राधेलाई १० दिन हिरासतमा राख्न प्रशासनको अनुमति

1554 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ २३ असोज- राधे उपनामले चिनिने राधाकृष्ण भण्डारीलाई शान्ति सुरक्षा भंग गर्न खोजेको सम्बन्धी कसुरमा अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न स्थानीय प्रशासनले अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी लोकनाथ तिम्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालय, धादिङले शुक्रवारबाट १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा विहिबार राधे पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय, धादिङको टोलीले पक्राउ गरेको थियो । प्रहरी प्रधान कार्यालय, नक्साल स्रोतका अनुसार भण्डारीसँग मिलेमतो रहेको आशंकामा गजुरीका डीएसपी विश्वराम खड्कालाई प्रहरी मुख्यालयले गजुरीबाट फिर्ता गरि सो ठाउँमा युवराज खड्कालाई काज सरुवा गरेको छ ।

बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेको र जनप्रतिनिधिले त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएको भन्दै उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको डिएसपि तिम्सिनाले बतउनुभयो ।

सिद्धलेक गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् । उनी पटक पटक पक्राउ पर्दै छुटदै गरेका छन् ।

यसअघि ०७० साल २१ असारमा धादिङबाट राजधानी फर्किने क्रममा दिनेश अधिकारी (चरी) लाई गोली हानेपछि राधे चर्चामा आएका थिए ।

चरीलाई गोली हानेको घटनामा उनी राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटी तिरेर छुटेका थिए । चरी भने २१ साउन २०७१ मा भीमढुंगामा भएको प्रहरी इन्काउन्टरमा मारिएका थिए ।