सलाङघाटको झोलुङगे पुल मर्मत गरिंदै

2016 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङ- धादिङको सलाङघाट स्थित त्रिशूली नदी माथि रहेको झोलुङ्गेपुलको मर्मत कार्य शुरु गरिएको छ । सरकारले अति जोखिमको अबस्थामा रहेका मुलुकभरका करिब डेढसय झोलुङगे पुलको मर्मत गर्ने कार्यक्रम अन्र्तगत सलाङघाटको झोलुङगे पुलको पनि मर्मत थालिएको हो । मर्मत थालिएको सलाङघाटको पुल ३० बर्ष अघि निर्माण भएको र पुल अड्याईएको दुवै तर्फको पिलर समेत जिर्ण बन्न पुगेकाले मर्मतका क्रममा सवै संरचना नयां निर्माण गरिने वताईएको छ । मर्मत शुरु गरिएको पुल ३ महिना भित्रमा सम्पन्न गरिने भएको छ । DSC02738 DSC02726 SAM_0997
सलाङघाटको पुल मर्मत शुरु भएपछि त्रिशूली नदीतर्नका लागि पुल रहेको भन्दा केही तल काठको फेरी सञ्चालनमा ल्याईएको छ । सलाङघाट पुलवाट दैनिक एक हजार भन्दा बढी मान्छेको आवत हुने गर्दथ्यो । जिल्ला विकास समिति धादिङका इन्जिनियर उद्धव खतिवडाका अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक आयोजना(डोलिडार) ले गत बर्ष गरेको अध्ययनले सन् १९३० देखि २००५ सम्म निर्माण भएका देशभरका एकहजार दुईसय पुल जोखिम अबस्थामा भेटिएको थियो । त्यसमध्ये १ सय ३८ वटा अत्यन्त जोखिमको अवस्थामा रहेको पाइएपछि ति पुलहरुको मर्मत कार्यशुरु गरिएको हो । सलाङघाट स्थित त्रिशूली नदी तर्ने पुल केही बर्ष यता जिर्णबन्दै गएका कारण पुलवाट हिंड्ने सर्वसाधारण कुनैपनि वेला दुर्घटनामा परिने डरले त्रसित हुने गरेको सलाङ गाविसका पुर्व अध्यक्ष खुनवहादुर थापाले वताए ।
डोलिडार ले अति जोखिममा रहेका मुलुकभरका एकसय ३८ वटा झोलुङगे पुल अन्र्तगत सलाङघाटको पुलको पनि मर्मत सम्भार गर्न थालेको हो । इन्जिनियर खतिवडाका अनुसार डोलिडारले गत आर्थिक बर्षमा देशभरीका जोखिममा रहेका पुलहरुको अवस्थाको बारेमा स्थलगत अध्ययन गरेको थियो । धादिङ जिल्लामा लामोतरी भएका ११ र सानातरी भएका ९१ वटा झोलुङगेपुल संचालनमा रहेकोमा एक दर्जनजति पुल मर्मत गर्नु पर्ने अवस्थामा पुगिसकेको जिल्ला विकास समितिले जनाएको छ ।
डोलिडारको अध्ययनले धादिङको सलाङघाट सहित पांचवटा संखुवासभाका १४, ताप्लेजुँगका ८, इलामका ७, गोर्खाका ६, रोल्पा, स्याङजा र अछामका ५÷५ वटा, सल्यान, पर्वत, डडेलधुरा, डोल्पा र कालिकोटका ४÷४, खोटाङ, सिन्धुपाल्चोक, ओखलढुङगा, बाजुरा, बाग्लुङ, म्याग्दी, र हुम्लाका ३÷३, भोजपुर, तनहँु, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर, डोटी, कास्की, पाल्पा, प्युठान, गुल्मी, रुकुम, कैलाली र जाजरकोटमा २÷२ पुल अत्यन्त जोखिम अबस्थामा परेको देखाएको थियो । यसैगरी उदयपुर, धनकुटा, मोरंग, पाँचथर, रामेछाप, सोलुखुम्बु, दार्चुला, दाङ, कपिलवस्तु, मुस्ताङ, नवलपरासी, बाके, बदिर्या, सुर्खेत, दैलेख र मुगुमा १र१ पुल पनि जोखिममा परेको डोलिडारको अध्ययनले देखाएको थियो ।
अध्ययनले जोखिममा रहेका पुलहरुको मर्मत सम्भार गर्न करिब १८ करोड ४८ लाख ६ हजार ४० रुपैयाँ लाग्ने बताइएपनि गत आर्थिक बर्षमा सरकारले समयमै वजेट उपलब्ध नगराउदा यस्ता पुलहरुको मर्मत सम्भारको काम सुरु हुन सकेको थिएन । जोखिममा परेका झोलुङे पुलको मर्मतमा ढिलाई हुंदा पुलबाट दैनिक ओहोर दोहोर गर्नेहरु त्रसित हुन वाध्य भएका थिए । पछिल्लो समयमा धादिङ र चितवन जोड्ने चाइनाघाटको तुईन,चितवन फिस्लिङको झोलुङगेपुल भत्केर एक दर्जनभन्दा बढीको संख्यामा सर्बसाधारणको ज्यान गएको थियो ।
नेपालमा २०२५ देखि स्वीसको विकास सहयोग (एसडीसी) को आर्थिक र प्राविधिक सहयोगमा आधुनिक प्रविधिमा आधारित झोलुङे पुल बन्न थालेको हो। त्यसपछि डोलिडारले एसडीसीकै प्राविधिक सहयोगमा स्थानीयस्तरको पुल बनाउन थालेको हो ।