धादिङका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास

1968 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १५ मंसिर । धादिङको पाँच वटा स्थानीय तहमा एकैदिन ५ वटा अस्पतालको शिलान्यास भएको छ ।

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ  धादिङ जिल्लाका पाँच वटा स्थानीय तहका साथै देशभरका विभिन्न ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो ।  चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने संघीय सरकारको  नीतिअनुरुप चालू आवमा ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो ।

धादिङ जिल्लामा अस्पताल बनाउन छनोट भएका स्थानीय तहहरुमा गंगाजमुना, गल्छी, बेनिघाटरोराङ, ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिका रहेका छन् ।

गंगाजमुनामा फुलखर्क स्वास्थ्य चौकीमा ५, बैरेनीमा बैरेनी स्वास्थ्य चौकी १५, बेनिघाटरोराङमा वेनिघाट स्वास्थ्य चौकीमा १०, ज्वालामुखीमा मैदी स्वास्थ्य चौकीमा १५, त्रिपुरासुन्दरीमा सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याको अस्पताल निर्माणको लागि सोमवार स्थानीय तहमा छुट्टाछुट्टै कार्यक्रम गरी शिलान्यास सम्पन्न भएको हो ।

सोमबार गल्छीमा पूर्व मन्त्री गंगालाल तुलाधर, गंगाजमुनामा संविधान सभा सदस्य धनवहादुर घले, त्रिपुरासुन्दरी र ज्वालामुखीमा धादिङ क्षेत्र नम्बर २ का संघीय सांसद खेमप्रसाद लोहनी, वेनिघाट रोराङमा गाउँपालिका अध्यक्ष पित्तवहादुर डल्लाकोटीले निर्माणाधिन भवनको शिलान्यास गरेका थिए ।


गंगाजमुनामा ७ करोड ११ लाख ९८ हजारको लागतमा ५ शैय्या, गल्छीमा १८ करोड ६८ लाख २ हजारमा १५ शैय्या, वेनिघाटरोराङमा १० करोड ८३ लाख ३६ हजारमा १० शैय्या, ज्वालामुखीमा १८ करोड ६८ लाख २ हजार र त्रिपुरासुन्दरीमा १८ करोड ६८ लाख २ हजारको लागतमा १५ शैय्याको अस्पताल निर्माण हुनेछ ।