एमाओवादी राजधानी र पूर्वी पहाडमा पहिलेभन्दा कमजोर

617 पटक पढिएको

सम्पादक: Dhadingnews.com

माधव ढुङ्गेल

काठमाडौं: एमाओवादीका केन्द्रीय प्रतिनिधिले काठमाडौं उपत्यकाभित्र पार्टीको अवस्था दोस्रो स्थानमा रहेको रिपोर्टिङ गरेका छन्। अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले एमालेलाई पनि क्षति पुर्‍याएको तर कांग्रेसलाई जित्‍न निकै कसरत गर्नुपर्ने मूल्यांकन प्रतिनिधिले केन्द्रीय समिति बैठकमा पेस गरेका हुन्।

तत्कालीन नेकपा माओवादीले विघटित संविधानसभामा काठमाडौंका १० मध्ये ४ र ललितपुरका ३ वटै क्षेत्र जितेको थियो तर अहिले एमाओवादीले ती क्षेत्र पनि सजिलै नजित्‍ने र पहिले हारेका क्षेत्रमा पनि आफ्नो अवस्था दोस्रो नै रहेको प्रतिवेदन प्रतिनिधिले बुझाएका हुन्।

कांग्रेस सुरक्षित क्षेत्र मानिएको १ मा पार्टीको स्थिति दोस्रो रहेको प्रतिवेदन केशव नेपालले पेस गरेका थिए। क्षेत्र नम्बर २ मा चाहिँ फेरि पनि जित्‍ने अवस्था रहेको मूल्यांकन अग्‍नि सापकोटाले पेस गरेको जानकारी एक केन्द्रीय सदस्यले जानकारी दिए। अघिल्लोपटक कांग्रेसले जितेको क्षेत्र नम्बर ३ मा अहिलेकै अवस्थामा आफूहरूले जित्‍ने अवस्था नभएको रिपोर्टिङ सोनामसिं स्याङ्तानले गरेका थिए। ‘पार्टीको अवस्था राम्रै छ। शीर्ष नेतृत्वबाट उठेचाहिँ जित्‍न सकिन्छ’, उनले भने।

कांग्रेसले नै जितेको ४ नम्बरमा पनि पार्टीको अवस्था कमजोर भएको गंगा कार्कीको रिपोर्ट थियो। कांग्रेसका नरहरि आचार्यले जितेको क्षेत्र नम्बर ५ मा यसपटक शीर्ष नेता चुनाव लडे जित्‍न सकिने रिपोर्ट घनश्याम दाहालले पेस गरेका छन्। क्षेत्र नम्बर ६ बाट विजयी हितमान शाक्य नेकपा-माओवादीमा छन्। तर पनि त्यस क्षेत्रमा फुटको असर खासै नरहेको दाबी पुष्पविक्रम मल्लको रिपोर्टिङमा छ। गंगानारायण श्रेष्ठले क्षेत्र नम्बर ७ मा अहिले पनि जित्‍ने अवस्था भएको रिपोर्ट पेस गरे। क्षेत्र नं. ८ मा खटिएका अमिक शेरचनले विगतमा पार्टी दोस्रो भएको र यसपटक संघीय समाजवादी र नेपा: पार्टीसँग तालमेल गरे जित्न सकिने बताएका थिए। क्षेत्र ९ मा अहिलेकै अवस्थामा जित्न मुस्किल पर्ने कल्पना धमलाले बताइन्। ‘यस क्षेत्रका पार्टीका यसअघिका उम्मेद्वार माइला लामा नेकपा-माओवादीमा भएकाले पार्टी फुटको असर पनि छ’, उनले भनिन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले जितेको क्षेत्र १० को रिपोर्टिङ गर्दै विश्वभक्त दुलालले भने, ‘हारिन्छ भन्नै भएन। तल पार्टीको प्रभाव राम्रो देखियो। यसपटक पनि जित्‍ने दृश्य प्रस्ट देखिन्छ।’

मेहनत गरे काठमाडौंमा पुरानो अवस्था कायमै राख्‍न सकिने रिपोर्ट पेस भए पनि ललितपुरका तीनै क्षेत्र जित्‍न सजिलो नहुने त्यहाँका प्रतिनिधिको रिपोर्ट छ। ललितपुर क्षेत्र नम्बर १ मा वर्षमान पुन नै उठे सजिलै जित्‍ने सूर्यमान दोङको रिपोर्ट थियो तर अघिल्लो चुनाव जितेका क्षेत्र २ का राजकाजी महर्जन र क्षेत्र ३ की पम्फा भुसाल नेकपा-माओवादीमा छन्। ‘विभाजनको असर पनि केही छ तर जातीय भावनालाई व्यवस्थापन गर्न सकेमा जित्‍न सकिन्छ’, देवी खड्काले भनिन्, ‘त्यहाँ पनि कांग्रेस-एमालेसँग प्रतिस्पर्धा छ। स्थानीय तहमा फुटको धेरै असर छैन।’ क्षेत्र नम्बर ३ मा स्थानीय उम्मेद्वार बनाएर मेहनत गरे जित्‍न सकिने हितबहादुर तामाङको रिपोर्ट थियो।

भक्तपुर १ को रिपोर्ट पेस गर्दै ध्रुव पराजुलीले भनेका थिए, ‘नेमकिपाका लागि स्वर्ग, अरूका लागि बधशालाजस्तो छ। काँठमा हाम्रो राम्रै छ तर सहरमा नेमकिपाको एकलौटी छ।’ भक्तपुर २ मा एमाओवादी, नेमकिपा, कांग्रेस र एमालेबीच प्रतिस्पर्धा रहेकाले पार्टीको अवस्थाबारे प्रस्ट चित्र पेस गरिएन।

राजधानीबाहेक झापामा आन्तरिक द्वन्द्व व्यवस्थापन गर्नुपर्ने, मोरङ र सुनसरीको अवस्था पहिलेभन्दा कमजोर नभएको प्रतिवेदन पेस भएको छ। इलाम १ मा पार्टी कमजोर नभएको तर एमाले अध्यक्ष झलनाथ खनालको व्यक्तित्वले थिच्‍ने भएकाले शीर्ष नेता पठाउन माग गरिएको छ। क्षेत्र नम्बर २ मा पनि सुवास नेम्बाङ पहिलेजत्तिको लोकप्रिय नरहेको गणेश भित्रीकोटीको रिपोर्ट थियो।

रिपोर्टिङ अनुसार धनकुटाका दुवै क्षेत्र जित्‍ने, संखुवासभा १ जित्‍ने र २ मा मेहनत गर्नुपर्ने छ। तेह्रथुममा पुरानो अन्तर्विरोध बाँकी रहेकाले पार्टीको अवस्था सबल छैन। अघिल्लो चुनावमा एकलौटी जित्‍न सफल भएका पहाडका जिल्लाहरूमा पनि केही कमजोर भएको रिपोर्ट पेस भएको छ। सोलु र दोलखा १ जित्‍ने भए पनि दोलखा २ का बारे प्रस्ट बताइएन। त्यस्तै खोटाङमा रिपोर्टिङ भएको छ। रामेछापमा पनि पूर्व एकताकेन्द्र र माओवादीको गुट मिलाउनुपर्ने अवस्था रहेको रिपोर्टिङ भएको बैठकका एक सहभागीले बताए। तीन दिनदेखि लगातार भैरहेको रिपोर्टिङ बिहीबार सकिएको छ।

(अन्नपूर्ण पोस्ट दैनिक बाट )