शिवालय माविलाई आर्थिक सहयोग

511 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, – धादिङको विकट क्षेत्रमा पर्ने बसेरीस्थित शिवालय माविलाई फर्निचर मर्मतका लागि ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ। सोही गाविस निवासी मोती न्यौपानेले आफूले अक्षर चिनेको स्कुलको मर्मतका लागि भन्दै सो रकम उपलब्ध गराएको बताएका छन्।

न्यौपानेले यसअघि पनि स्कुलमा शौचालय निर्माण गरिदिएका छन् भने पटकपटक आर्थिक सहयोग गर्दै आएको सो विद्यालयका प्रधानाध्यापक गणेशबहादुर खत्रीले बताए। शनिबार आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा हाल जापानी नागरिक बनी सकेका मोती न्यौपाने र उनका छोरा हीरा न्यौपानेले आगामी दिनमा पनि स्कुलका लागि थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गाँस कटाएरै भए पनि आफूले अक्षर चिनेको स्कुललाई सहयोग गर्न पाउँदा आफू निकै सन्तुष्ट रहेको भन्दै मोती न्यौपानेले भने– ‘यो मेरो शुरुआत मात्रै हो आगामी दिनमा मैले संस्था नै स्थापित गरेर यो स्कुललाई सुविधा सम्पन्न बनाउने योजना रहेको छ।’ समाजसेवी न्यौपाने हाल जापानको नागानोमा व्यापार गर्दै आएका छन्।

-नेपाल समाचारपत्रबाट