एमाले धादिङ–पोखरा सम्पर्क मञ्चमा पुनः लम्साल

519 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 पोखरा, १५ भदौ/नेकपा (एमाले) धादिङ–पोखरा सम्पर्क मञ्चको अध्यक्षमा पुनः कृष्णबहादुर लम्साल निर्विरोध चयन भएका छन् । मञ्चको शनिबार सम्पन्न तेस्रो अधिवेशनले लम्सालको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिका तीन उपाध्यक्षमा राम बहादुर अर्याल, अर्जुन खतिवडा र भुवन पाण्डे, सचिवमा बेनी पाठक, सहसचिवमा शम्भु अधिकारी, कोषाध्यक्षमा प्रेम थापा र सहकोषाध्यक्षमा दीपक गिरी रहेका छन् ।

IMG_0269

यसअघि, अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटि धादिङका अध्यक्ष खेम लोहनीले राणा र राजालाई फालेर लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि जनताले परिवर्तनको महसुस गर्न नसकिरहेका बेला मुलुकमा नयाँ संविधान निर्माण गर्न नेकपा एमाले पहिलो पार्टी बन्नुको विकल्प नरहेको बताए । पहिलो संविधानसभामा एमाओवादी सबैभन्दा ठूलो दल भएकैले संविधान बन्न नसकेको आरोप लगाउँदै उनले सत्तामा पुग्न विदेशीसामु लम्पसार पर्न समेत तयार हुने एमाओवादीलाई नहराएसम्म मुलुकले निकास नपाउने उल्लेख गरे ।

विशेष अतिथि नेकपा एमाले धादिङका निवर्तमान अध्यक्ष एवं बाग्मती अञ्चल समन्वय कमिटिका सदस्य गुरु बुर्लाकोटीले मुलुकमा अहिले दुई खतराहरु देखा परेको बताउँदै प्राप्त उपलब्धी गुम्ने डर र राज्य टुक्रन सक्ने यी दुई खतरालाई टार्न दोस्रो संविधानसभामा एमालेले दुई तिहाई बहुमत ल्याउन आवश्यक रहेकोमा जोड दिए । अहिले राजावादी र जातिवादी पार्टीहरु सल्बलाईरहेको उल्लेख गर्दै उनले थपे “Çयाँकिएका पूर्व राजा मन्दिरमा घण्टी बजाउँदै हिँडेका छन् । उनको धर्म र पापको खेल त २०५८ जेठ १९ बाटै जनताले थाहा पाईसके । एमाओवादीलाई पनि जातिय राज्यको मुद्धा छाड्न गाह्रो परिरहेको छ ।” धादिङबाट आई पोखरामा रहेका ठूलो संख्याका निर्माण मजदुरहरुलाई संगठित गर्न उनले मञ्चलाई आग्रह समेत गरे ।
एमाले धादिङका सचिव शिव कडेँलले मुलुकमा राजनैतिक र संवैधानिक संकट उत्पन्न भएका बेला निकास दिने र मुलुकलाई दिशानिर्देश गर्ने एकमात्र पार्टी एमाले भएकाले एमालेलाई मत दिन सबैलाई आग्रह गरे ।

नेकपा एमाले कास्की क्षेत्र नं. ४ प्रतिनिधि परिषद् सदस्य पुण्य पौडेलले जनताको बहुदलिय जनबाद सिद्धान्त नै मुलुकको मार्गनिर्देशक भएकाले यो सिद्धान्त बोकेको पार्टीलाई जिताउनुको विकल्प नभएको बताए । उनले थपे “माओवादीको जातिय राज्य नामको ललिपपमा केहि समूह भुलेर जातका कुरा उठाईरहेका छन् । राज्य टुक्रन दिनु हुँदैन ।”
कार्यक्रममा एमाले धादिङका सदस्य प्रेम सिलवाल, कास्की क्षेत्र नं. २ विशेष ईलाका नगर कमिटि अध्यक्ष वीर बहादुर थापा, एमाले कास्की क्षेत्र नं. ३ सदस्य गोकर्ण अधिकारी लगायतले बोलेका थिए ।
मञ्चका अध्यक्ष कृष्णबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव बेनी पाठक र सहसचिव शम्भु अधिकारीले गरेका थिए भने उपाध्यक्ष राम बहादुर अर्यालले सहभागीहरुलाई स्वागत गरेका थिए । साधारणसभामा सचिव बेनी पाठकले वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
सो अवसरमा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा धादिङ घर भई पोखरामा स्थायी वा अस्थायी बसोबास गर्दै आएका चेलीबेटीबीच भेटघाट तथा दर खुवाउने कार्यक्रम पनि गरियो । कार्यक्रममा पोखरा लोक संगीत समूहमा आबद्ध धादिङका कलाकारहरुले जनवादी तथा तीज गीत गाउँदै मनोरञ्जन समेत प्रदान गरे ।
यसैबीच, पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका एकीकृत माओवादी तथा नेपाली काँग्रेसमा क्रियाशील कार्यकर्ताहरुलाई अतिथिहरुले खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।