धादिङमा समानुपातिकमा १६ दललाई शुन्य मत

482 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/समानुपातिक तर्फको मत परिणाममा धादिङ जिल्लामा तीन वटै निर्वाचन क्षेत्रमा गरी १६ वटा दलले एक मत पनि पाउन सकेनन ।
जिल्लामा संगठन रहेका ठुला दलहरुमात्र होइन साना दलले पनि समानुपातिक तर्फको मत पाउन गाउँ गाउंमा प्रचार प्रसार अभियानलाई तिव्र पारेपनि नामै नसुनिएका दलले समेत यस पटक समानुपातिक तर्फ मत पाएका छन । केही दलले भने एक मत पनि पाएका छैनन । प्रमुख ३ दलले भने जिल्लावाट पाएको समानुपातिक मत सन्तोषजनकनै रहेको छ । जस अनुसार नेकपा एमालेले ४७ हजार ५ सय ७,नेपाली कांग्रेसले ३३ हजार ६७,एकीकृत नेकपा माओवादी २८ हजार ८ सय ५१ मत पाएका छन ।
जिल्लाको तीनवटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा समानुपातिक तर्फ नव नेपाल निर्माण पार्टी,सोसल रिपव्लिकन पार्टी,राष्ट्रिय जन विकास पार्टी र नेपाल समाजवादी पार्टी (लोहियावादी) गरी चारवटा दलले एक मत पनि नपाएका हुन । त्यसैगरी क्षेत्र नम्बर २ जनता पार्टी नेपाल,सोसल रिपव्लिकन पार्टी,राष्ट्रिय जन विकास पार्टी,श्रमिक जनता पार्टी र तराई पहाड हिमाल समाज पार्टीले पनि धादिङवाट समानुपातिकमा एक मत पनि पाउन सकेनन । क्षेत्र नम्बर ३ मा भने समानुपातिकमा एक मत पनि नपाउने दलको संख्या सात रहेको छ । यस क्षेत्रमा एक मत पनि नपाउने दलहरुमा जनता दल युनाईटेड,जनतान्त्रिक तराई मधेश मुक्ति टाईगर्स,राष्ट्रिय मधेश एकता पार्टी,मधेशी जनअधिकार फोरम (मधेश),तराई पहाड हिमाल समाज पार्टी,राष्ट्रिय लोतकान्त्रिक युवा पार्टी र नेपाल शान्ति क्षेत्र परिषद रहेका छन ।
धादिङ जिल्लामा संगठन भएका सानादलहरु मध्ये राप्रपाले ७ हजार २ सय ३८,राप्रपा नेपालले २ हजार ९ सय ५६,नेकपा मालेले २ हजार २२,जनजागरण पार्टी नेपालले १ हजार ९, संघिय गणतान्त्रिक समाजवादी पार्टी नेपाल ६ सय २०,अखण्ड नेपाल पार्टी १ सय ६५, जनमोर्चा नेपालले १ सय ३०,राष्ट्रिय जनमोर्चा नेपालले १ सय २९, नेपाल कम्युनिष्ट पार्टीले ८३,सहकारी पार्टीले ६१ मत प्राप्त गरेका छन ।