बीरगञ्जमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु, मृतक दुवै एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत

116 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । बीरगञ्जमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आज बिहान मोटरसाइकल दुर्घटनामा परी २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएकाहरूको पहिचान खुलेको छ।

बीरगञ्जको वडा नम्बर १५ जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा बिहान भएको मोटरसाइकल दुर्घटनामा परी २ जना एमबिबिएसमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका अनुसार मृत्यु हुनेहरूमा धनुषा ५ निवासी सुमित यादव र बारा सुवर्णपुर का संजित यादव रहेका छन्। मृतक दुवै जना बीरगन्जको नेशनल मेडिकल कलेजमा एमबिबिएसको दोस्रो वर्षमा अध्ययनरत रहेका प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्सा प्रहरीले बताएको छ ।

मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ। मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता कुमार विक्रम थापाले जनाए।