गणेश हिमाल पर्यटन प्रवर्द्धनमा चासो पुगेन

748 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कुलबहादुर गुरुङ, अध्यक्ष, गणेश हिमाल पर्यटन विकास समिति

नेपालको पर्यटन अवस्थालाई कसरी नियाली रहनुभएको छ ?
तुलनात्मक रुपमा पहिलेको भन्दा अहिले राम्रो छ । केही वर्षहरु राजनीतिक अन्यौलतामै बितेको हुनाले समग्र पर्यटन क्षेत्रमा समेत नराम्रो प्रभाव परेको थियो । तर अहिले अस्थिरता भएपनि राजनीतिक वातावरण शान्त जस्तो देखिएको छ त्यसै हुनाले पर्यटन क्षेत्रमा आकर्षण बढेको हो । व्यवसायीहरुमा आशा पलाएको छ । बन्द, हड्ताल लगायतका समस्या अहिले एकदम कम भएको हुनाले आशा पलाएको हो । अहिले नेपाल आउने पर्यटकहरुको संख्यामा समेत बृद्धि भईरहेको छ ।
यो क्षेत्रमा देखिएका समस्याहरु के कस्ता छन् ?
अहिले हाम्रो मुख्य समस्या भनेको पुरानो पर्यटन ऐन नै हो । २०६२ सालपछि पर्यटन सम्बन्धी ऐनमा केही कुराहरु मात्र संशोधन भए तर पर्यटन क्षेत्रको विकासका लागि समय अनुसार ऐन नियम ल्याउनुपर्ने हो त्यो भने भएन । ऐनले पर्यटन व्यवसायीहरुको हकहित र समस्याका बारे त्यति धेरै बोल्न सकेको छैन । सरकारले हिमाल आरोहण गर्दा लाग्ने शुल्क घटाउनु जरुरी छ । शुल्क बढी हुँदा हिमाल आरोहणमा जाने पर्यटकहरु घट्न थालेका छन् । तर अहिले सगरमाथा आरोहणमा जाने पर्यटकहरु बढे भनेर टिप्पणी गरिएको छ । धेरै आरोहीहरु जाँदा फोहोर मैला बढे भन्ने गरिएको छ । यस कुरामा सरकारले ध्यान दिनुपर्छ । पैसाको लोभमा धेरै विदेशी चढाउँछु भनेर पनि हुँदैन । बढी मान्छे हुँदा लिने शुल्क बढाउँदा केही फरक त पर्दैन तैपनि अन्य क्षेत्रका हिमाल आरोहण गर्दा लाग्ने शुल्क भने बढी भएको छ । उता चीनले कम शुल्कमा उत्तरी क्षेत्रबाट हिमाल आरोहण गर्नका लागि हाम्रो भन्दा कम शुल्क लिने गरेको छ जसका कारण पर्यटकहरु बढि तिब्बत भएर जाने गरेका छन् । सगरमाथा चढ्दा ५० देखि ७० हजार डलर शुल्क लिने गरिएको छ भने अहिले सरकारले सिजनअनुसार शुल्क लिने भनेर बताएको छ जुन कुरा एकदम सकारात्मक छ । मलाई लाग्छ औसतमा भन्दा हिमाल आरोहणका लागि २० हजार डलर राख्दा ठीक हुन्छ ।
यो क्षेत्रलाई अझै व्यवस्थित र मर्यादित बनाउन के गर्नुपर्ला ?  
सर्वप्रथम त हामी व्यवसायीहरु नै एकजुट हुनुपर्छ । अस्वस्थ प्रतिस्पर्धामा दौडनुभन्दा व्यवसायीहरु मिलेर सरकारसँग आफ्ना कुराहरु राख्न सकियो भने त्यो राम्रो हुन्छ । त्यसका लागि सरकारले निजी क्षेत्रका कुराहरु पनि सुन्नुपर्छ । हामी व्यवसायी र सरकार सहकार्य गरेर अघि बढ्न सकियो भने नीति नियम बनाउन सजिलो पनि हुन्छ । सरकार एकद्धार प्रणाली अनुसार चलेको छ त्यो पनि अन्त्य हुन्छ ।
पर्यटन बोर्डमा लामो समयदेखि कार्यकारी प्रमुख नहुँदा के कस्ता समस्याहरु आएका छन् ?
हुन त लामो समयपछि बल्लतल्ल निमित्त कार्यकारी प्रमुख नियुक्त गरिएको छ । निमित्त प्रमुखले त्यति धेरै काम गर्ने अधिकार पनि पाएको हुँदैन । पर्यटन बोर्डमा हुने नियुक्तिलाई एक किसिमले राजनीतिकरण गरियो । हाम्रो दुर्भाग्य भनौं निजी क्षेत्रबाट प्रतिनिधित्व गरेर जाने साथीहरुले समेत राजनीति गर्न थाले । कमसेकम निजी क्षेत्रका साथीहरुले व्यावसायिक हकहितका कुरा उठाएर अघि बढेको भए राम्रो हुन्थ्यो । तर हुन सकेन । कार्यकारी प्रमुख नहुँदा अहिले पर्यटन क्षेत्रको प्रचार प्रसारमा एकदमै कम भएको छ । पर्यटन क्षेत्रको विकासका लागि प्रचारप्रसार महत्वपूर्ण कार्य हो ।
यसलाई राजनीतिबाट अलग राख्न सकिंदैन त ?
अलग राख्न सकिन्छ । हान, टान, नाटा र नारा जस्ता संघसंस्थामा आबद्ध हुने सबै साथीहरुले व्यवसायीका हकहितका लागि ध्यान दिएर काम गरेको भए सबैभन्दा राम्रो हुन्थ्यो । बोर्डमा प्रतिनिधित्व गरेर समेत व्यवसायीहरुले राजनीति गर्न थालेपछि समस्या आएको हो । व्यवसायी भएर गएपछि व्यवसायको मात्र कुरा गर्नुपर्छ तर राजनीति गर्न थालेपछि पर्यटन क्षेत्रको प्रबद्र्धन कसरी हुन सक्छ ? हामी व्यवसायीहरुको समेत दोष छ ।
टे«किङ व्यवसायीहरुको छाता संगठन टानको निर्वाचन नजिंकिदै गईरहेको छ अब आउने नेतृत्व कस्तो हुनुपर्छ ?
टानमा रहनुहुने अग्रज व्यक्तिहरुको सल्लाह लिएर, उहाँहरुलाई सम्मान गरेर नयाँ पुस्ताले नेतृत्व सम्हाल्नुपर्छ । अब आउने नेतृत्व युवा र केही गर्छु भन्ने भावनाको जोस जाँगर भएको हुनुपर्छ । नयाँ मिशन र भिजन बोकेको व्यक्ति टानलाई चाहिएको छ ।
तपाई गणेश हिमाल पर्यटन विकास समितिको अध्यक्ष हुनुहुन्छ, के के गर्दैछ संस्थाले ?
धादिङको उत्तरी क्षेत्रमा अवस्थित रसुवा जिल्लाको गत्लाङदेखि मलेखुसम्मको टे«किङ रुट विकास योजनामा यो समिति लागेको छ । हामीले धादिङ जिल्लामा नौ वटा ट्रेकिङ रुट बनाएका छौं । रुबी भ्याली र गणेश हिमालको प्रबद्र्धन गर्न ८ दिन ९ रातको टे«किङ रुट विस्तार गर्दैछौं । त्यस रुटमा अंग्रेजी भाषाको तालिम दिने काम गरेका छौं भने होम स्टे र कम्युनिटी लज बनाउने तयारी समेत गरेका छौं । हामीले आफ्नै जिल्ला आफ्नै क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रको विकास र प्रबद्र्धन गर्नुपर्यो भनेर यो समिति बनाएका हौं । यो समितिमा पत्रकार, राजनीतिक नेता र हामी व्यवसायी सबैको सहभागिता छ ।
पर्यटकीय हिसाबले प्रचुर मात्रामा सम्भावना बोकेर पनि रुबी भ्याली किन ओझेलमा पर्यो ?
विशेष गरी हामीले जुन समिति बनाएका छौं त्यो समिति मार्फत ओझेलमा रहेको रुबी भ्यालीको प्रबद्र्धनका निम्ति धेरै कामहरु गर्न बाँकी नै छ । गणेश हिमाल र रुबी भ्यालीको प्रबद्र्धन गर्ने उद्देश्यले हामीले गणेश हिमाल दिवस मनाउँदै छौं । रुबी भ्याली र गणेश हिमाल क्षेत्रको संरक्षणका लागि संरक्षण क्षेत्र घोषणा गर्नका लागि सरकारसमक्ष प्रस्ताव पठाएका छौं । हिजोका दिनमा यो क्षेत्रको पक्कै पनि प्रचार प्रसार नभएकै हो । नेता र मन्त्रीहरुले चासो नलिएका कारण यस क्षेत्रको विकास हुन सकेन । रुबी भ्याली जस्तो अथाह सम्भावना भएको क्षेत्रमा कसैको चासो नभएर र जनचेतना नभएर ओझेलमा प¥यो । अब यसको प्रचारप्रसारका लागि यस समितिमा हामीले २ सय जना व्यवसायीहरुलाई सदस्य बनाउँदै छौं । ढिलोमा ३ वर्षभित्र यसलाई स्थापित गराउने काममा हामी लागेका छौं ।
धादिङ जिल्लाको समग्र पर्यटनको अवस्था कस्तो छ ?
धादिङ साँस्कृतिक विविधता भएको जिल्ला हो । यस जिल्लामा गणेश हिमाल र रुबी भ्याली जस्तो अथाह सम्भावना बोकेको पर्यटकीय क्षेत्रहरु छन् । देश भित्रिने कुल पर्यटकहरुको संख्या मध्ये ५ प्रतिशत मात्र धादिङमा आउने गर्दछन् । पर्यटकीय हिसाबले प्रचुर मात्रामा पर्यटकीय स्थलहरु भएपनि राज्यको दृष्टि नै पुग्न नसकेको कारण यो क्षेत्र ओझेलमा परेको हो । त्यसैले सरकारको मुख ताक्नुभन्दा हामीले आफैं रुबी भ्याली टे«किङलाई वैकल्पिक मार्गका रुपमा चिनाउने काम गर्दैछौं । जसका लागि उक्त रुटमा कम्युनिटी लजहरु खोल्ने कार्य गर्दैछौं ।
धादिङ जिल्लामा धेरै पर्यटन व्यवसायीहरु भएपनि यस जिल्लाको पर्यटन प्रबद्र्धनमा कसैले पनि खासै भूमिका खेल्न सकेनन् नि ?
धादिङ भनेको सोलुखुम्बु पछि धेरै पर्यटन व्यवसायीहरु भएको जिल्ला हो । हाम्रा व्यवसायी साथीहरुले अन्नपूर्ण, लाङटाङ, र सगरमाथा लगायतका हिमालहरुको प्रबद्र्धन गरेर पैसा कमाए तर आफ्नै गाउँ ठाउँको पर्यटकीय क्षेत्रको बारेमा चासो देखाएनन् । यसमा हामी व्यवसायीहरुको ठूलो गल्ती छ । अहिले पनि पर्यटनका नाममा खोलिएका संघ संस्थाहरुको नेतृत्वकर्ता पनि धादिङ जिल्लाकै अग्रजहरु हुनुहुन्छ तर अझैपनि उहाँहरुले गणेश हिमाल र रुबी भ्यालीको पर्यटन प्रबद्र्धनमा खासै चासो देखाएका छैनन् तर हामीले उहाँहरुलाई सहयोगका लागि अनुरोध गरेका छौं ।

-ताजा बहसन्युज डट कम  बाट