पूँजी संकलनका लागि ५ कम्पनीसँग संझौता

699 पटक पढिएको

सम्पादक: Dhadingnews.com

भानुभक्त आचार्य
हेटौंडा,/नेपाल पूर्वाधार विकास कम्पनी लिले सुरुङमार्ग निर्माणका लागि पूँजी संकलन गर्न ५ वटा कम्पनीसँग संझौता गरेको छ । निजी लगानीमा पूर्वाधारको निर्माण गरी समृद्ध एवं सम्पन्न राष्ट्र निर्माण गर्ने उदेश्यले कम्पनीले बहुचर्चित काठमाडौ–कुलेखानी–हेटौडा सुरुङमार्ग निर्माणकार्य प्रारम्भ गरिसकेको छ ।
परियोजनाको लागि आवश्यक पूँजीको व्यवस्था गर्नका लागि कम्पनीले मर्चेन्टबैङ्कहरुलाई पूँजी संकलन प्रवन्धक नियुक्ति गरेको कंपनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिए । नागरीक लगानी कोष, नविल इन्भेष्टमेन्ट बैकिङ लि., भिबोर क्यापिटल लि., एनएमबि क्यापिटल लि. र एनसीएम क्यापिटल लिसँग आईतबार सम्झौता भएको हो । संयोजकको रुपमा कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिलाई नियुक्त गरिएको अध्यक्ष जोशीले सोमबार जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
यी कम्पनीले नेपाल भित्र तथा विदेशमा बसोबास गर्दै आएका नेपाली ब्यक्ति तथा कम्पनीसँग ब्यक्तिगत सम्बन्धका आधारमा नेपाल पूर्वाधार विकास कम्पनीको संस्थापक शेयरमा लगानी जुटाउने काम गर्ने बताईएको छ । कम्पनीको कार्य दक्षता, अनुभव, जनसम्पर्क, प्राविधिक पक्ष सवल एवं सम्पन्न भएको हुनाले यी कम्पनीलाई पूँजी संकलन गर्न चयन गरिएको बिज्ञप्तीमा भनिएको छ । साधारण शेयर निष्काशनसम्म ५ वटै कम्पनीहरु नेपाल पूर्वाधार विकास कम्पनीमा संलग्न रहने छन् ।
नेपाल पूर्वाधार विकास कम्पनीले जारी पूँजी १८ अर्व रुपैयाँमध्ये १६ अर्वको साधारण शेयर जारी गर्ने छ भने २ अर्वको अग्राधिकार शेयर जारी गरिसकेको बताइएको छ । पूँजी संकलन प्रवन्धकहरुले जारी पूँजीको ६० प्रतिशत रकम संकलन गर्नका लागि उनीहरुले पूँजीको श्रोतको पहिचान गरी बजार प्रवद्र्धन गर्ने, पूँजी संकलन र व्यवस्थापनको काम समेत गर्ने छन् । नेपाल पूर्वाधार विकास कम्पनीले लगानी कर्ताको चाहनालाई मध्यनजर गर्दै लगानी गर्न प्रतिज्ञा गरेको शेयर रकमलाई ३ किस्तामा बुझाउन सक्ने व्यवस्था मिलाएको जनाएको छ ।