कार्यकर्तामाथि प्रहरीको दुव्यवहार भएको कांग्रेसको आरोप

683 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नौविसे/ प्रहरीले नेपाली काँग्रेस धादिङका जिल्ला सह सचिव अर्जुन उप्रेती लगायत काँग्रेस कार्यकर्तामाथि कुटपिट गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
धादिङ क्षेत्र नं ३ का नेपाली कांग्रेस प्रत्यक्ष तर्फका उमेद्वार बुद्धलक्ष्मी लामा सहित निर्वाचन प्रचार प्रसारबाट फर्किएका काँग्रेस कार्यकर्तालाई प्रहरीले नौविसेमा अन्धाधुन्ध लाठी प्रहार गरेको थियो । गाडीमा हालेको झण्डा एकाएक च्यात्न थालेपछि त्यसो नगर्न आग्रह गर्दा गाडीमा रहेका सबैमाथि अन्धाधुन्ध लाठी प्रहार गरिएको नेपाली काँग्रेस धादिङ क्षेत्र नं ३ का सभापति जीवनाथ ढकालले बताउनु भयो । प्रहरीको लाठीबाट नेपाली काँग्रेस धादिङका सहसचिव अर्जुन उप्रेती लागयत ६ जना घाइते भएका छन् । घाइते मध्ये अर्जुन उप्रेतीको काठमाडौँ स्थित सहिद मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।
नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले प्रहरीले आफ्ना नेता कार्यकर्तामाथि गरिएको दुव्र्यवहार प्रति आपत्ति जनाउँदै घाइतेको उपचार र तत्काल दुव्र्यवहार गर्ने प्रहरीहरु माथि कारवाहीको माग गरेका छन् । उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयवाट स्विकृत नलिई सवारी साधन चलाएको भन्दै त्यस्ता सवारी साधन नियन्त्रणमा लिन निर्वाचन आयोगले गृह मन्त्रालयलाई कडा निर्देशन दिएपछि धादिङमा प्रहरीले अनुमती वेगर चुनाव प्रचारमा प्रयोग गरिएका सवारी साधन संचालनमा रोक लगाउंदै आएको छ ।

धादिङ जिल्लाका अधिकांश दलका उम्मेदवारले गाउं गाउंमा चुनावी अभियान संचालन गरेपनि निर्वाचन अधिकृतको कार्यालयवाट सवारी संचालनको अनुमती नलिई प्रयोग गर्दै आईरहेका छन ।