कपन क्षेत्रमा खोला उत्खननको बाँकी काम प्राधिकरणले गर्ने
142 पटक पढिएको
काठमाण्डौ – काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको आरम्भ चोकमाथिको बहाव क्षेत्र छुट्याउने काम काठमाण्डौ उपत्यका विकास प्राधिकरणले गर्ने भएको छ ।
चावहिल, कपन क्षेत्रको रुद्रमती (धोबीखोला) बाट आरम्भ चोकसम्मको खोला उत्खननको काम काठमाण्डौ महानगरपालिकाको नेतृत्वमा गरिएको थियो । आरम्भचोकसम्म खोलिएको खोलालाई त्यसमाथिको भागमा खोलेर आरसीसी ढलान गर्ने कामका लागि प्राधिकरणले ठेक्का गरी काम अघि बढाएको छ । यसका लागि प्राधिकरणले २३ करोड रुपैयाँको ठेक्का गरेको हो । ड्रागन आरबी कम्पनीले ठेक्का पाएर काम अघि बढाउन लागेको महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष भुवन लामाले जानकारी दिनुभयो ।
प्राधिकरणले ठेक्का गरेर काम अघि बढाएपछि महानगरपालिकाले आरम्भ चोकमै यो काम छोडेको छ । खोला छुट्याउने कामसँगै आरम्भ चोकसम्म जग्गाको नाप–जाँच पनि गरिएको छ ।
काठमाण्डौ उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर सडक बनाई घर बनाउन थालिएको थियो । यसरी खोलालाई ढल बनाउँदा वर्षायाममा कपन र चाहिलको सरस्वतीनगर क्षेत्र डुबानमा पर्न थालेपछि महानगरपालिकाले खोला खोल्न थालेको थियो । आरम्भ चोकसम्म खोला खोलेपछि असोज दोस्रो हप्ता भएको वर्षामा आएको बाढीले कपन क्षेत्र डुबानमा नपरेको पनि वडा अध्यक्ष लामाले जानकारी दिनुभयो ।
यसबाट स्थानीयवासी खुशी हुनुका साथै यज्ञडोलसम्म नै खोला खोलेर खुला बनाउनुपर्ने आवाज उठाउन थालेका छन् । केही जग्गा व्यवसायीको स्वार्थमा खोला पुर्ने कामले समस्यामा परेको बुझेपछि अहिले स्थानीयवासी खोला खोल्नुपर्ने अभियानमा एकबद्ध भएको स्थानीयवासी चुडामणि कोइरालाले बताउनुभयो ।
महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको थियो । तर बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ । खोलाको दायाँबायाँ चार÷चार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भए पनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ । महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष विमलकुमार होडा नापी कार्यालयले यस क्षेत्रको नापी गरी सक्ने र पूर्जा भएको जग्गामात्र व्यक्तिको कायम गराएर बाँकी जग्गा सरकारी पर्तीका रूपमा कायम गरिने बताउनुहुन्छ ।
यसका लागि प्राधिकरणसँग पनि समन्वय गरेर काम गर्न लागिएको उहाँले सुनाउनुभयो । नाप–जाँच गरेर आएको पर्ती जग्गामा महानगरले आकर्षक बगैँचा बनाएर खुला क्षेत्रका रूपमा स्थापित गर्ने जनाइएको छ । यसरी बनेको खुला क्षेत्र भूकम्पलगायत प्राकृतिक प्रकोपका बेला पनि उपयोगमा ल्याउन सकिने वडा कार्यालयले जनाएको छ ।