डेङ्गुको संक्रमण ७४ जिल्लामा फैलियो , धादिङ देशभरमा तेश्रो स्थानमा
162 पटक पढिएको
धादिङ न्यूज संवाददाता
धादिङ । डेङ्गु भाइरसको संक्रमण देशभर बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको तथ्यांकमा देशभरदश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ । देशभरीमा मोरङ पहिलो , सुनसरी दोश्रो र धादिङ तेश्रो स्थानमा रहेको छ ।
महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गु सङ्क्रमण बढिरहेको बताए । उनले यसैगरी डेङ्गु सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने बताए । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो ।
संक्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ । महाशाखाका अनुसार सुनसरीमा छ हजार ४१ जनामा डेङ्गु संक्रमण देखिएको छ । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्छ ।
यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ । कोशी प्रदेशमा आठ हजार एक सय नौ जना, बागमती प्रदेशमा एक हजार चार सय ५३ जना, गण्डकी प्रदेशमा चार सय ७१ सुदूरपश्चिम प्रदेशमा तीन सय ९३ जना, लुम्बिनी प्रदेशमा दुई सय १५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा संक्रमण देखिएको छ । नयाँ देखिएका बिरामीमध्ये नौ हजार छ सय १२ ९८९ दशमलव ६० प्रतिशत० बिरामी १० जिल्लाका रहेका छन् ।
सुनसरीपछि मोरङ एक हजार तीन सय ४४, धादिङ एक हजार २७ जना, कास्की दुई सय २५ जना, धनकुटा दुई सय २३, दार्चुला एक सय ९२ जना, झापा एक सय ८२, काठमाडौं एक सय ५१ सङ्खुवासभा एक सय ४८ जना र तनहुँ ७९ जनामा डेङ्गुका बिरामी भेटिएका छन् । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो ।
मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिने आग्रह गरेको छ ।