ब्रुसवाङका चेपाङलाई खाद्यान्न सहयोग

593 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ-खाद्यान्न अभाव झेल्दै आईरहेका धादिङको महादेवस्थान गाविसको ब्रुसवाङका चेपाङहरुलाई खाद्यान्न तथा लत्ता कपडा बितरण गरिएको छ । SAM_0492 SAM_0505
धादिङवाट पोखरा गई विभिन्न पेशा व्यवसायमा संगल्न हुंदै आईरहेका धादिङबासीहरुको संस्था धादिङ पोखरा सम्पर्क समितिले शुक्रवार महादेवस्थान गाविसको ताल्ति पुगेर ब्रुसबाङका २६ घरपरिवार चेपाङहरुलाई खाद्यान्न,लत्ता कपडा ,वाल वालिकालाई बिद्यालय पोशाक र शैक्षिक सामाग्री बितरण गरेको हो ।
घरमा खानेकुरा सकिएका कारण चेपाङ परिवार भोकैबस्नु परेको समाचार वाहिर आएपछि संस्थाले यहांका २६ घरपरिवारलाई प्रति घर ३० केजी चामल, दुई केजी दाल, एक लिटर खानेतेल,एक प्याकेट धुलोनुनका साथै जाडोमा लगाउने कपडाहरु उपलव्ध गराएको हो । संस्थाका अध्यक्ष बलराम खतिवडाको नेत्तृत्वमा आएको टोलीले चेपाङ परिवारलाई खाद्यान्न तथा लत्ताकपडा र ४५ जना वालवालिकालाई पोशाक र शैक्षिक सामाग्री बितरण गरेको थियो । सहयोग लिनका लागि गाउं देखि पांच घण्टा पैदल यात्रा गरेर काखमा छोरा छोरी वोकेर चेपाङ अभिभावकहरु ताल्ति आईपुगेका थिए । गाउं नजिकै बिद्यालय नभएका कारण ब्रुसबाङमा स्वयंसेवी शिक्षिका मार्फत शिशुकक्षा संचालन गरिएको छ ।
महादेवस्थान गाविसको वडा नम्बर ३ मा पर्ने ब्रुसबाङ धादिङ जिल्लाको दक्षिणी भेगमा पर्ने सबैभन्दा बिकटको चेपाङ बस्ती हो । ब्रुसवाङमा खाद्यान्नका रुपमा माघ महिनामा छरेको मकै असोज कात्तिक महिनामा मात्र पाक्ने गर्दछ । उव्जाउ कम हुने भएकाले मकैले तीन महिना पनि खान नपुग्ने भएपछि यहां बर्षको ९ महिना खाद्यान्न संकट हुने गर्दछ । अन्नको अभावमा यहांका चेपाङले जंगलीकन्दमुल,सिस्नुको मुण्टा खाएर महिनौ दिन सम्म प्राण धान्ने गर्दछन । खाद्यान्न संगै यहां खानेपानीको पनि निकै दुःख रहेको छ । गाउं देखि तीन घण्टा टाढा रहेको कुवाबाट वोकेर ल्याएको पानी पिउनुपर्ने वाध्यता गाउंवासीमा रहेको छ ।