कक्षा १०को टेस्ट परीक्षा लिन नपाइने-एसएलसी सेन्टअप नियमविपरीत

624 पटक पढिएको

सम्पादक: Dhadingnews.com

निजी विद्यालय सञ्चालकहरुले सेन्ट अप टेष्टको रुपमा कक्षा दशका विद्यार्थीसंग परीक्षा नलिने भएका छन्। शिक्षा विभागमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले परीक्षा लिन नपाउने निर्णय गरेको आजका पत्रपत्रिकमामा खबर छापिएको छ। विभागका महानिर्देशक लवदेव अवस्थीको अध्यक्षतामा बसेको वैठकमा सहभागी निजी विद्यालयका सञ्चालकहरु टेष्ट परीक्षा नलिन सहमत भएका छन्।
बैठकमा भएको सहमतिसंगै निजी विद्यालय सञ्चालकहरुको एउटा संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आफ्नो सदस्य विद्यालयका विद्यार्थीलाई माघ ५ गतेदेखि सञ्चालन गर्ने भनिएको परीक्षा स्थगित हुने भएको छ। तर एसएलसी परीक्षा दिनुअघि विद्यार्थीको क्षमता परीक्षण गर्न विद्यालयहरुले छुट्टाछुट्टै रुपमा भने परीक्षा लिन पाउने सहमति भएको महानिर्देशक अवस्थीले बताए।
कक्षा दशमा पढ्दा विद्यालयमा ७५ प्रतिशत हाजिर भएका विद्यार्थीलाई स्वत प्रवेशिका (एसएलसी) परीक्षामा सहभागी गराउनुपर्ने शिक्षा नियमावलीको व्यवस्था मिच्दै निजी विद्यालय सञ्चालकहरुले परीक्षा लिने निर्णय गरेका थिए। सरकारले दुई वर्षअघि शिक्षा नियमावलीलाई संशोधन गरेर विद्यार्थीलाई कक्षा दशमा परीक्षा लिने वा परीक्षामा अनुत्तिर्ण गराएर एसएलसीमा सहभागी हुनबाट बञ्चित गर्न नपाइने व्यवस्था गरेको थियो।
प्याब्सनका वरिष्ष्ठ उपाध्यक्ष लक्ष्यबहादुर केसीले परीक्षा लिन नपाइने व्यवस्था भएपछि विद्यार्थीमा अध्ययन गर्ने बानी नै हटेकोले परीक्षा लिन लागिएको बताए। उनले भने ‘ बाहिर प्रचारप्रसार भए जसरी हामीले टेष्ट परीक्षा लिन लागेका होइनौं। विद्यालयहरुले आफूलाई सहज हुनेगरी आन्तरिक परीक्षा लिन्छन्।’
विद्यालय सञ्चालकहरुले परीक्षा शुल्कको नाममा विद्यार्थीसँग उठाइने रकमलाई समेत आम्दानीको स्रोत बनाउँदै आएका छन्। दश कक्षा पढेका विद्यार्थीलाई सहजै एसएलसीमा सहभागी गराउने योजना अनुसार सरकारले शिक्षा नियमावली संशोधन गरेर नयाँ व्यवस्था गरेको थियो।
तर निजी विद्यालय सञ्चालकहरुले एसएलसीमा सहभागी विद्यार्थी संख्याको आधारमा उत्तीर्ण प्रतिशत धेरै देखाउने बहानामा कमजोर विद्यार्थीलाई दश कक्षामा नै अनुत्तिर्ण गराउँदै आएका छन्।अन्नपूर्णमा खबर छ।