चिसोका कारण विरामीको चाप बढ्यो

697 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२५ पुस- चिसोका कारण देशैभरीको जनजिवन कष्टकर वन्दैगईरहेको बेला धादिङका अस्पताल र स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढ्न थालेको छ । DSC02394
सदरमुकाममा रहेको जिल्ला अस्पतालमा श्वास प्रश्वास,दम खोकी,प्रेसर,निमोनिया जस्ता समस्या लिएर दैनिक एक सयको हाराहारीमा विरामी उपचारका लागि आउने गरेका छन । अस्पतालको विरामी दर्ता अभिलेख अनुसार यो हप्ताको पहिलो दिन आईतवार १ सय ५२,सोमवार १ सय २,मंगलवार १ सय ३ र बुधवार तीन वजे सम्म ९८ जना विरामी उपचारका लागि अस्पताल आएको अस्पतालको अभिलेखमा देखिएको छ ।
धादिङ जिल्ला अस्पताल आकस्मिक शाखाका चिकित्सक ( स्वास्थ्य अधिकृत) कृष्णलाल उप्रेतीका अनुसार जिल्ला अस्पतालमा उपचारका लागि आएका मध्ये ८० प्रतिशत चिसोका कारण विरामी भएकाहरु रहेका छन । चिसोवाट वालवालिका र जेष्ठनागरिकहरु बढी प्रभावित हुने गरेको उप्रेती वताउंछन ।
जिल्ला अस्पताल वाहेक जिल्लाका अन्य निजी तथा सरकारी स्वास्थ्य केन्द्रहरुमा पनि विरामीको संख्या बढ्दै गएको वताईएको छ । चिसो बढ्दै जांदा धादिङको दक्षिणी तथा उत्तरी भेगको विकटका बस्तीमा वसोवास गर्ने वासिन्दा पनि नराम्रोसंग प्रभावित हुन पुगेका छन । दक्षिणी धादिङको उच्च भेगका गाउंबस्तीमा बसोवास गर्दै आईरहेका चेपाङहरु ओढ्ने, ओछ्याउने नहुंदा अगेनामा आगोवालेर रातकाट्न वाध्य भएको नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले वताए ।
चिसोका कारण जिल्लामा प्रभावित हुने चेपाङको संख्या १० हजार भन्दा बढी रहेको छ । करिव १८ हजार चेपाङको वसोवास रहेको धादिङ जिल्लाका अधिकांश चेपाङ भुमिहिन र एउटा घर समेत गतिलो नभएका कारण चिसोमा निकै प्रभावित हुने गरेको अध्यक्ष चेपाङ बताउंछन । चेपाङ संगै ग्रामीण भेगका अन्य समुदायका जेष्ठ नागरिकहरु पनि न्यानो कपडाको अभावले कष्ट सहन वाध्य हुने गरेका छन । बिशेष गरी दलित,तामाङ समुदायका वालवालिका ,महिला र जेष्ठ नागरिकहरु चिसोका कारण विरामी पर्नेक्रम बढ्दै गएको भएपनि न्यानो कपडा र पोषिलो खानेकुराको अभावले गर्दा उनिहरु झनै समस्यामा परेको कार्कीडांडाका स्वास्थ्यकर्मी वलराम रम्तेल वताउंछन ।
महादेवस्थान गाविसको वडा नम्बर ३ ब्रुसवाङमा रहेको वालकक्षा चिसोका कारण केही दिनका लागि वन्द गरिएको स्वयमसेविका सरिता गुरुङले वताईन । अधिकांश चेपाङ वालवालिकासंग एकसरो लगाउने कपडा समेत राम्रो नभएकाले उनिहरु चिसोबाट प्रभावित भई विरामी पर्न थालेपछि पढाई रोक्नुपरेको सरिताले वताईन । चिसो बढेसंगै वजारक्षेत्रका चोक चोकमा सांझ विहान आगोवालेर ताप्नेहरुको संख्या पनि बढ्न थालेको छ ।