शान्ती सुरक्षाका लागि सिंह जस्तै कडा स्वभावका अशोक सिंह -अपराध रोक्न सदरमुकाममा सिसिटिभी राखिंदै

691 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङ/सदरमुकाम धादिङबेसीको शान्ति सुरक्षाको अवस्था विग्रन नदिन सदरमुकामको प्रमुख व्यापारिक केन्द्र, मुख्य मुख्य चोक र सडकहरुमा सिसिटिभी जडान गरिने भएको छ । DSC00180
वजार क्षेत्रमा प्रहरीको सक्रियता बढ्दै गएपनि समयमै सुचना पाउन नसक्दा अपाराधिक कार्यहरु नियन्त्रणमा आउन ढिला हुने भएपछि प्रहरीले स्थानीयसंग सहकार्य गरेर संवेदनशिल स्थानहरुमा सिसिटिभी जडान गर्न लागेको वताएको छ । बढ्दो शहरीकरण,जनसंख्याको चाप र नयां नयां व्यक्तिहरुको आगमन बढ्दै जांदा बिशेषगरी सदरमुकाम क्षेत्रमा हरेक दिनजसो अपराधका घटनाहरु हुने गरेकाले अपराधका घटना रोकथामका लागि सिसिटिभीको प्रयोग प्रभावकारी हुने धादिङका प्रहरी नायव उपरिक्षक अशोक सिंह ठकुरी वताउनुहुन्छ ।
सदरमुकाम क्षेत्रमा शान्ति सुरक्षाको स्थितीलाई मजवुत बनाउन प्रमुख चोक, कारोवार बढीहुने वजार र सदरमुकामको मुख्य नाकाहरुमा सिसिटिभी जडानका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक पुर्वाधार खडा गर्ने तर्फ लागिएको प्रहरी नायव उपरिक्षक सिंहले वताए । वजारमा सिसिटिभी जडानका लागि बैक तथा वित्तिय संस्था,उद्यमी व्यवसायी तथा व्यापारिक संगठन ,राजनैतिक दल र नागरिक समाजसंग छलफल गरी अघि बढिएको र छिट्टै पुर्वाधार विकासका कार्यलाई अन्तिम रुप दिइने सिंहले वताउनुभयो ।
प्रहरी कार्यालयमा मुख्य सर्भर जडान गरी अगुगमन गरिने सिसिटिभीको माध्यमबाट वजार क्षेत्रमा हुने घटना, दुर्घटना,अपराधिक कार्य र अन्य आपतकालिन अवस्थाहरको सहजै अनुगमन गरी आवश्यकता अनुसार प्रहरी सक्रियता बढाउन ,उद्धार र अपराध न्युनिकरणमा प्रहरीको पहुंच र सुचना प्राप्त गर्न सजिलो हुने प्रहरी प्रमुख सिंहको भनाई छ ।
सात महिना अघि धादिङ जिल्लामा सरुवा भएर आएदेखिनै नयां योजना लिएर निकै कडा मिजासका साथ प्रस्तुत हुंदै आईरहेका प्रहरी नायव उपरिक्षक सिंहको हिजो आज गाउंबस्ति र टोलमा मात्र होइन होटेल, रेस्टुरेन्ट एवं चिया पसलमा समेत निकै चर्चा हुन थालेको छ ।
विगत देखि लथालिङ्ग भएको सदरमुकाम र प्रमुख सडकको ट्राफिक व्यवस्थापन,राजमार्गको बिशेष सुरक्षा,अवैध हतियार संकलन ,वारदात पश्चात फरार रहेका अभियुक्तहरुको खोजी र पक्राउका साथै पटके अपराधिहरुको दैनिकीमा अनुगमन बढ्न थालेपछि सिंहले सबैवाट चर्चा पाउन थालेका हुन । सदरमुकाम धादिङबेसी क्षेत्रका अधिकांश होटेल तथा रेस्टुरेन्ट अहिले राती ९ बजे पछि आंफै बन्द हुन थालेका छन । विगतमा राती अवेर सम्म होटल रेष्टुरेण्टमा बसेर मदिरा सेवन गर्नेहरुवाट विभिन्न किसिमका घटनाहरु हुने गरेको जनगुनासो बढे पछि राति अबेरसम्म होटल रेस्टुरेन्ट नखोल्न व्यवसायीहरुलाई गरिएको आग्रह कार्यान्वयन हुंदै गएको सिंहले वताउनुभयो ।
कानुनको कार्यान्वयनमा सिंह जस्तै कडा स्वभावको भएका कारण सबैले सिंहको उपमा दिने गरेका छन । जिल्लाको शान्तिसुरक्षाको बिषयलाई लिएर विगतमा हुने गरेका टिका टिप्पणी अहिले कमहुंदै गएको छ । जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मजवुत वनाउन जिल्लाको विभिन्न २१ स्थानमा प्रहरी युनिट स्थापना भई काम गरिरहेको र आगामी संविधानसभा निर्वाचनलाई शान्तिपूर्ण र सौहार्दपूर्ण बनाउन दलहरुसंग बसेर पटक पटक छलफल गर्ने सिंहले वताए । विगतमा जिल्लाको दार्खा गाविस क्षेत्रमा पटक पटक हिसांत्मक घटना हुनुका साथै ज्यान लिने कार्य समेत बढेपछि जिल्लाका प्रमुख दलका नेत्तृत्वलाई दार्खामा लगेर सार्वजनिक कार्यक्रम गरी आइन्दा कुनै घटना नगराउने प्रतिवद्धता गराएपछि त्यस क्षेत्रको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको सिंह बताउनुहुन्छ ।
राजमार्ग क्षेत्रमा बढ्दै गएको यौनव्यवसाय,लागुऔषध,कालोवजारी लगायतका कार्य नियन्त्रणका लागि राजमार्ग बिशेष अभियान चलाएर सिंहले निकै चर्चा पाएका छन । त्यसैगरी सार्वजनिक स्थलमा क्यारेमबोर्ड, लुडो, जुवातास खेलेर बरालिने व्यक्तिलाई पनि अहिले प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्न थालेपछि बरालिएर बस्नेहरुको संख्यामा समेत कमि आउन थालेको छ ।
आंफुलाई डन भनाएर गुन्डागर्दी गर्ने व्यक्तिहरुलाई कानून वमोजिम दण्ड सजायं दिन कसैले अवरोध गर्न नहुने सिंहको सुझाव छ । जिल्लाका राजनैतिक दलहरुले पनि प्रहरीको अभियानलाई साथ दिंदै आएका कारण झैझगडामा कमी आउनुका साथै दोषि उपर कारवाही गर्न सकिएको प्रहरीको भनाई छ । कानुन हातमा लिनेहरुसंग आफूले कहिले कुनै सम्झौता नगर्ने सार्वजनिक प्रतिवद्धता जनाउंदै आएका सिंहले राजनीतिक भनसुन र दबाबलाई इन्कार गर्ने भएकाले जिल्ला प्रहरी कार्यालयमा राजनीतिक दलका नेताहरु जान छाडेका छन् ।
शान्ति सुरक्षाको अवस्थालाई मजवुत वनाउन प्रहरीभित्र पनि आन्तरिक शुद्धीकरण आवश्यक हुने भएकाले कुनै पनि प्रहरीले गलत गरेको पुष्टि हुनासाथ कारबाही गर्ने गरेको सिंहको दाबी छ ।