सरकारले भन्यो ‘उमेद्वारी दर्ताको समय सार’

753 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, असोज २ – सरकारले संविधान सभा चुनावका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय पर सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

बालुवाटारमा बुधबार बसेको मन्त्रीपरिषदको बैठकले मंसिर ४ गते हुने मतदान कार्यक्रमलाई असर नपर्ने गरी उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय केही पर सार्न आयोगलाई आग्रह गर्ने निर्णय गरेको हो ।

निश्चित समय नखुलाई यथासम्भव केही पर सार्ने सम्वन्धमा विचार गर्न आयोगलाई आग्रह गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्को निर्णयमा मंसिर ४ गतेको मतदान कार्यक्रममा कुनै पनि प्रतिकूल असर नपर्ने गरी उम्मेदवारीको मनोनयन पत्र दर्ता मिति एवं समानुपातिक तर्फको उम्मेदवारका लागि राजनीतिक दलले निवेदन पेश गर्ने एवं बन्द सूची पेश गर्ने मिति यथासम्भव केही पर सार्ने सम्बन्धमा विचार गर्न निर्वाचन आयोगलाई अनुरोध गर्ने भनिएको छ ।

मन्त्रीपरिषद बैठक बस्नुअघि विहान मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तसँग छलफल गर्नुभएको थियो । उच्चस्तरिय राजनीतिक समितिले निर्वाचन आयोगलाई समानुपातिक तर्फको उम्मेदवारको निवेदन पेश गर्ने समय एक हप्तापछि सार्न आग्रह गरेको उज्यालो अनलाईनमा खबर छ् ।