धादिङ्का सबै गाविसमा २४ घन्टे प्रसूति सेवा

549 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ १० माघ – नेपालमै पहिलोपटक धादिङ् जिल्लाका सबै गाविसमा २४ घन्टे प्रसूति सेवा सञ्चालन गरिएको छ । सरकारको लक्ष्यअनुसार ५० वटै गाविसमा कम्तीमा एक/एक गरी जिल्लाभर ६२ प्रसूति सेवा दिने स्वास्थ्य संस्था रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटार र गजुरी, ३३ स्वास्थ्य चौकी, १६ उपस्वास्थ्य चौकी र १० सामुदायिक स्वास्थ्य सेवा बिन्दुमा २४ सेवा सञ्चालनमा रहेको कार्यालयका प्रमुख महोमद दाउतले जानकारी दिए । धुवाँकोट र थाँक्रे गाविसमा भने स्वास्थ्य र उपस्वास्थ्य चौकी गरी ४ ठाउँबाट सेवा प्रदान गरिन्छ ।

हरेक गाविसमा निःशुल्क प्रसूति सेवा पुर्‍याउने सरकारको लक्ष्यअनुसार प्रत्येक गाविसमा काम थालिएको दाउतले बताए । सबै गाविसमा सेवा पुगेपछि अघिल्लो आर्थिक वर्षमा शिशु र मातृ मृत्युदर शून्य प्रतिशत रहेको कार्यालयले दाबी गरेको छ । ‘अघिल्लो आवमा सुत्केरी र गभर्वतीका कारण कुनै पनि शिशु र आमाले ज्यान गुमाउनुपरेन,’ उनले भने । गर्भवतीहरू नियमित स्वास्थ्य परीक्षण गराउन र सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन थालेपछि मृत्युदर पनि घटेको हो ।

प्रत्येक गाविसमा प्रसूति सेवा पुगेपछि स्वास्थ्य संस्थामा आएर सेवा लिनेको संख्या १३ प्रतिशतले बढेको कार्यालयको तथ्यांकमा उल्लेख छ । अहिले स्वास्थ्य संस्थाबाट सेवा लिने (संस्थागत प्रसूति) दर ४० प्रतिशत पुगेको दाउतले बताए । सेवा विन्दुहरू स्थानीयस्तरको सहयोगबाट सञ्चालित छन् । सबै स्वास्थ्य संस्थाहरूमा दक्ष प्रसूतिकर्मीले सेवा प्रदान गर्ने कार्यालयको भनाइ छ । उनले भने, कर्मचारी अभावमा सेवालाई गुणस्तर दिने समस्या भएको छ ।

संस्थागत प्रसूति दरलाई अझै वृद्धि गर्ने लक्ष्य रहेको दाउतले बताए । काठमाडौंबाट नजिक र धेरै राजमार्ग समेटेको जिल्ला भएकाले संस्थागत दर बढाउन गाह्रो भएको उनले दाबी गरे । यी संस्थाबाट प्रसूति गराउनेले एक हजार चार सय यातायात खर्च, निःशुल्क नियमित गर्भवती परीक्षण, आइरन चक्की र जुकाको औषधि पाउँछन् ।

-ई कान्तिपुर डट कम