महिला स्वयंसेवक मतदाताका घर–घरमा

466 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं । “घरमा को हुनुुहुन्छ ? हँ ! आमा, बा, दाइ, दिदी, बहिनी, भाइ, बहिनी । नमस्कार ! नमस्कार । ल मेरो भाग्य त बलियो रहेछ । सबै जनाभित्रै हुनुहँदो रहेछ नि त !” महिलाको यस्तो कर्णप्रिय स्वर सुनेर तपाई अचम्म नमान्नु होला । आफ्नै गाउँ ठाउँबाट तपार्ईका घरमा आएका महिलासँग निर्वाचनका बारेमा खुलेर कुराकानी गर्नुहोला । अगामी निर्वाचनका लागि यसरी महिला स्वयंसेविका तपाईका घर घरमा आउँदैछन् । उनीहरूले निर्वाचनमा किन भोट खसाल्नुपर्छ भन्ने प्रश्नको जवाफदेखि लिएर मतदात गर्ने तरिकासम्म सिकाउनेछन् । निर्वाचन आयोगले आगामी निर्वाचनमा निर्वाचन शिक्षा स्वयंसेवक तथा मतदाता शिक्षा स्वयंसेवक परिचालनअन्तर्गत करिब ९५ हजार स्वयंसेवक परिचालन गर्र्दैछ । तीमध्ये ४५ हजार महिला स्वयंसेविका हुने छन् ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भन्छन् “यसपटकको निर्वाचनको क्रममा निर्वाचन शिक्षा तथा मतदाता शिक्षा स्वयंसेवकले प्रत्येक मतदाताको घरमा पुगी मतदातालाई भेट गर्नुपर्ने प्रावधान राखिएको छ ।”“आयोगका तर्फबाट मतदाताको घरका ढोका घच्घचाउने काम उहाँहरूले गर्नुहुन्छ र मतदातालाई भोट खसाल्न उत्प्रेरित गर्नुहुन्छ”–प्रमुख उप्रेतीले भने ।
अर्काेतर्फ यसपटकको निर्वाचनमा आयोगले निर्वाचनको सबै प्रक्रियामा महिला सहभागितालाई पहिलो प्राथमिता दिएको छ । निर्वाचन अधिकृत, स्वयंसेवक परिचालन, मतदानस्थलमा मतदाताको नङमा मसी लगाउने, मतदाताको लाम व्यवस्थापन, सुरक्षाकर्मी खट्नमा महिला सहभागितामा आयोगले पहिलो ध्यान दिएको निर्वाचन आयुक्त इला शर्माले बताईन । अर्काेतर्फ आगामी निर्वाचनमा पुरुषले भन्दा महिलाले बढी मतदान गर्ने आयोगले विश्वास लिएको छ । अयोगको प्रारम्भिक अनुमानमा तस्वीरसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या पुरुषको भन्दा महिलाको १.६ प्रतिशत बढी रहेको छ । निर्वाचन पर्यवेक्षणका लागि महिलाको अनिवार्य सहभागिता हुनुपर्ने प्रावधान आयोगले राखेको छ । आयोगले पर्यवेक्षणका लागि अनुमति दिएका ५१ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका करिब ७२ हजार पर्यवेक्षकमध्ये कति महिला हुन्छन् भन्ने एकिन जानकारीका लागि आयोगले अहिले अध्ययन गरिरहेको छ ।
मतदाताको घरघरमा जाने स्वयंसेवकका लागि आवश्यक प्रचारप्रसारका सामग्री तयारीको अन्तिम अवस्थामा पुगेको मतदाता शिक्षा तथा सूचना केन्द्रका निर्देशक कोमल धमलाले जानकारी दिनुभयो । आयोगले यसपटकको निर्वाचनमा करिब ४० भन्दा बढी भाषामा निर्वाचन शिक्षाका सामग्री तयार गर्र्र्दैछ । “तस्वीरसहितको मतदाता नामावलीको परिचयपत्र, निर्वाचनका सामग्रीहरू लिएर स्वयंसेवक जानेछन्”–निर्देशक धमलाले भने । स्वयंसेवकका लागि आयोगले तालिम सामग्री तयार गरी तालिम दिने कार्य लगभग सम्पन्न भइसकेको जनाएको छ । तालिम लिइसकेका मतदाता शिक्षा स्वयंसेवक मतदाताका घरघरमा जान सुरु भइसकेको आयोगले जनाएको छ ।
आयोगले निर्वाचनको सम्पूर्ण प्रक्रियामा लैङ्गिक मूलप्रवाहीकरण, समावेशी दृष्टिकोण तथा आयोगलाई नै लैङ्गिक संवेदनशील तथा समावेशी संस्थाको रूपमा विकसित गर्न लैङ्गिक तथा समावेशीकरण नीति लागू गरेको छ । आयुक्त शर्माले भने “निर्वाचनको सबै प्रक्रियामा महिला सहभागिताका लागि आयोगले प्राथमिता दिएको र दलहरूलाई पनि प्रत्यक्ष तथा समानुपातिक गरी दुवैतर्फको उम्मेदवार चयनमा महिलाको सार्थक सहभागिताका लागि संवेदनशील रहन आयोगले आग्रह गरेको छ ।” नीतिलाई कार्यान्वयन गर्न आयोगले लैङ्गिक तथा समावेशी समन्वय समिति तथा एकाई गठनको प्रावधान नीतिमा रहेको छ । राणाकालमा ल्याइएको नेपालको वैधानिक कानुन– २००४ देखि नै नेपालमा महिलालाई मतदान गर्ने अधिकार प्रदान गरिएको भए पनि विसं २०१५ को संसदीय निर्वाचनमा मात्रै महिलाहरू उम्मेदवार तथा मतदाताका रूपमा निर्वाचनमा सहभागी भएका थिए । अर्काेतर्फ आयोगले महिलाले मात्र सञ्चालन गर्ने मतदान केन्द्रको सङ्ख्या बढाउन यसपटक प्राथमिता दिएको छ । “अघिल्लो निर्वाचनमा महिलाले मात्र व्यवस्थापन गरेका मतदान केन्द्रमा मतदान कार्य तुलनात्मक रूपमा उत्कृष्ठ रह्यो, अब पनि महिलाले मात्र व्यवस्थापन गर्ने मतदान केन्द्रलाई जोड दिएका छौँ ।”–प्रमुख आयुक्त उप्रेतीले भने ।
मतदानका दिन जेष्ठ नागरिक, सुत्केरी, बिरामी, अपांग आदि अशक्त मतदातालाई मतदान कार्यमा पहिलो प्राथमिकता दिन महिला स्वयंसेवीहरूलाई तालिमका क्रममा विशेष जोड दिइ जानकारी गराइएको आयोगले जनाएको कमाण्डर पोस्ट दैनिकको अनलाइन सस्करण कमाण्डर पोस्ट डट कममा समाचार छ ।