सारंगीले उचालिएका तीर्थ आफैं परे जालैमा…

700 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, भदौ २८ – शुक्रबार विहान उज्यालो हुन अझै अढाईघण्टा जति बाँकी नै थियो । मस्त सुतिरहनुभएका कलाकार बमबहादुर कार्कीको मोवाईलमा घण्टी बज्यो ।

आँखा मिच्दै उहाँले मोवाईल हेर्नुभयो । सहकर्मी कलाकार तीर्थबहादुर गन्धर्वको नम्बरबाट फोन आइरहेको छ । तीर्थले किन रातिराति फोन गर्‍यो भनेर उहाँ अचम्ममा पर्नुभयो ।

‘फोन उठाएर हेलो तीर्थ के भयो किन राति फोन गरेको भनेर सोध्दै थिएँ, उनको छोरोले रुँदै भन्यो बा त बित्नुभयो !’ कार्कीले रातिको दुःखद घटना सुनाउँदै उज्यालो अनलाइनसित भन्नुभयो, ‘त्यसपछि म छाँगाबाट खसेजस्तो भएँ । एकछिन त पत्यार लागेन । तर हो रैछ…।’

६ दिनअघि तिजको दिन भेट्दा हट्टाकट्टा र स्वस्थ देखिएका तीर्थबहादुरको यति छिट्टै निधन हुन्छ भन्ने उहाँले सोच्नुभएकै थिएन । ‘तिजमा गोर्खा म्युजिकले लोकमञ्जरी कार्यक्रम आयोजना गरेको थियो । मैले गीत गाउन अनुरोध गरेको थिएँ । तर तिर्थले नयाँलाई अवसर दिनुपर्छ, म पछि गाउँछु भनेका थिए । अब त्यो दिन नआउने भयो’ कार्कीले दुःख मान्दै भन्नुभयो ।

परम्पराले उचालेको प्रतिष्ठा

तनहुँ चोकचिसापानीको गन्धर्व वस्ती । गाउँठाउँ र देशविदेशका घटना तथा कहानीलाई सारङ्गीको तालमा लय मिलाउँदै वस्तीवस्ती घुम्नुपर्ने परम्परा । त्यही परम्परा र संस्कृतिले धानेको जीविका । यसैगरी सारङ्गी रेटेर जीविका चलाउनुपर्ने परिवारमा विक्रम सम्बत २०१० सालमा जन्मनुभएका तीर्थबहादुर गन्धर्वलाई त्यही सारङ्गीले जुरुक्क उचालेर काठमाडौंसम्म ल्याइपुर्‍याएको थियो ।

बाबु धनबहादुरको पछि लागेर सारङ्गी रेट्दै गाउँगाउँ डुल्दा तीर्थबहादुरले आफ्नो कला र गलालाई निख्खर बनाउँदै लैजानुभयो । उहाँको मीठो स्वर र गायनको चर्चा हुन थाल्यो ।

२०४० सालतिर पाण्डव सुनुवार, राम थापा, बमबहादुर कार्कीलगायतको टोली सांगीतिक कार्यक्रमको लागि लमजुङ पुगेको थियो । त्यहाँ अरु चर्चित कलाकारले जस्तै तीर्थबहादुरले पनि सारङ्गी बजाएर गीत बजाउनुभयो । ‘उनको गीत सुनेर आफैं सबै दंग पर्‍यौं, अनि मैले काठमाडौं आउन निम्तो दिएँ’ कार्कीले विगत सम्झँदै भन्नुभयो ।

त्योबेला रेडियो नेपालमा सारंगी बजाउने झलकमान गन्धर्व मात्र हुनुहुन्थ्यो । कार्कीको निम्तो पाएपछि तीर्थबहादुर रेडियो नेपाल पुग्नुभयो र आफ्नो कला देखाउनुभयो । त्योबेला एउटा गीत गाएबापत २० देखि ३० रुपैयाँसम्म पाइन्थ्यो । सुरुमा तीर्थबहादुरले त्यसकै भरमा गीत गाउनुभयो । क्यासेट पनि निकाल्नुभयो ।

तीर्थबहादुरका सम्धी नाता पर्ने गायक कृष्णबहादुर गन्धर्वका अनुसार २०४१ सालमा नातिकाजी रेडियो नेपालको सङ्गीत शाखाका प्रमुख हुँदा उहाँले त्यहाँ प्रवेश गर्ने अवसर पाउनुभयो र संगीत शाखामा वाद्यवादनको काम थाल्नुभयो । दुई वर्षअघि उहाँले रेडियो नेपालबाट अवकाश पाउनुभएको थियो ।

रेडियो नेपालको चर्चित कार्यक्रम ‘चौतारी’ लोकप्रीय भए लगत्तै तीर्थबहादुरको उचाई पनि बढ्न थाल्यो । पाण्डव सुनुवारले सञ्चालन गर्ने कार्यक्रममा तीर्थबहादुर वाद्यवादन र गायन दुवैको काम गर्नुहुन्थ्यो । ‘बल्ल पर्‍यो निरमाया माकुरी जालैमा…..’ भन्ने गीतले उहाँलाई अझै उचाल्यो ।

साङ्गीतिक समाचारवाचक

कलाकार कार्कीका अनुसार तीर्थबहादुर ‘साङ्गीतिक समाचारवाचक’ हुनुहुन्थ्यो । ‘घटना सुनाउने बित्तिकै गीत बनाएर गाउन उहाँ खप्पिस हुनुहुन्थ्यो’ कार्कीले भन्नुभयो । कुनै ठाउँ या परिवेशको घटना र कहानीलाई सारंगीको तालमा गाउन सक्ने गन्धर्व समुदायको कला नै हो ।

त्यसमा तीर्थबहादुर अझै अगाडि हुनुहुन्थ्यो । त्यसैले साङ्गीतिक कार्यक्रममा जाँदा कार्कीले तीर्थबहादुरलाई सँगै लैजाउनुहुन्थ्यो ।

‘वनको भलाय, आईएम सरी….जस्ता डेढसय भन्दा बढी गीत गाएका तीर्थबहादुरलाई सबैले सरल र योग्य गायकको रुपमा चिन्छन् । ‘उहाँ एकजना मिलनसार, कुशल सारंगीवादक, सरल र खुबी भएका गायक हुनुहुन्थ्यो’ उहाँका सहकर्मी संगीतकार बुलु मुकारुङले उज्यालो अनलाइनसित भन्नुभयो ।

तीर्थबहादुरले विकृति, विसंगतिको विरोधमा पनि गीत गाउनुभएको छ । बाबुबाजेले सुरु गरेको परम्परालाई निरन्तरता दिने क्रममा उहाँ कुशल गायक र सारंगीवादकको रुपमा चिनिनुभयो । ‘बल्ल पर्‍यो निरमाया माकुरी जालैमा…..’बाट चर्चित हुनुभएका उहाँ आफैं ६० वर्षकै उमेरमा रोगको जालमा पर्नुभयो ।

मिलन तिमिल्सिना/उज्यालो अनलाइनबाट