समाजखबर डट कम विरुद्धको उजुरी

585 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं । माउन्टेन टेलिभिजनका माधव राज तिवारीले समाजखबर डट कम विरुद्ध महानगरीय प्रहरी परिसर हनुमानढोकामा दिएको “विद्युतीय कारोबार ऐन” सम्बन्धी उजुरी अब प्रेस काउन्सिलले हेर्ने भएको छ ।
समाज खबरमा संप्रेषित समाचारले आफ्नो चरित्र हत्या भएको दावी गर्दै तिवारीले सोमबार हनुमानढोकामा लिखित उजुरी दिएका थिए । तिवारीले अनलाइनमार्फत आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै समाजखबर डटकमका सञ्चालक÷सम्पादक नकुल अर्याललाई हदैसम्मको कारवाही गर्न र क्षतिपूर्ति दिलाइदिन माग गर्दै उजरी गरेपछि प्रहरीले दुवै पक्षलाई मंगलबार छलफलमा बोलाएको थियो ।
छलफलका क्रममा सहमति नभएपछि प्रहरीले समाचारसंग सम्बनिधत विषय भएकोले प्रेस काउन्सिललाई छानबिनका लागि आग्रह गर्दै पत्र पठाएको छ । समाजखबर डट कममा संप्रेषित “माउन्टेन टिभीमा नियुक्तिपत्र पाउन ल्यापटप बुझाउनुपर्ने” शीर्षकमा संप्रेषित समाचारलाई लिएर तिवारीले उजुरी गरेका हुन् । समाचारमा माउनटेन टेलिभिजनका तिवारीले तराईक्षेत्रका संवाददाताहरुलाई ल्यापटप पाए नियुक्तिपत्र दिलाइदिने आश्वासन दिएको उल्लेख छ ।
तिवारीले आफूले कसैसंग ल्यापटप नमागेको बताएपनि समाजखबरका सम्पादक अर्यालले भने आफूले आवश्यकता परे साक्षी प्रमाण जुटाउन सक्ने दावी गरेका छन् । पछिल्लो समय सञ्चारमाध्यममा भएका विकृति विरुद्ध कलम चलाएकै कारण आफूविरुद्ध सुनियोजित रुपमा विद्युतीय कारोबार ऐनसम्बन्धी आरोप लगाइएको अर्यालको भनाई छ ।