विविधतामा धादिङ

188 पटक पढिएको

प्रकाशित मिति: ७ माघ २०७०, मंगलवार ०५:२३

सम्पादक: Dhadingnews.com

धादिङको उत्तरी सिमानामा गणेश हिमाल मुस्कुराएर उभिएको छ । यसैको काखमा अर्थात अलिक वर फूलखर्कस्थित ढांडखर्कको पहराबाट हाम्फालेका छन दिदीबहिनी झरना– गङगा र जमुना । अलि तल पुगेपछि ‘नेत्रावती‘ बनेर बूढीगण्डकीमा मिसिने ‘आँखु‘ गणेशहिमालबाटै सुरु भएकी छिन्‍ । कति सुन्दर छ धादिङको प्राकृतिक छटा ! सेता हिमाली चुचुराहरू, हरिया तरेली परेका अनेक जडिबूटी काखमा उमारेका पहाडहरू अनि सल्यानटार, रिचोकटार, परेवाटार,सुकौरा फाँट, ठूलीबेसी, नौबिसे फाँटजस्ता उर्वरभूमि । तिनै उर्भरभूमिलाइ चिस्यान दिँदै काखैबाट बगेका कास्टे, मानपाङ, बगुवा,लपाङ, थोपल, चरङ्गे, गडरे र अरू थुप्रै खोलाहरू ।

रसुवाबाट निस्केर नुवाकोट हुँदै धादिङको पेटबाट बगेर बूढीगण्डकीमा मिसिन हतारिएकी त्रिशुली होउन अथवा पश्चिमी सीमाबाट दक्षिणबगेकी बूढीगण्डकी दुवैको प्रेम छ धादिङको मुटुमा र माटामा । उत्तरमा तिब्बत, पूर्वमा नुवाकोट र काठमाडौं, दक्षिणमा मकवानपुर र चितवनका सिमानामा उठेको महाभारत पर्वतमाला अनि पश्चिममा गोरखा जिल्ला छुट्‍याउने बूढीगण्डकी नदी धादिङका चार सिमाना हुन्‍। धादिङको भूगोलको वयान यो छोटो परिचयमा दिएर सकिँदैन । प्राकृतिक विविधताले सुरम्य बनेको धादिङको एतिहासिक र सांस्कृतिक गरिमा त्यतिकै माथि छ ।

पौराणिक कालमा दैत्यराज हिरण्यकशिपुको दानवी व्यवहारको अन्त गर्न भगवान विष्णुले नृसिंहावतार लिनुभएको मानिने स्थान धादिङ जिल्लाको उत्तरपश्चिममा पर्ने आगिञ्चोक हो भन्दा कतिलार्इ आश्चर्य लाग्न सक्छ । आप्‍नै छोरा प्रह्लाद भगवान विष्णुको भक्त बनेकोमा उग्र भएको हिरण्यकशिपुले छोरालार्इ जलार्इ मार्ने योजना गर्दै आगो बाल्न बनाएको अग्निचोक नै अपभ्रंश भएर आगिन्चोक भएको भन्ने जनश्रुति छ ।

भगीरथ राजाले तपस्या गरी पुर्खा उद्धारका लागि प्राप्त गरेको गङ्गाको बेग महादेवले शिरमा थामेर एक धारा खसाएको ठाउँ भनेर हाम्रै धादिङको गङ्गाजमुनालाइ मानिन्छ । करीब १६ सय वर्षअघि उपत्यकामा लिच्छविशासन रहँदा सल्यानटारमा पनि विकसित शहर बनेको तथ्य त्यहाँका हाल अवशेष्का रूपमा भेटिएका इँटाहरूबाट पुष्टि भइसकेको छ । साढे चारसय वर्षअघि थुप्रै राज्यहरू भएको धादिङ जिल्लामा अभै पनि ती राज्यका भग्नावशेष्हरू यत्रतत्र देखिन्छन्‍ ।

इतिहास केलाउँदा गोरखाका शाहवंशीय राजा रामशाह र उनका सन्तति आधुनिक नेपालका निर्माता पृथ्वीनारायण् शाहले सल्यानकोटकी त्रिपुरसुन्दरी भगवतीको आराधना गरेको तथ्य इतिहासमा लेखिएको छ । सल्यानकोटकी त्रिपुरसुन्दरी भगवती,सुनौलाबजारकी भैरवी, ज्यामरुङकी ज्वालामुखी र शंखादेवी, ढोलाकी मण्डली, फूलखर्ककी गङ्गाजमुना, आगिञ्चोककी जलेश्वरीलगायत अनेकन शक्तिपीठ, सल्यानटारका दुग्धेश्वर महादेवलगायतका शिवमन्दिरसमेतले धादिङका विविधतामा थप आकर्षण प्रस्तुत गरेका मात्र छैनन्‍, तमाम धादिङबासीलार्इ एकतामा आवद्ध पारेका छन्‍ ।

माथि तामाङ, बीचमा गुरुङ अनि दक्षिणमा चेपाङ, धादिङको जातीय विविधताको अर्को नमुना हो । अनेकन थरमा विभाजित बाहुनक्ष्त्री,मगर, नेवार, दमाइं, सार्की, कामीजस्ता जातजातिले धादिङलार्इ प्रकृतिले जस्तै विविधतायुक्त बनाएका छन्‍ । यिनैले हो रोधी, घाँटु,सोरठी, तामाङसेलो, बालन, भजन, भैलो, ख्यालीजस्ता सांस्कृतिक चालचलनलार्इ जीवन्त राखेको ।

यही पृष्ठभूमिमा जन्मेका धादिङको स्वादिलो, पोषिलो, रसिलो अन्नपानी अनि फलफूल र हावा खाएर हुरकेका धादिङका सन्ततिले नेपाली भाषाको गोर्खाली स्वरूपको जन्म हुनुअघिदेखि नै संस्कृतसाहित्यमा कलम चलाउँदै आएका छन् । इतिहास साक्षी छ,भानुभक्त आदिकवि हुन्‍, उनीअघिदेखि यहाँ संस्कृतको अध्ययन अध्यापन हुन्थ्यो, हाम्रा साहित्यिक अग्रज मनीषीहरू कुनै आत्मप्रचार नगरी सल्लेडाँडाको चिसो हावासितै रम्दै कल्पनाको गगनमा कावा खाँदै साहित्यरचना गरथे । तिनका आँखा लमतन्न सुतेको सल्यानटार, कुलुलु बगेका बूढीगण्डकी र नेत्रावतीको प्रवाह अनि टलल टल्केको गणश र मनास्लु हिमालका दृश्यतिर लम्किन्थे र मस्तिष्कमा सिर्जनाको बतास मडारिन्थ्यो ।

तिनै उदयानन्द अज्र्याल, वीरेन्द्रकेशरी अज्र्यालहरूले रचे सुनखानीको एकान्त डाँडामा बसेर साहित्य– संस्कृत अनि नेपालीभाषामा । साहित्यरचनाको त्यो परम्परा क्रमश चलिरह्‍यो, जीवनपुरका कुलचन्द्र गौतम, त्रिपुरेश्वरका अच्युतानन्त र उनका छोरा वेदनिधि लामिछाने,पीडाका केशवराज लामिछाने ‘पिँडाली‘, ज्यामरुङका सुवि शाह,केवलपुरे किसान, नलाङका डिल्लीरमण्ा शर्मा अज्र्याल, ज्यामरुङकै शंकर शाह, मैदीका कृष्ण घिमिरे ‘मैदेली‘, सुनौलाबजारका रमेशचन्द्र अधिकारी, बलदेब अधिकारी, टीएन गोपीकृष्ण अधिकारी, रामहरि दाहाल, बद्रीप्रसाद दाहाल ‘भस्मासुर‘ नवीनबन्धु दाहाल,मुरलीभञ्ज्याङका रामचन्द्र लम्साल, हरि खनाल, दार्खाका शैलेन्द्र सिंखडा, ज्यामरुङका नवराज लम्साल, सल्यानकोटका मोहन तिमल्सिना, शिशिर शर्मा, माधव लामिछाने, नीलकण्ठका लक्ष्मण तिमल्सिना, उर्मिला थपलियाले यसमा निरन्तरता दिँदै आएका छन्‍ । पछिल्लो पुस्तामा मार्पाकका जित अधिकारी, कटुन्जेका प्रभास अधिकारी, शिव श्रेष्ठ, त्रिपुरेश्वरका दिनेश धरेल, सल्यानकोटका अरजुन तिमल्सिनाहरू अज सशक्त देखा पर्दै छन्‍ ।

धादिङको साहित्यमा विविधता छ । यहाँको साहित्यमा गीत छ,कविता छ, गजल छ, कथा छ, निबन्ध छ, प्रबन्ध छ, बालकविता,बालकथा, बालउपन्यास, सांस्कृतिक विविधतायुक्त अनुसन्धनात्मक लेख छन्‍ । धादिङका स्रष्टाले समालोचकका रूपमा समग्र नेपाली भाषाको मात्र नभइ संस्कृत र अंग्रेजी भाषाका साहित्यसमेतको चिरफार गर्न सक्ने कौशल प्रस्तुत गरेका छन्‍ ।

किरान्चोकका कृष्ण गौतम, बेनीघाटका घनश्याम कँडेल,मुरलीभन्ज्याङका डा. रामचन्द्र लम्साल, साङकोशका रामहरि लम्साल,सल्यानकोटका मोहन तिमल्सिनाहरू प्रखर समालोचकीय प्रतिभाका खानी हुन्‍ । कृष्ण गौतम, रामचन्द्र लम्साल, घनश्याम कँडेलका समालोचकीय कृतिहरू नेपाली साहित्यले अहिलेसम्म पाएका युगान्तकारी कृतिमा पर्दछन्‍ ।

धादिङले उल्लेख्य संख्यामा महाकवि जन्माएको छ । सुनौलाबजार महाकवि जन्माउने उर्वर धर्ती भएको छ । टीएन गोपीकृष्ण अधिकारी र डा. रमेशचन्द्र अधिकारी दुवैजना सुनौलाबजारको नेवारपानीमा जन्मेका हुन्‍ । सीतायन महाकाव्यका दश खण्डबाट रमेशचन्द्र अधिकारीले नेपाली साहित्यमा ठूलो ख्याति कमाएका छन्‍ भने टीएन गोपीकृष्ण अधिकारीका पनि चारचवटा महाकाव्यहरू र करीब त्यति नै खण्डकाव्य प्रकाशित भइसकेका छन्‍ ।

धादिङको हावाले सबैलार्इ गुन्गुनाउन सिकाउँछ । यहाँका गङ्गाजमुनालगायतका झरनाले नाच्न उक्साउँछन्‍ । त्यसैले हो सुवि शाहले नाच्न अनि बाँसुरी बजाउन जानेका । त्यही हावाको ताजापनले हो रेखा शाह, लक्ष्मी शाह, हिमाल घले, देव आले, सन्तोष लामा, जगदीश थापाहरूलाइ गायक गायिका बनाएको । सन्तोष लामा त यो पुस्ताका युवा गायकहरू संलग्न भएको हालैको राष्टि्रय प्रतियोगितामा सबैलाइ उछिनेर ‘नेपाली तारा‘ नै बन्न पुगेको तथ्य धादिङका लागि अर्को गौरव बन्न पुगेको छ ।

प्रकृतिले विविधता दिएजस्तै सामाजिक विविधताले रङ्गिएजस्तै धादिङका प्रतिभाहरूले सबै क्षत्रमा जिल्लाको नाम राखेका छन्‍,राष्टि्रय जीवनको महत्वपूर्ण क्षत्रमा धादिङको नाम पछाडि छैन,अगाडि नै छ । राजनीतिमा प्रधानमन्त्री नपाएरै होला, धादिङले आर्थिक क्षत्रमा मात्र त्यति ठूलो प्रगति गर्न सकेको छैन । हैन भने हामी गर्व गरौँ, जे छन्‍ सुन्दरतम कुराहरू हामी धादिङेसितै छन्‍, हाम्रै धादिङमा मात्र छन्‍ ।

भएका कुरालाइ हामीले बडो यत्नले जोगाउनुपर्छ, बचाउनुपर्छ, मान्छेको शोभा लाज बचाएजस्तै गरी ।

– धादिङका कवि प्रतिभा साहित्यिक ब्लग पत्रिकाबाट 

zp8497586rq


धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

७ माघ २०७०, मंगलवार ०५:२३ मा प्रकाशित

समाचार

सबै

लागुऔषध मुद्दामा फरार गल्छीका दुई महिला पक्राउ

धादिङ- फरार अभियुक्त पक्राउ अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय धादिङले मंसिर २ गते  उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर ७ मछेडीखोला बस्ने ५० बर्षिया सरिता भन्ने.....

बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित.....

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

Categories