आमाले छाडेपछि तीन बालबालिकाको यस्तो बिचल्ली

534 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी

बैरेनी(धादिङ), पुस ८ – बुबासँगको झगडामा आमाले घर छाडेर हिडेपछि धादिङ बैरेनी ९ माझीखेतका तीन बालबालिकाको बिचल्ली भएको छ ।

श्रीमान बलराम भण्डारीसंग मनमुटाव बढेपछि शुरुमा माइत गएकी सुशीला तीन सन्तान छाडेर दुई बर्षदेखि वेखवर बनेपछि ८ बर्षकी अनुशा, ६ बर्षकी मनिषा र ४ बर्षका मनिषको बिचल्ली भएको हो ।

धादिङकै केवलपुर गाविस माइती भएकी सुशिला अहिले काठमाडौमा बस्ने गरेको जानकारहरु बताउँछन् । तर उनी छोराछोरी सम्झेर घर आएकी छैनन् । लालनपालन गर्नुपर्ने बुबा बलराम ज्याला मजदुरीका लागि हिड्नुपर्ने भएकाले तीन जना बच्चाको बिचल्ली भएको हो । ‘बा आमाको दिनदिनै झगडा हुन्थ्यो, यस्तै झगडा हुँदा एक दिन आमा मामाघर जानुभयो, त्यसपछि फर्केर आउनुभएको छैन’ ८ वर्षकी अनुशाले भनिन् ‘आमा नभएपछि बहिनी र भाइलाई मैले नै हेर्नुपर्छ ।’

स्थानीय अम्लेश्वर प्राविमा २ कक्षामा पढ्ने अनुशा र १ कक्षामा पढ्ने मनिषाको पढाइ आमाले छाडेदेखि नियमित हुन नसकेको प्रधानाध्यापक सुमधर खनालले बताउनुभयो । पढाई नरोकियोस् भनेर बिद्यालयले कापी कलम सहयोग गरेको भएपनि धेरैजसो दिनमा उनीहरु समयमा खाना खान नपाएर बिद्यालय नआएको प्रधानाध्यापक खनालले बताउनुभयो ।

मुटु छुने चिसोमा समेत पुरानो भइसकेको एकसरो पातलो कपडाको भरमा दिन काट्ने बालबालिकालाई देखेर छिमेकीहरुले कहिलेकाँही खानेकुरा दिएपनि वाबु घर नआएको दिन उनीहरु भोकै सुत्ने गरेका छन् । उनीहरुलाई खाना पकाएर खुवाउने कोही छैन न आफै पकाउन सक्छन् । ‘घरमा चामल भएपनि पानी बोकेर ल्याउन र भात पकाउन सक्दिन, बुवा कहिले कता कहिले पुग्नुहुन्छ’ अनुशाले भनिन् ।

घर छोडेर जाँदा श्रीमतीले सुनका गरगहना, तिलहरी, झुम्का, पाउजु, मुन्द्री र फुली समेत लिएर गएपछि घर न घाटको भएको वलरामले बताउनुभयो । ‘ज्याला मजदुरी गरेर भएपनि उसले भनेको गरगहना जोडिदिएको थिएँ, गहना जोडेपछि आफ्नै कोखवाट जन्मेका सन्तानलाई छाडेर हिँडी’ बलरामले दुखेसो गर्नुभयो ‘छोराछोरीको माया लाग्छ भनेर घरमै बसौं खान पाइदैन, काम गर्न गयो छोराछोरी भोकै पर्छन् ।’

सानै उमेरमा वाबुआमा गुमाएका वलराम आफ्नो पुख्र्यौली गाउँवाट केही तल आएर बस्नुभएको छ । आफन्तहरु समेत कोही नभएकाले छोराछोरीको लालनपालनमा समस्या भएको छिमेकीहरु बताउँछन् । एकान्तमा घर भएकाले हम्मेसी जो कोही बलरामको घरमा पुग्दैनन् ।

जिल्लामा बालबालिकाका पक्षमा काम गर्ने गैरसरकारी संस्था र राज्यको तर्फवाट यी बालबालिकालाई केही सहयोग जुट्न सके उनीहरुको संरक्षण र पढाई निरन्तर हुन सक्ने अम्लेश्वर प्राविका प्रधानाध्यापक खनाल बताउनुहुन्छ ।

उज्यालो अनलाईन