धादिङमा निर्वाचनको सम्पूर्ण तयारी पुरा

635 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/ मंसिर ४ गते हुने संविधान सभा निर्वाचको लागि धादिङको ३ नै वटानिर्वाचन क्षेत्रहरुको सम्पूर्ण कामहरु पुरा भइसकेको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत रामकृष्ण अर्यालले वताएका छन ।
मंसिर ४ गतेको निर्वाचनमा धादिङको ३ नै वटै निर्वाचन क्षेत्रबाट कुल १ लाख ७१ हजार ३१ जना मतदाताहरुले आफूलाई पायक पर्ने ठाउँमा मतदान गर्ने कार्यालयले जनाएको छ । निर्वाचनका लागि धादिङ क्षेत्र नं १ मा ६७ वटा बुथमा कुल मतदाताहरु ४३ हजार ५ सय २५, क्षेत्र नं २ मा ९१ वटा बुथमा ६३ हजार ६ सय २३ र क्षेत्र नं ३ मा ९३ वटा बुथमा ६३ हजार ८ सय ८३ गरी कुल १ लाख ७१ हजार ३१ जना मतदाताहरु रहेका छन् । जस मध्ये जिल्लाभरीमा महिला ८५ हजार ९ सय ३५ र पुरुष ८५ हजार ९६ जना रहेको जिल्ला निर्वाचन अधिकारी अर्यालले वताए ।
निर्वाचनका लागि नेपाली सेना, निजामती कर्मचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरीहरुको लागि मतदान गर्न धादिङको निर्वाचन क्षेत्र नं २ र ३ मा गरी ४ वटा अस्थाई मतदान केन्द्रहरुको ब्यबस्था गरिएको छ । जसमा क्षेत्र नं २ मा धादिङबेसी स्थित खुल्लामञ्च र जिल्ला कारागार, क्षेत्र नं ३ मा बागेश्वरी उमावि बैरेनी र आदर्श उमावि गजुरी रहेको छ । निर्वाचन भयरहित र शान्तिपूर्ण बनाउन धादिङको ३ नै वटा निर्वाचन क्षेत्रमा ७ सय नेपाली सेना, ५ सय ५० नेपाल प्रहरी , ५ सय ४९ जना म्यादी प्रहरी खटाईएको छ । त्यसैगरी निर्वाचन वेशक्याम्प खडा गरी धादिङ क्षेत्र नं १ मा ७८, क्षेत्र नं २ मा ७० र क्षेत्र नं ३ मा ७८ जना शसस्त्र प्रहरी परिचालन गरिएको छ । निर्वाचनका समयमा हुन सक्ने अपराधिक क्रियाकलापहरु नियन्त्रण गर्न ठाउं ठाउँमा सुरक्षा गस्तीहरु वढाईएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
धादिङको ३ नै वटा निर्वाचन क्षेत्रहरुमा नेपाल प्रहरी ,नेपालीसेना, शसस्त्र प्रहरी, म्यादी प्रहरीले संयुक्त रुपमा बुथको सुरक्षा गर्ने जिल्ला प्रहरीकार्यालय धादिङका प्रहरी नायव उपरीक्षक अशोक सिंहले वताए ।