मध्यरातबाट मौन अवधि सुरु, चुनाव प्रचार गर्न र मदिरा सेवन गर्न नपाइने ४८ घण्टासम्म नेपालका सम्पूर्ण सीमा नाकाहरु सील हुने

697 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं । दोस्रो संविधानसभाको मतदानका लागि शनिबार मध्यरातिबाट ‘मौन अवघि’ शुरु हुने भएकाले राजनीतिक दलहरुको चुनावी प्रचार-प्रसार गर्ने समय समाप्त भएको छ । निर्वाचन कानून अनुसार अबका ४८ घण्टा कसैले पनि चुनाव-प्रचार गर्न, सीमानामा ओहोर-दोहोर गर्न र मतदान केन्द्र आसपास जाँडरक्सी बिक्री एवं सेवन गर्न पाउँदैनन् । अबको ४८ घण्टा भारत र चीनसँग जोडिएका सीमा नाकाहरुसमेत ‘सील’ गरिनेछन् ।

48-Hour

संविधानसभा सदस्य निर्वाचन निर्देशिका २०७० को बुँदा नं ६६ मा भनिएको छ-’मतदान अधिकृतले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म मतदान केन्द्रको क्षेत्रमा मादक पदार्थ विक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशित गर्नुपर्दछ ।’

त्यसैगरी निर्देशिकाको ६७ नम्बर बुँदामा भनिएको छ-’मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म निर्वाचन क्षेत्रभित्र कसैले कुनै पनि राजनीतिक दल र उम्मेद्वारको पक्षमा वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न वा अन्य कुनै पनि प्रकारले प्रचार-प्रसार गर्न वा गराउन हुँदैन ।’

सञ्चारमाध्यमले समेत मौन बस्नुपर्ने

संविधान सभा सदस्य निर्वाचन आचार संहिता २०७० को बुँदा नं ९३ ले ७२ घण्टे मौन अवधिका विषयमा पत्रपत्रिका लगायतका सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने दायित्वका बारेमा बोलेको छ । आचार संहिताको सो बुँदामा भनिएको छ-’आम सञ्चारले मौन अवधिमा कुनै राजनीतिक दल वा उम्मेद्वारको निर्वाचनको प्रचार प्रसार हुने गरी सूचना वा समाचार सम्प्रेषण, प्रकाशन र प्रशारण गर्नुहुँदैन ।’

आचार संहिताको सोही बुँदामा भनिएको छ, ‘तर, आयोगले प्रवाह गरेको सूचना तथा समाचार सम्प्रेषण, प्रकाशन वा प्रसारण गर्न यस दफले बाधा पुर्‍याएको मानिने छैन ।’

आचार संहितामा मौन अवधि भन्नाले मतदान सुर हुने अघिल्लो दिन ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्मको अवधिलाई मान्नुपर्ने उल्लेख गरिएको छ ।

मौन अवधिमै बढी चलखेल

चुनावको मौन अवधि सुरु भए पनि यही अवधिमा नेपालजस्तो अविकसित देहहरुको निर्वाचनमा बढ्ता चलखेल हुने गर्दछ । मौन अवधिमा पनि मतदातालाई प्रभावित पार्न र प्रलोभन बाँड्न विभिन्न दलका नेता एवं उम्मेद्वारहरु सक्रिय हुने गर्दछन् । यही कारणले यो अवधिमा विपक्षी दलका कार्यकर्ताले अन्य दलका कार्यकर्ताको कडा निगरानी गर्ने र सुरक्षा निकाय पनि आचार संहिताविपरीत कार्य नहोस् भनेर सजग हुनुपर्ने बेला हो ।

जनतामा त्रास

उता निर्वाचनको मौन अवधि शुरु हुन लागेका बेला वैद्य माओवादीले काठमाडौंको शतुंगलमा यात्रु बसमाथि बिभत्स बम हमला गरेर नागरिकमाथि आतंक र भयको सिर्जना गरेको छ । सरकारले सुरक्षा व्यवस्था राम्रो रहेको बताइरहेका बेला राजधानीमै भएको यस्तो विभत्स घटनाले निर्वाचनमा भयको वातावरण सिर्जना गरेको छ ।

 अनलाइन खबर डट कम बाट