समाजमा सकारात्मक परिवर्तन चाहने स्व. बाबुराम कँडेलको सम्झनामा

85 पटक पढिएको

सम्पादक: Dhading News

  • सानुबाबु तिमिल्सिना (पोर्चुगल)

धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ बाह्र चिरैचौतारा निवासी साविक सल्यानटार गाविसका स्थानीय समाजसेवी बाबुराम कँडेल आज हामी विचमा हुनुहुन्न । उहाको केही दिन अगाडि मात्र  निधन भएको छ । समाजसेवी स्व. कँडेलको मृतआत्माको चीर शान्तिको कामना गर्दछु साथै शोकमा रहनुभएका कँडेल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

बिक्रम सम्वत २००९ भदौ २६ गते जन्मनु भएका कँडेलको २०८१ पुस २५ गते दुखदः निधन भएको हो । उहाँको मृत्युको खबर सुनेपछि शुरुमा मैले पत्याउन सकिन । मैले विश्वास गर्न नसकेपनि उहाँको निधन भएको सत्य थियो, सामाजिक सन्जालभरि उहाँको नाम र तस्बिरहरु राखेर श्रद्धाञ्जलीको शव्दहरु आईरहेका थिए । ति तस्बिर र शव्दमा मैले उहाँलाई पटक पटक सम्झंदै आफुँ संगै कुरा गरेको विगतको पल पल स्मरण गर्न पुगें ।

हुन त मैले स्व. बाबुराम कँडेललाई २०६४ सालको मध्यतिरबाट राम्रोसँग चिन्ने अवसर पाएको हुँ । सल्यानटारको नाम सुनेको भएपनि पुग्ने मौका मिलिरहेको थिएन । जतिवेला जिल्लाकै पहिलो सामुदायिक रेडियोको रुपमा रेडियो धादिङ १०६ मेगाहर्जले आफ्नो प्रशारण शुरु गर्न थाल्यो, त्यतिवेला देखिको चिनजान हो स्व. बाबुराम कडेलसँग । सल्यानटारका एक इमान्दार, कर्तव्यनिष्ट तथा स्थानीय समाजसेवीको रुपमा मैले कँडेललाई चिनेको हुँ । रेडियोको शुरुदेखिनै समाचार संयोजकको रुपमा मैले रेडियोमा काम गर्ने अवसर पाए, त्यतिवेला हामी रेडियोमा स्थानीय स्तरका हरेक गतिविधि तथा विकासका कुरा र सामाजिक विषयबस्तुका विषयमा समाचार प्रश्तुत ग¥थ्यौं । हामी समाचार र अन्य गतिविधिमा सकेसम्म जिल्लाको सबै भु भागलाई समेट्ने कोशिस ग¥थ्यौं, त्यसमा सल्यानटार छुट्ने त कुरै भएन ।

जिल्लाकै मात्र नभएर देशकै एक प्रख्यात टारको परिचित सल्यानटारको उत्पादन मास, तिल, पिडालु गहत लगायतका अन्य कृषि उपज र त्यहाँ रहेको सिंचाई समस्या लगायतका विषयमा हामी खोजी खोजी सामाग्री प्रस्तुत गर्दथ्यौं । त्यस्तो अवस्थामा हामीलाई स्थानीय स्तरबाट राम्रो जानकारी दिनसक्ने सम्पर्क व्यक्तिको आवश्यकता थियो, त्यस्तैमा जोडिनुभएको हो बाबुराम कडेल । खासमा त्यतिबेला भरखर भरखर शुरु भएको रेडियो धादिङ र त्यसले समेट्ने विषयबस्तुप्रतिको चासो र सरोकारले पनि उहासँगको भेट गराएको हो भन्ने लाग्दछ । सायद उहाले नै रेडियोमा सम्पर्क बढाउनुभएको हो । ‘समुदायको लागि समुदायको आवाज’ नाराले जोडेको हो उहाँसँग । त्यसमाथि पनि हामीले रेडियोबाट स्थानीय स्तरका गतिविधि र विकासका विषय हामीले खोजी खोजीकन प्रस्तुत गर्न थाल्यौं । अनि समुदाय स्तरबाट पनि रेडियो प्रतिको रुची र चासो बढायो अनि स्थानीय स्तरमा मानिसहरुलाई रेडियोसँग जोडिन सहज बन्यो ।

हामी हरेक दिनजसो समाचारका गतिविधि खोज्ने क्रममा सल्यानटारका कुरा पनि खोज्थ्यौं । तर हामी भन्दा अगाडि नै सल्यानटारबाट त्यतिबेला बाबुराम कँडेलले रेडियोमा फोन गरी सल्यानटार र आसपासका स्थानीय गतिविधि तथा विकासका गतिविधि (चाहे त्यो कृषिका कुरा, बनका कुरा स्वास्थ्यका कुरा मात्र नभएर शिक्षा, वातावरण, महिला लगायत हरेक विषयमा) समय समयमा जानकारी गराउने गर्नुहुन्थ्यो । एक हिसावले भन्नुपर्दा बाबुराम कँडेल रेडियो धादिङको एक असल श्रोत मात्र नभएर मार्गदर्शक नै हुनुहुन्थ्यो त्यतिबेला । रेडियोबाट बज्ने हरेक समाचार नछुटाई सुन्ने गर्नुहुन्थ्यो उहाँ, त्यतिमात्र होइन, रेडियोका हरेक कार्यक्रममा उहाको रुची भएको कुरा उहाले भेटमा भन्नुभएको थियो ।

समाचार संयोजकको जिम्मेवारीमा रहेको नाताले पनि रेडियोमा उहाँसँग प्राय मैले नै व्यक्तिगत रुपमा धेरै भलाकुसारी गर्ने गर्दथे । रेडियोमा काम गरेको लामो समय सम्म पनि उहाँसँग मेरो भेट हुन सकिरहेको थिएन । फोनमा मात्र कुराकानी हुन्थ्यो । रेडियोमा फोन गर्दा पनि उहाले मलाई नै खोज्नुहुन्थ्यो । साथीहरुले सल्यानटारबाट बाबुराम सरको फोन छ भनेपछि म उहाँसँग फोनमा कुराकानी गर्ने गर्दथे । एकदिन कुराकानीको क्रममा उहाले म सँग भेट गर्न मन छ भन्नुभयो, मैले हुन्छ, कामको क्रममा धादिङबेसी आएको समयमा रेडियोमा आउनुहोस, भेट गरौला भने । एक दिन उहाँ दिउसो आइपुग्नुभएको रहेछ, म रेडियोको कामको क्रममा बाहिर गएको थिए, पछि फर्केर आउँदा रेडियोको बैठक कोठामा एकजना मानिस बसिरहनुभएको थियो, म काममै लागे पछि साथीहरुले बाबुराम कडेल सर भेट गर्न आउनुभएको र बैठक कोठामा हुनुहुन्छ भन्नुभयो । त्यसपछि म बैठक कोठामा पुगे । सर्ट पाइन्ट र स्टकोट साथै ढाकाको टोपी लगायतको पहिरनमा मैले उहालाई पहिलो पटक देखेको थिए । पछि पछिको भेटमा पनि उहाँ प्राय यस्तै पहिरनमा देखिनुहुन्थ्यो । मैले आफ्नो परिचय दिए, उहाले पनि आफ्नो परिचय दिनुभयो । त्यसपछि हामी कुराकानी गर्न थाल्यौं । कुराकानीको क्रममा उहाले रेडियो धादिङ सल्यानटार तथा आसपासका ठाउँमा स्थानीयले रुची पूर्वक सुन्ने गरेको सुनाउनुभयो । हुन पनि जिल्लाकै पहिलो सामुदायिक रेडियो, बाहिर जिल्लाका रेडियो प्राय नसुनिने अवस्थामा रेडियो धादिङप्रति स्थानीयको माया बढेकै थियो । उहाले रेडियो धादिङप्रति स्थानीको धारणा देखि सल्यानटारका विकासका गतिविधि लगायतका सारा विषयमा जानकारी गराउनुभयो । केही समय उहाँसँग बस्दा नै मैले उहाँको बारेमा धेरै जान्ने मौका पाए । उहाँमा केही गर्नुपर्छ, समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ, भन्ने भावना थियो ।

त्यसपछि हाम्रो फोनमा कुराकानी हुने क्रम बढ्न थाल्यो । काम विशेषले सल्यानटार जाँदा आउँदा म उहाँको घरमा पनि पुग्ने गर्दथे । उहा पनि धादिङ आउँदा जाँदा मलाई भेट्ने कुराकानी गर्ने गर्नुुहुन्थ्यो । यसरी नै लामो समयसम्म हाम्रो भेटघाट भइरहेको थियो । त्यस्तै क्रममा मैले रेडियो धादिङमा काम गर्न छाडेपछि उहासँगको भेटघाटमा पनि केही कमि हुन थाल्यो । सल्यानटार गएको समयमा त भेटघाट हुने गरेकै थियो तर पहिलेजस्तो भेट हुने क्रम भने घटेको थियो ।

तर अहिले म परदेशमा छु । उहाँसँग भेट नभएको पनि लामो समय वितिसकेकै अवस्थामा उहाँको निधनको खवर पाए । पत्यार नै लागेको छैन कि उहाँ हुनुहुन्न भन्ने सुन्दा तर यो सत्य हो कि उहाको निधन भएको छ, आज १३ औं दिन पनि भइसकेको छ । यस अवस्थामा आज उहाँको सम्झना बाहेक म सँग अरु केही छैन । अझै पनि उहाँको बोली कानमा गुन्जीरहेको छ । धेरै नबोल्ने स्वभाव थियो उहाँको, सरल जीवनशैली, सबैप्रति राम्रो व्यहार गर्ने उहाको बानीको म प्रसंसा गर्दछु । सल्यानटार पुग्ने धेरैलाई उहाँले स्वागत गर्दै गाउँबस्तीको अवस्थाको जानकारी मात्रै गराउनु भएको छैन । भान्सामा जे पाकेको छ त्यो खुवाएर पठाउने गर्नु हुनथ्यो । केही खान नमाने एक गिलास दही, मोही त्यो नभए पानी भने पनि नखुवाई खाली पठाउनुहुन्नथ्यो । फेरी एकपटक स्व. बाबुराम कडेलको मृत आत्माको चीर शान्तिको कामना गर्दछु । साथै दुःखको यस क्षणमा उहाको परिवारजन सबैप्रति धैर्य धारणा गर्ने शक्ति प्राप्त होस भन्दै हार्दिक समवेदना व्यक्त गर्दछु ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *