१९ नगरपालिमा उपसचिव, ३ सय गाविसमा अधिकृत

713 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, /सरकारले ६० जिल्लाका २ सय ९६ गाउँ विकास समितिमा अधिकृतस्तरका सचिव तथा १९ नगरपालिकामा उपसचिवस्तरका कार्यकारी अधिकृत खटाउने तयारी गरेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीको ‘सामायोजन विशेष बढुवा प्रयोजन’ अन्तर्गत जनसंख्या धेरै र वित्तीय परिचालन हुने गाविसमा अधिकृतस्तरका सचिव पठाउन लागेको छ । पछिल्लो समय बसाइँसराइलगायतका विभिन्न कारणले जनसंख्या तीव्र वृद्धि भइरहेका नगरपालिकाहरूमा पनि उपसचिवस्तरका कार्यकारी पठाउन लागेको हो ।
मन्त्रालयले कारोबारलाई उपलब्ध गराएको विवरणअनुसार पहाडी जिल्लाका सदरमुकाम र तराईका नगरउन्मुख गाविसहरूमा अधिकृत खटाउनेछ । मन्त्रालयका प्रवक्ता दिनेश थपलियाका अनुसार ताप्लेजुङ, पाँचथर, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक, लमजुङलगायतका सदरमुकामस्थित गाविसमा अधिकृत पठाइनेछ ।
“तत्काल नगरपालिका घोषणा गर्न नसकेका तर जनसंख्या, वित्तीय परिचालन, सेवाप्रवाह करिब–करिब नगरपालिकाकै हैसियतमा पुगेका गाविसमा अधिकृत पठाउन लागेका छौं,” थपलियाले भने, “पछिल्लो समय तीव्र जनसंख्या वृद्धिसँगै सेवाप्रवाह र वित्तीय परिचालन बढेका १९ नगरपालिकामा पनि उपसचिवस्तरका कार्यकारी अधिकृत पठाउन लागेका छौं ।”
इलाम, मेचीनगर, दमक, इटहरी, लाहन, त्रियुगा, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, लेखनाथ, व्यास, बागलुङ, रत्ननगर, घोराही, तुल्सीपुर, सुर्खेत, धनघढी, टीकापुर र गुलरियामा उपसचिवस्तरका कार्यकारी पठाइनेछ । “यी नगरपालिकाहरूमा जनसंख्याको चाप निकै बढेर सेवाप्रवाह र वित्तीय परिचालन ह्वात्तै बढेको छ,” थपलियाले भने, “पहाडी क्षेत्रका बजारकेन्द्र सदरमुकाम र तराईका गाविसमा पनि जनघनत्व बढेको छ ।”
थपलियाका अनुसार इलामको पशुपतिनगर, चुलाचुली, दानावारीलगायतका ६ गाविसमा अधिकृत पठाइनेछ । यसैगरी, झपाका १२, मोरङको, १३, ललितपुरको १९, सुनसरीको ९, धनुषाको ३ सिलाईहीका ४ गाविसमा अधिकृतस्तरको सचिव पठाइनेछ । त्यसैगरी दाङका ६, बर्दियाका ७, बाँकेका ५, नवलपरासीका १५ कैलालीको १७, उदयपुरका ३, रूपन्देहीका १६, चितवनका १३, सुर्खेतका ५, डडेल्धुराका ३, सिराहको २ गाविसमा अधिकृतस्तरका सचिव पठाइने छ ।
धादिङ, तनहुँ, मकवनापुर, कञ्चनपुरका ७÷७ वटा गाविस, बारा र कास्कीका ४÷४ र सप्तरी र तेह«थुमका २÷२ गाविसमा गाविसमा अधिकृत खटाइनेछ । काठमाडौंका ५७ मध्ये ५४  गाविसमा पनि अधिकृत स्तरका कर्मचारी खटाइने छ । मन्त्रालयका अनुसार मझौलास्तरका १ हजार ६ सय ६३ गाविसमा नायब सुब्बा र बाँकी २ हजार ५२ गाविसमा खरदारस्तरका सचिव खटाइनेछ ।
देशभरका ५८ मध्ये १९ नगरपालिकामा उपसचिवस्तरका कार्यकारी खटाउने भएपछि बाँकी ३८ मा अधिकृतस्तरका खटाइनेछ । बाँकी एकमात्र काठमाडौं महानगरपालिकामा भने विगतदेखि नै सहसचिव स्तरका कार्यकारी खटाइँदै आएको छ ।

कारोबार दैनिक बाट