नेकपा माओवादी मोर्चाको बन्द खुल्यो, जनजीवन सामान्य हुँदै

606 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौं/नेकपा माओवादी लगायतको ३३ दलियको मोर्चाले आह्वान गरेको बन्द आईतवार साँझ ५ बजेपछि खुलेको छ । बन्द खुलेपछि देशभर जनजीवन सामान्य हुँदै छ । आईतवार दिनभर गाडीहरु नचल्दा यात्रुहरु मर्कामा परेका थिए । मङ्सिर ४ गते हुने संविधानसभा चुनाव बहिस्कारको घोषणा गरेको मोर्चाले चुनाव बिथोल्न बन्द गरेको हो । बन्दकर्ताहरुले बन्द सफल बनाउन बिहानैदेखि केही ठाउँमा गाडी तोडफोड गरेका छन् । सरकारले बन्द असफल पार्न सुरक्षा व्यवस्था कडा पारे पनि सुरक्षाकर्मीलाई छल्दै ठाउँ ठाउँमा तोडफोडको घटना भएका थिए । काठमाण्डुको कोटेश्वर नजिकै नागरिक दैनिकको गाडी तोडफोड गरिएको छ । त्यस्तै पोखरामा पनि एउटा ट्याक्सी र मोटरसाइकल तोडफोड गरिएको छ । सरकाले सुरक्षाका लागि नेपाली सेना समेत गस्तिमा पठाएको छ । बन्दका कारण यातायात, बजार, पसल, शिक्षण संस्था ठप्प रहे । दोलखामा अरनिको यातायात सेवा समितिको तीनवटा बसमा आगजनी भएको छ । त्यस्तै भक्तपुरमा शान्ति मन्त्रालयको जीपमा पनि आगजनी भएको छ । गाडीमा लागेको आगो स्थानिय वासिन्दाले निभाएका थिए । प्रहरीले राजधानीका विभिन्न ठाउँबाट जबर्जस्ती यातायात अवरोध गर्ने प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।