संस्कृत बिद्यालय चलाउन दैनिक मुठ्ठीदान

680 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङ/ धादिङको मलेखुमा स्थापना गरिएको भद्रकाली गुरुकुल संस्कृत वेदबिद्याश्रम संचालनका लागि आर्थिक अभाव वढ्दै गएपछि धान्याञ्चल कार्यक्रममको आयोजना गरी एक सय २ मुरी धान संकलन गरिएको छ । DSC02162 DSC02225
धान्यपूर्णिमाको अवसर पारेर मंगलवार भद्रकाली सामुदायिक विकास समाज मलेखुले भद्रकाली मन्दिर परिसरमा एक दिने धान्यान्चल कार्यक्रमको आयोजना गरेको थियो । संस्कृत भाषा र कर्मकाण्डको पढाई हुंदै आईरहेको जिल्लाकै एकमात्र संस्कृत बेदबिद्याश्रम ‘भद्रकाली गुरुकुल’ संचालनका लागि आर्थिक श्रोत जुटाउन आयोजना गरिएको धान्याञ्चल कार्यक्रममा धादिङ जिल्लावाट निर्वाचित तीनजना सभासद र शिक्षा मन्त्रालयका प्रवक्ता रोजनाथ कंडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित सभासदहरु राजेन्द्रप्रसाद पाण्डे,गुरुप्रसाद बुर्लाकोटी र धनवहादुर घलेका साथै शिक्षा मन्त्रालयका प्रवक्ता कंडेलले भद्रकाली गुरुकुल संस्कृत पाठशालालाई सरकारी मान्यताको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
संस्कृत भाषा र कर्मकाण्डीय शिक्षा लोप हुनवाट बचाउन २०६७ सालको गुरुपूर्णिमावाट शुरु गरिएको भद्रकाली गुरुकुल संस्कृत वेदबिद्याश्रम संचालनका लागि स्थानीयवासीवाट दैनिक मुठ्ठीदान गरी संकलन गरिएको चामललाई मुख्य श्रोतका रुपमा लिईएको बिद्याश्रमले जनाएको छ । मंगलवार आयोजित धान्याञ्चल कार्यक्रममा जिल्लाको मलेखु,गजुरी,महादेवस्थान लगायत विभिन्न स्थानका दाताहरुले धानदान गरेका थिए ।
दशजनाले नियमित अध्ययन गरीरहेको बिद्याश्रम संचालनका लागि आर्थिक संकट बढ्दै गएपछि धान्यान्चल कार्यक्रमको आयोजना गर्नुपरेको भद्रकाली सामुदायिक विकास समाजका अध्यक्ष एकराज पाण्डेले वताए । दैनिक मुठ्ठीदानवाट चलिरहेको पाठशालालाई आगामी बर्षदेखी स्तरन्नोती गर्दै बिद्यार्थीसंख्या थप्ने योजना रहेको पनि पाण्डेले वताए ।
मलेखुको भद्रकाली मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र वनाउने लक्ष्यका साथ भद्रकाली समाजले तीनवटा मन्दिर निर्माण गरी नियमित पुजापाठ र मेला लगाउंदै आईहरहेको छ । त्रिशूली नदी,थोपल र मलेखुखोलाको संगमस्थल रहेको भद्रकाली क्षेत्रलाई त्रिवेणीधामको रुपमा समेत चिनिन्छ । यहां बडाभद्रकाली,पातालेश्वर महादेव र राधाकृष्ण मन्दिर निर्माण गरिएको छ । साथै ५० जना बृद्धबृद्धा राख्न सकिने बृद्धाश्रमको समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष पाण्डेले वताउंछन ।