ब्रुसवाङको चेपाङबस्तीमा सोलार झलल

531 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बु्रसबाङ(धादिङ)÷ धादिङ जिल्लाको दक्षिणी भेगको सबैभन्दा विकटमा रहेको ब्रुसवाङ गाउंका सबै घरमासोलार जडान गरिएको छ । घरमा सोलार जडान गरिएको खुसीयालीमा आईतवार रातैभरी ब्रुसवाङवासीले गित गाएर रमाईलो मनाएका छन ।
धादिङको महादेवस्थान गाविसको वडा नम्बर ३ मा पर्ने बु्रसवाङ गाउं दक्षिणी धादिङको सबैभन्दा विकटको बस्ती हो । चेपाङको मात्र वसोवास रहेको यहां २६ घर परिवारबस्दै आईरहेका छन । विकटमा रहेको बस्ती भएकै कारण खानेपानी,शिक्षा,स्वास्थ्य तथा अन्य आधारभुत अधिकार उपभोग गर्नवाट बञ्चित रहंदै आएका ब्रुसवाङका चेपाङ समुदायले घरमा सोलार जडेर उज्यालोमा वस्न पाएकोमा खुसीयाली मनाएका हुन । खुसीयाली मनाउंदै चेपाङहरुले गित मार्फत खुसी व्यक्त गरेका थिए ।
खानेकुराको अभावले बर्षको ९ महिना जंगली कन्दमुल, गिठ्ठा,भ्याकुर,सिस्नुको साग र खोलेखाएर जिवन निर्वाह गर्दै आईरहेका ब्रुसबाङको २६ वटै घरमा आईतवारदेखि सोलार बल्न थालेको हो । धादिङ जिल्लामा कामगर्दै आईरहेको गैर सरकारी संस्था शान्ति नेपालको पहलमा सांझ विहान उज्यालोमा बस्ने ब्रुसवाङवासीको बर्षौदेखिको सपना साकार भएको हो ।
शान्ति नेपालको सक्रियतामा बैकल्पिक उज्यालो सोलार कम्पनीले ब्रुसबाङका विपन्न चेपाङ परिवारको लागि सहुलियतमा २६ थान सोलार प्यानल उपलव्ध गराएको हो । आईतवार ब्रुसबाङ पुगेको प्राविधिक सहितको टोलीले सोलार जडान गरेर गाउंवासीको मुहारमा खुसी भरिदिएको हो । सोलार जडानका लागि उपभोक्ताको तर्फवाट प्रत्येक घरले ५ सय सोलार प्यानल जडानका लागि समुदायको तर्फवाट प्रति प्यानल ५ सय र वैकल्पिक उज्यालो सोलार कम्पनी धादिङले प्रति प्यानल १ हजार अनुदान र शान्ति नेपालले चार हजार पांच सय रुपैया लगानी गरेको शान्ति नेपालका कार्यकारी निर्देशक कृष्णमान शाक्यले वताए ।
आईतवार जिल्ला विकास समिति धादिङका सामाजिक विकास अधिकृत विनोद अर्यालले छोटीमाया चेपाङको घरमा जडान गरिएको सोलारको स्विच अन गरेर ब्रुसवाङलाई उज्यालो पार्ने कार्यक्रमको उदघाटन गरेका थिए ।