने घरसमेत गुमाएपछि निकै पीडामा परेका खाँणको अवस्थालाई देखेपछि तत्कालको लागि बस्ने अस्थायी घर र केही लत्ताकपडा, खाद्यान्न सहयोग गरिएको हो ।

खाँण परिवारको पीडामा थोरै भए पनि मलम लगाउन लायन्स क्लब अफ नेपाल हाइलाइटस्ले सुरु गरेको सहयोग अभियानलाई अस्ट्रेलियामा रहेका विकास पन्त र उनका साथीहरु ह्यान्स र थ्रेसिया, अमेरिकाका खड्ग एस तामाङले आर्थिक सहयोग उपलव्ध गराएका थिए ।

लायन्स क्लबका प्रतिनिधि ईश्वर भण्डारीका अनुसार घर निर्माण गरी बस्ने व्यवस्था मिलाउनका लागि सहयोगी हातहरुलाई गरिएको आग्रहअनुसार लत्ताकपडा र खाद्यान्न सहयोग गरेका छन् भने त्रिपुरासुन्दरी गाउँपालिकाले खानेपानीको लागि पाइप र विद्युत् लाइनको लागि आवश्यक केबल उपलव्ध गराएको छ ।