तिहारको चौथो दिन गोवर्द्धन, गाई गोरु र म्हपूजा

691 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, कात्तिक १८– तिहारको चौथो दिन सोमबार गाई, गोरु र गोवर्द्धन पूजा गरिँदैछ । कतिपय ठाउँमा आइतबार गाई पूजा गरिएपनि तिथिका हिसाबले सोमबार गाईतिहार परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
हिन्दूहरु गाईलाई लक्ष्मीको प्रतीक र गौमाता भनी आमाको रुपमा मान्दछन् । गाई तिहारको दिन गाईलाई सिँगारपटार र पूजाआजा गरी माला लगाई मीठो खानेकुरा खुवाईन्छ । आजै रक्षाबन्धनका दिन बाँधेको डोरोलाई मृत्युपछिको कष्टमय सागरबाट मुक्ति पाउने धार्मिक विश्वासका साथ गाईको पुच्छरमा बाँधिन्छ ।

यस्तै सोमबार गोवद्र्धनपूजा पनि गरिँदैछ । कृषि कार्यसँग विशेष रुपमा सम्बन्ध गाँसिएका गाई, बाच्छा तथा गोरुलाई पूजा गरी रोटी, बाबर, पीठो आदि खानेकुरा खुवाइन्छ । धार्मिक मान्यताअनुसार गोवंशको सुरक्षा एवं वृद्धिका लागि भगवान श्रीकृष्णले घाँसपात र पानीले सम्पन्न गोवद्र्धन पर्वतको पूजा गर्ने परम्परा बसालेको विश्वास लिई आज गोबरबाट गोवद्र्धन पर्वतको प्रतीक बनाएर गाई, गोरु, बाच्छा र पर्वतको पूजा गरिन्छ ।

यस्तै नेवार समुदायमा सोमबार आफ्नो शरीरको पूजा गरी म्हपूजा मनाईंदैछ । यो पूजामा घरका मुलीदेखि केटाकेटीसम्मले मर्यादाक्रम अनुसार एकै ठाउँमा बसेर आफ्नो शरीरको पूजा गर्ने चलन छ ।

म्ह पूजाबाट हरेक व्यक्तिले आफ्नो मनोभावनाबाट आफूलाई चिन्ने र संसारमा आफ्नो महत्वलाई बुझेर मानवकल्याणतर्फ लाग्न अभिप्रेरित गर्ने विश्वास छ । यस पूजामा विशेष प्रकारको धागो, फूल, माला, धूप, फलफूल, मिष्ठान्न लगायत सामग्री संग्रह गरिन्छ ।

पूजा सकिएपछि हाँस वा कुखुराको फुल सहितको सगुन प्रसादका रुपमा वितरण गर्ने चलन रहेको  उज्यालो अनलाईनले खबर लेखेको  छ ।