माघे संक्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइने
221 पटक पढिएको

धादिङ- विगतका बर्षमा जस्तै यो बर्ष पनि माघे संक्रान्तिका अवसरमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ ।
सदरमुकाम विदुरदेखि २५ किलोमिटर दक्षिणमा रहेको तारुकाको चन्दनीमा यसवर्ष १७ हल गोरु जुधाइने भएको छ । माघे संक्रान्तिमा नुवाकोटको तारकेश्वर गाउँपालिका –२ स्थित तारुकाको चन्दनी र विदुर नगरपालिका–१० बेत्रावती र पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा हरेक बर्ष मेलाको आयोजना गरि गोरु जुधाइने गरिन्छ ।
मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले गोरु जुधाइका कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा एकै स्थानमा गोरु जुधाउन थालिएको हो । यहाँको गोरु जुधाइ हेर्न विगतमा हजारौं दर्शक आउने गरेका थिए । कोरोनाका कारण यस वर्ष दर्शकमा केही कमी आउन सक्ने भए पनि परम्परालाई निरन्तरता दिनेक्रममा मेला नरोकिएको आयोजकले जनाएका छन् ।
यस्तै विदुर नगरपालिका वडा नम्बर १० बेत्रावतीमा पनि गोरु जुधाइने भएको छ । कोरोनाको कारण सीमित रुपमा मेला सञ्चालन गर्ने योजना बनाएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले जानकारी दिनुभयो । कोरोनाका कारण धेरै प्रचारप्रसारमा जोड नदिई परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै सङ्ख्यामा गोरु जुधाइने योजना बनाएको उहाँले बताउनुभयो ।
तारुकामा पछिल्लो १० वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाण्डु, धादिङका गरी हजारौंको संख्यामा दर्शकको सहभागिता हुने गरेको छ ।तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको भन्ने आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार करिब दुई सय वर्ष पुरानो मानिन्छ ।पहिले तारुका, बुधसिङ, रातमाटे, दुईपिपललगायत गाविसमा पनि गोरु जुधाइने गरेकामा अन्यन्त्र परम्परा हराइसकेको छ भने तारुकाले व्यवस्थित गरेर परम्परालाई निरन्तरता दिइरहेको छ ।
धादिङ जिल्लाको पनि खाल्टे,मैदी,खनियाबास लगायतका स्थानमा माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ ।
- (फाईल तस्बिर )
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२८ पुष २०७७, मंगलवार १५:२६ मा प्रकाशित