एसएलसीमा ७३ जिल्लाका होम सेन्टर हटाइने

542 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 भक्तपुर, पुस ३ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यसवर्षको एसएलसी (प्रवेशिका) परीक्षामा होम सेन्टर हटाउने भएको छ ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिदै गतवर्षसम्म ६२ जिल्लाबाट हटाईएको होम सेन्टर यसवर्ष ७३  जिल्लाबाट हटाउने गरि कार्य भईरहेको बताउनुभयो ।

मनाङ्ग र मुस्ताङ्गमा विद्यार्थीको संख्या थोरै भएको र अन्यत्र सेन्टर राख्न विद्यालय नभएकाले यी दुई जिल्ला बाहेक यसवर्ष अन्य जिल्लाबाट होम सेन्टर हटाउने गरी जिल्ला शिक्षा कार्यालयहरुलाई सर्कुलर जारी गरेअनुसार काम भईरहेको उहाँले बताउनुभयो । होम सेन्टर हटाउँदा नतिजा राम्रो आएको, विद्यार्थी र अभिभावकलाई पढ्नु पर्छ भन्ने लागेको र शिक्षकलाई समेत मर्यादित बनाएको उहाँले बताउनुभयो ।

कार्यालयले गतवर्ष एक हजार ९ सयवटा परीक्षा केन्द्र निर्धारण गरेकोमा यसवर्ष परीक्षा केन्द्रसमेत घटाउने गरि कार्य भएको जनाएको छ । कार्यालयले यसपटक परीक्षालाई मर्यादित, चुस्त बनाउन आचार संहिता समेत जारी गर्ने भएको छ । उहाँले आचार संहिता निर्माणको तयारी भईरहेको जानकारी दिदै आचार संहिता कडाईका साथ लागू गर्ने बताउनुभयो ।

परीक्षाको तयारी तिब्र रुपमा भईरहेको वानकारी दिदै उहाँले उत्तर पुस्तिका छपाई कार्य भईरहेको र यसवर्ष विगत वर्ष भन्दा छिटो उत्तर पुस्तिका र अन्य सामाग्री जिल्ला जिल्ला पठाई सक्ने बताउनुभयो । त्यसैगरि माघ महिनामा जनक शिक्षामा प्रश्नपत्र छपाईका लागि तयारी भईरहेको जानकारी दिदै परीक्षा नियन्त्रक द्धारेले यसवर्ष करिब ६ लाख विद्यार्थी परीक्षामा सहभागी हुने अनुमान गरिएको बताउनुभयो । यसवर्ष परीक्षा चैत ६ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने छ ।

-रमेश गिरी/उज्यालो