सुधारिएको घट्टबाट ११ सय घरधुरीमा बिजुली

580 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, १६ माघ । कुटानी, पिसानी मात्र सीमित परम्परागत घट्टलाई सुधारेर विकट क्षेत्रका ११ सय घरधुरीमा बिजुली बत्ती बालिएको छ ।
विकट क्षेत्रका ३५ सुधारिएको घट्टबाट १ सय किलोवाट विद्युत् उत्पादन गरी ११ सय घरधुरीमा बिजुली बालिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, एसएनभी, ग्रामीण प्रविधि केन्द्र, जीआईजेट र इएनडीईभी नेपालले संयुक्त रूपमा बुधबार राजधानीमा आयोजित ग्रामीण सामुदायिक विद्युतीकरणमा सुधारिएको पानी घट्ट विषयक राष्ट्रिय कार्यशालामा दिइएको जानकारीअनुसार सुधारिएको घट्टबाट मात्र ७ हजार जनसंख्या उज्यालोमा बस्न पाएका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा.गोविन्दराज पोखरेलले सुधारिएको पानी घट्टबाट कुटानी पिसानीबाहेक ग्रामीण क्षेत्रमा बिजुली बाल्नुका साथै साना–साना उद्योगधन्दाहरू सञ्चालनमा पनि सहयोग पुगेको बताए ।
‘विद्युत्को केन्द्रीय प्रसारण नपुग्ने अति विकट क्षेत्रका बासिन्दालाई सुधारिएको पानी घट्टले उज्यालो दिनुका साथै साना उद्योग स्थापनाका लागि सहयोग गरेको छ,’ उनले भने । कार्यकारी निर्देशक पोखरेलले सुवर्ण कपालीद्वारा लिखित नेपालमा सुधारिएको पानी घट्ट विकास नामक पुस्तक सार्वजनिक गर्दै उनले नवीकरणीय ऊर्जाको दिगोपनाबारे सरोकारवाला निकायले जनतालाई सुसूचित गर्नुपर्ने बताए ।
३० वर्ष अघिदेखि नेपालमा परम्परागत घट्टहरूलाई सुधार कार्यक्रम अघि सारिएको र हालसम्म ८ हजार ४ सय ९३ घट्ट सुधारिएको ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठले जानकारी दिए । ‘२३ हजार ८ सय ११ ओटा परम्परागत घट्ट रहेकोमा सुधारिएको घट्टबाट मात्र ४ लाख ४० हजारले सेवा पाएका छन् र २ हजारले रोजगारी पाएका छन्,’ उनले भने ।
सुधारिएको पानी घट्ट नमुना आयेजनाका टिम लिडर टंक भट्टले काभ्रेको मेच्छे, फलामेटार, गोकुले र फोक्सिङटार गाविसका चार घट्टलाई नमुना आयोजनाको रूपमा अघि बढाइएको र ती घट्टहरूमार्फत बिजुली उत्पादन गरी साना–साना उद्योगहरूसमेत सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रममा मेच्छे सुधारिएको घट्ट उपभोक्ता समितिका सचिव विष्णु थपलियाले पानी घट्टबाट बिजुली र साना उद्योग सञ्चालन गरेर ग्रामीण क्षेत्रका बासिन्दाले राम्रो आम्दानीसमेत गर्न सम्भव भएको बताए ।
एसएनभी नेपालका नवीकरणीय ऊर्जा नेटवर्कका लिडर गुय डेकेलभरले सन् २०३० भित्र सबैलाई ऊर्जा पु¥याउने संयुक्त राष्ट्रसंघको अभियानमा सुधारिएको पानी घट्टले समेत बिजुली उत्पादन गरेर सहयोग गरिरहेको बताए । ईएनडीईभी नेपालका आयोजना प्रबन्धक बार्टजन भ्यानले परम्परागत घट्टलाई आधुनिक प्रविधिमार्फत ग्रामीण क्षेत्रका लागि उपयोगी बनाउन सकिएको बताए ।
एसएनभी नेपालका केशव दास र ग्रामीण प्रविधि केन्द्रका विकल्प काफ्लेले विद्युत्को केन्द्रीय प्रसारण लाइन नपुगेका, लघु जलविद्युत् आयोजनासमेत बनाउन नसक्ने विकट क्षेत्रका लागि सुधारिएको घट्टमार्फत विद्युतीकरण गर्न सम्भव भएको बताए । ‘सुधारिएको पानी घट्टलाई व्यवसायसँग जोडेर गरिबी निवारणका लागि जोड दिएका छौं, टिभी, कम्प्युटरका साथै मोबाइल चार्जका लागि यो उपयोगी देखिएको छ,’ दासले भने ।
कार्यक्रममा दिइएको जानकारीअनुसार, सन् २००४ मा ६ सय ३४ ओटा मात्र सुधारिएको पानी घट्ट रहेकोमा सन् २०१३ सम्म ८ हजार ४ सय ९३ पुगेको हो । सन् २०१३ मा मात्र ४ सय ६९ परम्परागत घट्ट सुधारिएको थियो ।

राजधानी