पोखराबाट शनिबारदेखि बजारमा नयाँ उपन्यास आउने

593 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पोखरा,  / पोखरामा साहित्यका काव्य विधा जति व्यापक रुपमा विकसित भए पनि गतिलो आख्यानको खडेरी परिरहेको टिप्पणी समालोचक र स्वयम् साहित्यकारहरुले नै गर्दै आएकामा केही हदसम्म भए पनि पोखराको आवश्यकतालाई पूर्ति गर्न शनिबारदेखि एक नयाँ उपन्यास बजारमा आउने भएको छ ।
केही हदसम्म भए पनि पोखरामा आख्यानको अभावलाई पूरा गर्ने विश्वाससहित उन्यासकार नवराज ढकालको उपन्यास ‘पुलिक’ सम्मोहन साहित्यिक पत्रिकाको आयोजनामा एक कार्यक्रमका बीच आगामी (असोज १२ गते) शनिबार पोखरामा लोकार्पण हुने भएको हो । रत्नसागर प्रकाशन काठमाण्डौद्वारा प्रकाशित उपन्यासमा जनयुद्ध र यसले पारेका प्रभावसहित पोखरा र वरिपरिको परिवेशलाई निकै रोचक ढङ्गबाट प्रस्तुत गरिएको उपन्यासकार ढकालले जनाउनुभयो । नेपाली समाजको जीवन्त तस्बिर समेटिएको उपन्यासले पोखरेली साहित्यमा महत्वपूर्ण योगदान गर्ने विश्वाससहित सम्मोहनले लोकार्पण गर्न लागेको सम्पादक सुरज उपाध्यायले बताउनुभयो ।
गत वैशाखदेखि प्रकाशनारम्भ भएको सम्मोहनले यसअघि पोखरामै पहिलो पटक कविता मञ्चनसहित कवि कृष्ण उदासीको कवितासङ्ग्रह ‘हिउँ फुल्ने गाउँहरु’को प्रकाशन तथा लोकर्पण गरिसकेको छ भने कवि इन्द्र राना ‘प्रतीक’की श्रीमतीको उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान पनि सञ्चालन गरेको थियो । दोस्रो अङ्क प्रकाशनको अन्तिम तयारीमा रहेको सम्मोहन समूह पत्रिका प्रकाशनका अलावा पुस्तक प्रकाशन, अन्तरक्रिया र अन्य अभियानमा पनि सक्रिय रहने प्रकाशक रुपिन्द्र प्रभावीले बताउनुभयो ।