हमासले फेरि गर्यो इजरायलको तेल अभिभ र जेरुसलमा रकेट प्रहार

180 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । प्यालेस्टाइन समर्थित लडाकु समूह हमासले इजरायलको तेल अभिभ र जेरुसलमा रकेट प्रहार गरेको छ ।

राजधानी शहरमै रकेट प्रहार भएपछि इजरायलका प्रधानमन्त्रीदेखि मन्त्री तथा सांसदहरु बम प्रतिरोधी बंकरमा आश्रय लिन बाध्य भएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायल भ्रमणमा रहेका अमेरिकी बिदेशमन्त्री एन्टोनी ब्लिंकन बंकर भित्र लुकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ब्लिंकन इजरायलको रक्षा मन्त्रालयमा आयोजना गरिएको बैठकमा सहभागी भएकै बेला साइरन बजेपछी ५ मिनेट बंकरमा लुक्न बाध्य हुनुभएको हो ।

हमासको आक्रमणविरुद्ध इजरायलले पनि जवाफी कारबाही जारी राखेको छ । राष्ट्रसंघका सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले गाजाको स्वास्थ्य प्रणाली पुरै तहसनहस भईसकेको जनाएका छन् । ग्रिफिथ्सले गाजापट्टीमा घेरामा परेकाहरुलाई मानबीय सहयोगका लागि पनि अपील गरेका छन् ।

उता बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले गाजामा इजरायलले बमबारी जारी राख्दा आगामी २४ घण्टाका लागि मात्रै पानी, बिजुली र इन्धन बाँकी रहेको जनाएको छ । गाजाका स्वास्थ्य अधिकारीहरुका अनुसार इजरायली आक्रमणमा गाजातर्फ २ हजार ८ सय बढीको मृत्यु भइसकेको छ भने १० हजार ८ सय बढी घाइते भएका छन् ।

हमासले २ सय देखि २५० जनालाई बन्धक बनाएको दाबी गरे पनि इजरायले १९९ जनालाई बन्धक बनाएको बताएको छ । इजरायली हमलाका कारण गाजाबाट विस्थापित भएका लाखौं सर्वसाधारण इजिप्टको सीमा क्षेत्रमा जम्मा भएका छन् । इजिप्टले सीमा खोल्न भने अझै मानेको छैन ।