‘यो पटकको चुनाव निष्पक्ष र विश्वसनीय’

643 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, / चुनावको पर्यवेक्षणका लागि आएका संघसंस्थाले भने यो पटकको संविधानसभा चुनाव निष्पक्ष र विश्वसनीय रुपमा भएको बताएका छन् ।

पर्यवेक्षणपछि बिहीबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै एसियन नेटवर्क फर फ्रि इलेक्सन एन्फरेलले चुनाव समग्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको हो ।

एन्फरेलले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै चुनावमा केही स्थानमा सामान्य आचारसंहिता उलंघनका घटना र कमीकमजोरी भएपनि चुनाव शान्तिपूर्ण रुपमा भएको जनाएको हो ।

एन्फरेलले केही स्थानमा चुनावका लागि बनाइएका बुथहरु गोप्य नभएको, मतदाताको नङमा राम्रोसँग मसी नलगाएको, बुथ बन्द गर्ने प्रक्रियामा कमजोरी भएको साथै प्रयोग नभएका मतपेटिका नष्ट गर्ने काम नभएको बताएको छ ।

चुनावका दिन खटिएका कुनै पनि कर्मचारीलाई डर धम्की नआएको भन्दै एन्फरेलले खुसी समेत व्यक्त गरेको छ ।  चुनाव पर्यवेक्षणका लागि एन्फरेलले  २२ देशका पर्यवेक्षकलाई ५ विकास क्षेत्रमा खटाएको थियो ।

यस्तै, चुनावको पर्यवेक्षणका लागि आउनुभएका अमेरिकी पुर्व राष्ट्रपति जिम्मी कार्टरले यसपटकको चुनाव राम्रो ढंगले सम्पन्न भएको बताउनुभएको छ । कार्टर सेण्टरका प्रमुख समेत रहेका कार्टरले आज पत्रकार सम्मेलन गरी चुनाव राम्रो तरिकाले सम्पन्न भएको बताउनुभएको हो । उहाँले एकीकृत नेकपा माओवादीले चुनावी परिणाम वहिष्कार गर्ने निर्णयले आफुलाई दुखी बनाएको बताउनुभयो ।

चुनावमा हारजित हुने भन्दै कार्टरले त्यसलाई सामान्य रुपमा लिनुपर्ने र हिंसात्मक विरोध गर्न नहुनेमा जोड दिनुभयो । मतदानका क्रममा मतदातामा देखिएको उत्साहलाई राजनीतिक दलले दलगत स्वार्थमा नभई नयां संविधान निर्माणमा खर्च गर्नुपर्ने कार्टरको सुझाव छ ।

-उज्यालो अनलाइन