नौबीसे–नागढुङ्गा सडक मर्मतमा तीव्रता

534 पटक पढिएको

सम्पादक: Dhadingnews.com

– सडक मर्मतकै लागि तेस्रोपटक निरीक्षण

– १० स्थानमा १ हजार ७५ मिटर ढलान कार्य प्रारम्भ

naubise_1389770099काठमाडौं – नागढुङ्गा–नौबीसे सडकखण्डमा भइरहेको मर्मत कार्यले तीव्रता पाएको छ । नौबीसे उकालो, याकघर, सुङ्गुरे खोला, खत्रीपौवा, सिस्नेखोला, झ्याप्लेखोलालगायत १० स्थानमा १ हजार ७५ मिटर ढलान गर्ने काम भइरहेको सरकारी निरीक्षण टोलीले जानकारी दिएको छ । ‘सडक मर्मतलाई चाँडै सम्पन्न गराउन मङ्गलवार तेस्रोपटक स्थलगत निरीक्षण गरिएको हो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटाले भने ।

निरीक्षणले सडक मर्मत चाँडो गर्न सहयोग पु¥याएको उनले बताए । यसअघि मङ्सिर २५ र पुस १५ गते पनि उक्त सडकको स्थलगत निरीक्षण गरिएको थियो । खानीखोला ट्राफिक प्रहरीका नायव प्रहरी निरीक्षक जयराम पुडासैनीले मोटरलाई जाम हुन नदिई नै मर्मतको काम भइरहेको बताए । निरीक्षणमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले ढलान गर्नुपर्ने ठाउँमा पनि उपकरण र प्राविधिक एवम् मजदूरलाई तत्काल परिचालन गर्न निर्देशन दिए ।

तेस्रोपटकको निरीक्षण भ्रमणपछि सचिव बास्कोटाले धार्केमा रहेको बेली–ब्रिजमा अनिवार्य रूपमा तौल लिई बढी तौल बोक्ने सवारीसाधनलाई निषेध गर्न, टायल घरको आसपासमा बन्न लागेको बेली–ब्रिज छिट्टै तयार गर्र्न र पानी चुहाउँदै बालुवा बोक्ने मोटरलाई कडा दण्ड गर्न निर्देशन दिए । ‘पटकपटकको निरीक्षणले निर्माणमा खटिएका सरकारी कर्मचारी र निर्माण व्यवसायी उत्साही भएको महसूस गरेको छु,’ उनले भने ।

-‘आर्थिक अभियान राष्ट्रिय दैनिक’