पहिलो हुन खोज्ने एमाओवादी चौथो नम्बरमा !

651 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 काठमाडौं, भदौ १२ – उनीहरुको आन्तरिक मूल्याँकन अर्कै होला । जुन सार्वजनिक गरेका छैनन र गर्ने कुरा पनि भएन ।

तर आगामी संविधानसभा चुनावमा दोस्रो हुने कल्पना कुनै पनि दलले गरेका छैनन् । सबैले पहिलो नै बन्ने दावी गर्दै आएका छन् । यसैगरी पहिलो हुने भन्दै मरिहत्ते गरेको एकीकृत नेकपा माओवादी अहिले चौथो भएको छ, चुनावको परिणाममा होइन, दल दर्तामा ।

निर्वाचन आयोगले बैशाख १७ गतेदेखि दल दर्ताका लागि आह्वान गरेको थियो । सबैभन्दा पहिलो नम्बरमा दर्ता गर्ने भन्दै त्यो दिन उज्यालो नहुँदै मुख्य दलका नेताहरु आयोगको कार्यालय पुगेका थिए ।

एकीकृत नेकपा माओवादी, नेकपा एमाले र नेपाली कांग्रेस, राप्रपा नेपाल र नेकपा मालेका नेताहरुले दल दर्ता गर्न आफूहरु सबैभन्दा पहिले निर्वाचन आयोग पुगेको दावी गरे । नेकपा एमालेले आफू सबैभन्दा पहिले बिहान ६ बजे नै आयोगको कार्यालय पुगेको बताउँदा एकीकृत नेकपा माओवादी साढे ५ बजे नै आयोगमा पुगेको दावी गर्दै थियो । स्कूलका केटाकेटीले अगाडिको बेञ्चमा को बस्ने भनेर झगडा गरेजस्तै दृश्य देखिएको थियो, त्योबेला निर्वाचन आयोगमा ।

तर अहिले निर्वाचन आयोगले सार्वजनिक गरेको दल दर्ता र चुनाव चिन्हको सूचीमा एक नम्बरमा हुन खोज्ने एकीकृत नेकपा माओवादी चौथो नम्बरमा परेको छ । एक नम्बरमा नेकपा एमाले, देस्रोमा नेपाली कांग्रेस र तेस्रोमा राप्रपा छन् । यसअघि २०६४ सालमा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र एकीकृत नेकपा माओवादी तेस्रोमा दर्ता भएका थिए ।   बैशाख १७ गते निकैबेरको तँछाडमछाडका कारण आयोगका पदाधिकारीले सहजै दल दर्ता गराउन सक्ने वातावरण थिएन । त्यसैले क्षणिक समाधानका लागि आयोगले जुक्ति लगायो, अहिलेलाई पहिले जुन दलले दर्ता गराए पनि पछि सूचीमा त्यही नरहने र दीर्घकालिन समाधान खोज्ने भनेर । त्यो समाधान नखोज्दै अहिले आयोगले सूची तयार पारेको हो ।

यो नै अन्तिम होइन

सूची तयार भैसकेपनि निर्वाचन आयोगले भने कुन दलको स्थान कहाँ भन्ने निर्णय अझै गरिनसकेको बताएको छ । आयोगका प्रवक्ता वीरबहादुर राईले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘अहिलेलाई दल दर्ता र चिन्ह दिने काम मात्र भएको हो, असार १७ गते दल दर्ताका क्रममा उत्पन्न भएको विवाद अझै समाधान भइसकेको छैन ।’

एकीकृत नेकपा माओवादीका केन्द्रीय कार्यालयका सहसचिव फणिन्द्र देवकोटाले पनि यो विषय अझै समाधान नभएको र बहसको विषय भएको बताउनुभयो ।

निर्वाचन ऐन अनुसार निर्देशिका बन्छ । निर्देशिकाले दल दर्ता गर्ने मात्र भनेको छ, कसरी दर्ता गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था गरेको छैन । त्यसैले पहिले पुग्नेको पहिलो दर्ता भन्दै दलहरु उज्यालो नहुँदै आयोग कार्यालय पुग्छन्, तर को पहिले पुगेको भन्ने रेकर्ड आयोगसँग हुँदैन ।

आयोगको ढोका १० बजे मात्र खुल्छ । दल दर्ताको क्रमसंख्या अनुसार मतपत्रमा दलहरुको नाम र चुनाव चिन्ह उल्लेख हुने र मतपत्रमा पहिलो चिन्ह हुँदा फाइदा हुने भएकाले पहिलो दर्ता गर्ने होडबाजी चल्ने गर्छ । अहिले विवाद यथावत राखेरै आयोगले सूची तयार पारेको छ । मंसिर ४ को चुनाव सुनिश्चित भएलगत्तै एकीकृत नेकपा माओवादी र एमालेमा पहिलो नम्बर कसको भनेर फेरि विवाद हुने पक्का छ ।

बोमलाल गिरी/उज्यालो अनलाइन बाट