पहिलो ४ चार महिनामा साढे ४ खर्ब व्यापार घाटा

59 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं ९ मंसिर २०८१। चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ४ महिनामा मुलुकले साढे ४ खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको आयात र ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको निर्यात भएको हो। यसरी कूल ५ खर्ब ६६ अर्ब पाँच करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापारमा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ घाटा देखिएको विभागले जनाएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ०.१७ र निर्यात ४.१६ प्रतिशतले बढेको छ। नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र ४ महिनामा २ खर्ब ८१ अर्ब ११ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। कात्तिक मसान्तसम्ममा भारतबाट ३ खर्ब १६ अर्ब ८८ करोड ५३ लाख बराबरको वस्तु आयात हुँदा ३५ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।

त्यस्तै नेपालको अर्को ठूलो वैदेशिक व्यापार हुने मुलुक चीनसँग १ खर्ब ३ अर्ब १८ करोड २५ लाखको आयात र ६८ करोड २३ लाख ७७ हजार रुपैयाँको निर्यात हुँदा १ खर्ब २ अर्ब ५० करोडको व्यापार घाटा देखिएको छ।

पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ। कात्तिक मसान्तसम्ममा २९ अर्ब ४ करोड २० लाख बराबरको डिजेल, २१ अर्ब ५६ करोड २९ लाख बराबरको पेट्रोल र १८ अर्ब ८५ करोड ९३ लाख बराबरको एलपी ग्यास आयात भएको छ। त्यस्तै १५ अर्ब ९६ करोड ९२ लाख बराबरको फलामजन्य वस्तु, १३ अर्ब ४० करोड ४८ लाख बराबरको स्मार्टफोन आयात भएको विभागको तथ्याङ्कबाट देखिन्छ।

बढी निर्यात भएका वस्तुमा भने कार्पेट पहिलो स्थानमा देखिएको छ। ४ महिनामा ३ अर्ब ६० करोड ८ लाख बराबरको कार्पेट निर्यात भएको छ। त्यस्तै सोयाबिन तेल ३ अर्ब ४१ करोड, चिया २ अर्ब २१ करोड र अलैँची १ अर्ब ९० करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *