तामाङ गाउँखाने कथा – एक अध्ययन

2414 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गोपाल फ्युबा तामाङ
1098209_10201167019074195_839049309_nपृष्ठभुमी ः
जनजातिहरूको सम्पत्ती भनेको उसका चालचलन, रीतिरिवाज, भाषा, संस्कृति, वेशभूषा आदि हुन् । लोक साहित्यमा यी सबको चर्चा हुने भएकोले तामाङ गाउँखाने कथामा पनि यसको चर्चा पाइन्छ । भाषा, कला, परम्परा र संस्कृति जोगाउन तामाङ गाउँखाने कथाले विशेष योगदान दिएको छ । तामाङ जातिले प्राचीन कालदेखि नै आफ्नो मौलिकताको चिनारी हरेक क्षेत्रमा दिदै आएको छ । कमजोर सामाजिक, आर्थिक र राजनैतिक अवस्थाले गर्दा समय अनुकुल परिवर्तन गर्न सकिरहेको छैन । यसो हुनुमा उनीहरूको कमजोरी भन्दा पनि सामाजिक संरचना र राजनैतिक व्यवस्थाको दोष देखिन्छ । यसको कारणले तामाङ गाउँखाने कथाहरू प्रकाशन तथा प्रसारणको माध्यममा पुग्न सकेका छैनन् ।
सिङ्गो तामाङ समुदायसँग तामाङ गाउँखाने कथाको सम्बन्ध अविछिन्न रहेको पाइन्छ । यो सांस्कृतिक, धार्मिक, आर्थिक अवस्था विकाससँग जोडिएको छ । यसको विकाससँगै तामाङ लोक साहित्यको पनि विकास हुने भएकोले तामाङ पहिचान जोगाउन तामाङ गाउँखाने कथाको संरक्षण गरिनु आवश्यक छ । संरक्षण, सम्बर्धन रविकासको एक प्रयास स्वरुप यो अध्ययन अगाडि बढाएको छ ।
गाउँखाने कथाको परिचय ः
प्रश्न र उत्तर शैलीमा बौद्धिकता परीक्षण गर्न सोधिने लोक साहित्यको एक विधालाई गाउँखाने कथा भनिन्छ । नेपालीमा अड्का हाल्नु, अड्का वा झ्याँगा थाप्नु, कथा हाल्नु, जान्ने कथा, कर्णाली अञ्चलमा साइतर वा सातर, पश्चिमी भेगतिर सास्तर, पुर्बी भेगतिर अड्को वा अत्तो, जुम्ला भेगमा कठ्यौरा हाल्नु भनिन्छ । अवधी भाषामा बुझौअल तथा हियाली भनिन्छ । यसलाई हिन्दीमा प्रहेलिका वा पहेली पनि भनिन्छ । गाउँखाने कथालाई संस्कृतमा ब्रम्होदय, अङ्ग्रेजीमा रिडल (Riddle), जर्मनीमा र्याक्टसेल (-Ractsel) र जापानी भाषामा नाजो नाजो भनेर चिनिन्छ ।
मनोरञ्जन र ज्ञानवद्र्धनका निम्ति उपयोगी ठानिने यो कथा प्रश्नकर्ता र उत्तरदाता दुई समूहका बिचमा सबाल जबाफका रूपमा प्रस्तुत हुने लोक आख्यानको लघुतम प्रविधा हो । यसमा प्राश्निकले सोधेको जबाफ दिन नसक्ने उत्तरदाताले गाउँ दिनुपर्दछ । उत्तरदाताले हारको प्रतीक गाउँ दिनु पर्ने र प्राश्निकले जितको प्रतीक गाउँ पाउने पद्धतिबाट गाउँखाने कथा रहन गयो भन्ने पुस्टि हुन जान्छ । यसमा प्रतीकात्मक अर्थ सङ्केत प्रत्येक प्रश्नको उत्तर भएर रहेको हुन्छ (सुवेदी र सुवेदी, २०५५ ः २) । नामकरण गाउँ दिने प्रचलनले भएकोमा प्रायः विद्वान्हरूको मत मिलेको छ । यस्ता कथाहरू अति संक्षिप्त र कूट प्रकृतिका हुन्छन् ।
गाउँखाने कथा भनेपछि एउटा जटिल कूट प्रश्न खडा हुन्छ । उत्तर दिन नसके गाउँ खाने प्रचलन भएकाले यस्ता कथालाई गाउँखाने कथा भनिन्छ (भट्टराई, २०५६ ः २७) । यसमा गाउँघरे मानिसको हृदयको उद्गारमा तिखारिएको बुद्धिको देन पनि देखा पर्दछ, जुन मामुली भए पनि अर्थपूर्ण हुन्छ र समस्या पूर्तिको रूपमा प्रश्न बनेर सबका सामुन्ने खडा हुन्छ । यसैले गाउँखाने कथाहरू बुद्घि विनोदका साधन पनि हुन पुगेका छन् ।
लोक जीवन सुखदुःखका अनेक क्षणमा आफ्ना जिज्ञासा तथा मनोरञ्जनका निम्ति विभिन्न साधनको उपयोग गर्दछ । गाउँखाने कथा तिनै मध्येको एउटा रोचक विषय हो । मानिसहरू दैनिक काम सकेर फुर्सतको बेला बसिबियाँलो गर्दा यस्ता रमाइला प्रसङ्ग उठाउँछन् । दुई चार जना एकै ठाउँ भेला भएर हँस्सी रमाइलोका रूपमा कुरैकुराले अड्का थाप्ने र फुकाउने चलन मानव समाजकै आदिम स्वभाव हो । यो परम्परा नेपाली लोक जीवनमा गाउँखाने कथाका रूपमा जीवित छ । दैनिक व्यवहार तथा बसाउठीमा मानिस बुद्धि परीक्षाका निम्ति आफ्नो कथन घुमाई फिराई अरूले हम्मेसि ठम्याउन नसक्ने पार्न चाहन्छ । त्यस बेला ऊ अरूले सहजै बुझ्न नसक्ने भाषा भङ्गीमाको प्रयोग गर्न थाल्छ र वातावरणलाई रोचक तुल्याउँछ । वस्तुतः यही कथनले गाउँखाने कथाको रूप धारण गर्दछ (पराजुली, २०६५ ः १७४) ।
तामाङ गाउँखाने कथाको परिचय ः
गाउँखाने कथा सबै जाति र देशमा प्रचलित लोक साहित्यको एक विधा हुनाले तामाङ जातिमा पनि प्रचलनमा रहेको हो । तामाङ जातिले गाउँखाने कथालाई ओमख्लाङ, जोमख्लाङ, कोच्चाख्लाङ, अर्थ कथा, दोन तथा जान्ने कथा आदि भनेर नामकरण गरिएको पाइन्छ ।
पशु पालनमा सक्रिय यस जातिले घुम्ती गोठ गाउँदेखि टाढाटाढा लाग्दा सबै एकत्रित भएर मनोविनोदको रूपमा पालैपालो प्रश्न सोधेर गोठमा खेलको रूपमा खेलिने गर्दछ । तामाङहरू आर्थिक उपार्जनको लागि घर गाउँदेखि टाढा सामूहिक रूपमा छोङमा जाने गर्दछन् । त्यसरी जाँदा बेलुकी खाना खाई सुत्ने बेलामा मनोविनोद तथा चिन्ता हरणको लागि गाउँखाने कथाहरू खेल्ने गर्दछन् । दिनभरको चर्को परिश्रमपछि लोक जीवन साँझपख वा बेलुकी भोजन गरेर यिनै गाउँखाने कथाका माध्यमले आफ्नो थकान हटाउँछन् (पराजुली, २०६५ ः १७९) ।
तामाङ गाउँखाने कथामा सबाल जबाफ उठ्दा प्रश्नको सही उत्तर फुकाउन नसकेमा ओम दिनु पर्ने हुन्छ । त्यसैले यसलाई ओमख्लाङ भनेको हो । धेरै ओम पाएमा आफ्नो आयु बढ्छ भन्ने मान्यताले गर्दा जटिल र नयाँ गाउँखाने कथाको निर्माण गरिएको पाइन्छ । पछि अन्य जातिको प्रभावले गर्दा उत्तर नमिले गाउँ दिने चलन चल्यो । यसलाई तामाङमा रूपान्तरण गर्दा जोमोख्लाङ हुन गएको हो ।
त्यस्तै गरी उच्च तह व्यक्तिहरू जस्तै ; मुखिया, लामा, बोम्पो, सङतुङहरूमा को जान्ने भनी बाजी हालेर बौद्धिकता र चलाखीपनको जाँच लिने गर्दछ । यसप्रकारको तामाङ गाउँखाने कथालाई दोन भनिन्छ । दोन भनेको साँच्चै बाजी थाप्ने गर्दछ (बुद्घि बहादुर तामाङका अनुसार) ।
गाउँखाने कथाको तामाङ समुदायमा धेरै राम्रो प्रभाव छ । यो समाज, वातावरण, परिस्थिति, राजनीतिका साथै अन्य विविध विषयवस्तुमा समेत रचना गरिएको पाइन्छ । तामाङ गाउँखाने कथाहरू तामाङ वाङ्मयका अमूल्य निधि हुन् र लोक साहित्यका राम्रा नमुना हुन् । तामाङ समाजका विभिन्न पक्षसँग सम्बन्धित गाउँखाने कथाहरू प्रचलनमा पाइन्छन् ।
तामाङ गाउँखाने कथाको संरचना
कुनै अल्झो वा समस्याबारे प्रश्न गरी उत्तर वा समाधान मागी मौखिक रूपमा प्रश्न उत्तर गरिने संरचनालाई गाउँखाने कथा भनिन्छ । यसमा वस्तु सादृश्यबाट जबाफ खोज्नु पर्दछ । तामाङ गाउँखाने कथा सामूहिक रूपमा प्रस्तुत हुन्छ । कथा हाल्ने र कथा फुकाउने दुबै थरी आमुन्ने सामुन्ने हुनुपर्छ । प्रतीकात्मक अड्काहरू बौद्धिक विकास र मनोरञ्जनका निम्ति बढी उपयोगी हुन्छ ।
तामाङ गाउँखाने कथाको प्रयोजन श्रोतालाई अर्थमा अलमल्याउनु हो । यसमा कुनै वर्णन प्रस्तुत गरी त्यसको अर्थ के हो भन्ने उत्तर मागिन्छ । तामाङ गाउँखाने कथामा सुरुमा प्रश्न सोध्ने र लगत्तै फुकाउने गर्नु पर्दछ । उत्तर फुकाउन नसकिएमा प्रश्नकर्ताले तिन पटकसम्म उत्तरदातालाई सङ्केत गर्दछ । त्यसमा पनि सही उत्तर नआएमा ओम वा गाउँ मागिन्छ । जस्तै ;
प्रश्नकर्ता ः स्हुर सोम की योङ ता ?(तिन सुरे चिज के हो ?)
उत्तरदाता ः असे (थाहा छैन) ।
प्रश्नकर्ता ः चु य्हुल्सारी मुपा (यही संसारमा छ) ।
उत्तरदाता ः नफुम (अन्डा) ।
प्रश्नकर्ता ः अयिन, दोङ्पो जिता तब (हैन, सानो बोट हुन्छ) ।
उत्तरदाता ः असे (थाहा छैन) ।
प्रश्नकर्ता ः म्रङ्री जङ्प (बारीमा लगाइन्छ) ।
उत्तरदाता ः असे (थाहा भएन) ।
प्रश्नकर्ता ः अनम् ओम पिनो (त्यसो भए ओम देउ) ।
उत्तरदाता ः ओम ।
प्रश्नकर्ता ः या थोल ब्र्या (फापर) ।
प्रश्नात्मक संरचना यसमा रहेको हुन्छ । सरल प्रश्न तर उत्तर कठिन हुन्छ । सामान्य गाउँखाने कथा यसरी सबाल जबाफ गरिए तापनि दोन भने एकै पटक मात्र जटिल प्रश्न सोधिन्छ र जबाफको खोजी गरिन्छ । मुखिया, लामा, बोम्पो, लप्ता आपा, ताम्बा, सङतुङहरूमा को जान्ने भनी बाजी हालेर बौद्धिकता र चलाखीपनको जाँच लिने गरिन्छ । साँच्चै बाजी थापेर जित हार समेत हुने हुनाले यस प्रकारको गाउँखाने कथालाई दोन भनिएको हो । जस्तै;
प्रश्नकर्ता ः
ठुङ्ला कोइपा दो छाचो न्हङ्री, दिङ्ला कोइपा रेप्क्या लिम्बु दिङ्प, स्हला कोइपा वन न्हङकई चे री ठुङ्पे, याकल स्हला कोइपे बिसिरी नक्पो चि यिन्प ? (पहरामा जन्मने, जहाँसुकै घुम्ने, खाना याकल खाने जिङ्रिङे चिज के हो ?)
उत्तरदाता ः
ठुङ्पा कोइपा दो छाचो न्हङ्री ठुङ्पा, दिङ्पा कोइपा रेप्क्या लिम्बु दिङ्प, स्हपा कोइपा वन न्हङकई चे री ठुङ्पे, याकल स्हला कोइपे बिसिरी नक्पो दुम्सिङ यिन्प । (पहरामा जन्मेको, जहाँसुकै घुम्ने, खाना याकल खाने, जिङ्रिङे चिज दुम्सी हो ।)
यसरी कवितात्मक प्रश्न र कवितात्मक उत्तर दिने संरचना पनि तामाङ गाउँखाने कथामा पाइन्छ ।
तामाङ गाउँखाने कथाका विशेषताहरू
प्रश्न र उत्तर शैलीमा हँुदैमा सबै सबाल जबाफहरू गाउँखाने कथा हुँदैनन् । गाउँखाने कथामा निश्चित विशेषताहरू हुनु पर्दछ । गाउँखाने कथा ग्रामीण जन जीवनका सोचाइ र बुद्धि विनोदका परिणाम हुन् । यी बढी प्राकृतिक र यथार्थपरक हुन्छन् (भट्ट, इ. २००० ः १२) । मनोरञ्जन, खिरिलोपन, बौद्धिकता र प्रतीकात्मकता गाउँखाने कथाले आफ्ना विशेषताका रूपमा बोकेको हुन्छ । तामाङ गाउँखाने कथाहरू पनि सोद्देश्य पूर्तिका निम्ति प्रयोग हुन्छन् ।
सूक्ष्म निरीक्षणात्मक, कूटिल अभिव्यक्ति, बौद्धिक चातुर्य, कलात्मकताको सम्मिश्रण, व्यवहारिक र जीवनगत वस्तुको प्रतीकात्मक प्रयोग, ग्रामीण वस्तुस्थितिको प्रस्तुति, कूटिल भनाइको विशेषता निर्धारण गरिएको भए पनि विभिन्न विद्वानहरूको विचार समेतको आधारमा गाउँखाने कथाको निम्नानुसारका विशेषताहरू तय गर्न सकिन्छ । तामाङ गाउँखाने कथा पनि नेपाली गाउँखाने कथाकै समरूप रहेकाले उस्तै प्रकारका विशेषताहरू पाइन्छन् । यहाँ सर्वकालिकता, दार्शनिकता तथा गहन शैली, सरलता र स्थानीयता तथा बौद्घिकता परीक्षण तामाङ गाउँखाने कथाको विशेषताको रूपमा वर्णन गरिएको छ ।
सार्वकालिकता
तामाङ गाउँखाने कथाहरू खास समय, अवस्था, परिवेश, चाड पर्व वा औपचारिकताको सीमामा बाँधिएका हँुदैनन् । जहिल्यै जहाँ पनि समेटिन सक्छन् । यसैले पनि बाल बालिका, युवा युवती तथा बुढा बुढीसम्मले यिनका विषयमा चासो लिने गर्दछन् । यिनमा समेटिएका विषयवस्तुहरू पहिलेदेखि पछिसम्म उस्तै महत्त्व राख्ने हुन्छन् । सधै उत्तिकै महत्त्वपूर्ण रहनु यिनको विशेष्।ता हो ।
दार्शनिकता तथा गहन शैली
तामाङ गाउँखाने कथाहरू फगत मनोरञ्जनको लागि मात्र प्रयोग गरिँदैन । यसमा इतिहास, वंशावली र रीतिरिवाजको बारेमा गूढ र कूट शैलीको प्रयोग गरिएको हुन्छ । बुद्धि विनोदका पर्याय समेत रहेकोले यसमा दार्शनिकताको मात्रा अधिक रहेको हुन्छ । थुप्रै महत्त्वपूर्ण विषयवस्तुलाई दर्शनको आधारमा प्रश्नहरूको निर्माण गरिएको हुन्छ ।
तामाङ गाउँखाने कथाहरूमा गहन रूपमा सोच्नु पर्ने प्रश्नहरू प्रयोगमा आउँदछन् । सरल प्रश्नहरू नै जटिल किसिमले सोच्नु पर्ने गरी सोधिन्छ, जसले गर्दा यो गहन हुन्छ । गहनता नै यसको मुख्य विशेषता हो
सरलता र स्थानीयता
तामाङ गाउँखाने कथाहरू स्थानीय जन जीवनको यथार्थ चित्रण र बुद्धि विनोद गर्न प्रश्नहरू निर्माण गरिने हुनाले यसमा स्थानीयताको आस्वादन गर्न सकिन्छ, त्यसैले पनि यो सरल हुन्छ । वरपर रहेका स्थानीय वस्तु, घटना, मान्यता, चालचलन, प्रचलन र प्रयोगमा आउने विभिन्न प्रश्नहरू निर्माण गरी उत्तरको खोजी गरिन्छ जसले स्थानीयताको प्रवद्र्धन हुन पुग्दछ । सरलता र स्थानीयता तामाङ गाउँखाने कथाको अर्को विशेषता हो ।
बौद्धिकता परीक्षण
गाउँखाने कथाको प्रमुख उद्देश्य नै बौद्धिकताको परीक्षण हो । यसमा चातुर्यतापूर्ण, बौद्धिक र गूढ प्रश्नहरू समावेश गरिन्छन् । बाजी जित्ने, धेरै ओम वा गाउँ पाउने उद्देश्यले सबाल सोधिने हुनाले पनि यो बढी बौद्धिक हुन पुग्दछ ।
तामाङ गाउँखाने कथाको महत्त्व
गाउँखाने कथामा स्थानीय, जातीय, सामाजिक र आर्थिक लगायत ऐतिहासिक घटनाक्रमलाई समेत रोचक ढङ्गले प्रस्तुत गरिन्छ । अति संक्षिप्त हुने हुनाले बुद्धि तिखार्न र स्मरण शक्ति बढाउन समेत यसले भूमिका निर्वाह गर्दछ । केटा केटीहरू समेत यस्ता कथा भन्न र फुकाउन उत्सुक हुन्छन् । यिनमा भाषा तथा लोक साहित्यको जगेर्नासँगै मनोविनोद र बौद्धिकता समेत प्रदर्शन हुन्छन् । कूट पद्य र अड्काको रूपमा विकसित भए तापनि गाउँखाने कथा ग्रामीण जन जीवन, स्थानीय परिवेश, वातावरण, परिस्थिति र बुद्धि विनोदको परिणाम भएकाले यसको महत्त्व धेरै रहेको पाइन्छ ।
सामाजिक महत्त्व
तामाङ गाउँखाने कथाले तामाङ जातिको सामाजिकता समेटेको हुन्छ । त्यसैले तामाङ गाउँखाने कथाहरू भन्नु नै समाजको प्रतिबिम्ब हो । तामाङ गाउँखाने कथाहरू जातीय सामाजिकता समेटेको हुन्छ । तामाङहरूको जातीय, लैङ्गिक, पारिवारिक, धार्मिक र सांस्कृतिक अवस्था समेत यसमा समेटिने हुनाले यसको सामाजिक महत्त्व रहेको स्पष्ट हुन्छ ।
३जातीय महत्त्व
तामाङ गाउँखाने कथाहरूमा यस जातिमा विद्यमान रीतिरिवाज, समस्या, धार्मिक निष्ठा र अन्य विविध जातीय सबालहरूमा सबाल जबाफ समेत हुने हुनाले यसको महत्त्व रहेको छ । गाउँखाने कथाका माध्यमबाट आफ्नो जातिप्रतिको चिनारी, पहिचान, वेशभूषा, रहनसहन, चालचलन, रीतिरिवाज र परम्पराको समेत जानकारी हुन्छ । वास्तवमा तामाङ गाउँखाने कथाले तामाङ जातिको न्वारनदेखि मृत्युसम्मका जातीय सन्दर्भ जोडिएको हुन्छ
साहित्यिक र सृजनात्मक महत्त्व
मौखिक ढङ्गले अगाडि बढिरहेको तामाङ गाउँखाने कथाहरूले नेपाली लोक साहित्यलाई समेत महत्त्वपूर्ण टेवा पुर्याइरहेका छन् । सरल र मिठासपूर्ण प्रश्नमा बौद्धिक एवम् कुटिल जबाफ खोजिने हुनाले झन् यो बालकदेखि बृद्धसम्मलाई लोकप्रिय रहेको छ । गाउँखाने कथाको प्रयोगद्वारा आफू जुन परिस्थितिमा छ त्यही परिस्थितिसँग मिल्ने गरी प्रश्नहरू निर्माण गर्ने तथा फुकाउने सिर्जनशील क्षमताको समेत विकास हुन्छ ।
३.५.४ ऐतिहासिक महत्त्व
प्राचीन कालमा कुनै गोप्य कुरा भन्नु परेमा प्रयोग गरिएको शैली नै गाउँखाने कथा बन्यो भन्ने विद्वान्हरूको मान्यता रहेको पाइन्छ । तामाङहरूको विगतको घटना क्रम, चेतना स्तरको मूल्याङ्कन समेत गरिने हुनाले तामाङ गाउँखाने कथाको ऐतिहासिक महत्त्व छ । इतिहासको कालखण्डमा गरेका सङ्घर्ष, पीडा र दुःखको प्रतिनिधित्व स्वरूप सबाल जबाफ हुने गर्दछ । तामाङ जाति हस्त निर्मित वस्तुहरूको प्रयोग गर्दथे भन्ने सुन्दर उदाहरणहरू पाइन्छन् ।
तामाङहरू ऐतिहासिक कालखण्डदेखि प्रताडित थिए । उनीहरू जमिनको माथिल्लो भाग पहाडको टाकुरा आसपास खोरिया फारेर बस्दथे । ती स्थानमा काठ प्रसस्त पाइने हुनाले तिनीहरूको अधिक प्रयोग गर्दथे । साहुँ महाजनको काममा जाँदा भेटाइने लाम्चो ढुङ्गा ल्याई काठमा खोपेर नुन पिध्ने गर्दथे । त्यही ऐतिहासिकता यहाँ प्रस्तुत गरिएको छ । यस प्रकारका थुप्रै गाउँखाने कथाहरू तामाङ समाजमा प्रचलनमा रहेको छ । त्यसैले तामाङ गाउँखाने कथाको ऐतिहासिक महत्त्व रहेको छ ।
भौगोलिक महत्त्व
स्थानीयताको चित्रण तामाङ गाउँखाने कथाहरूमा पाइने हुनाले यसको भौगोलिक महत्त्व रहेको छ । तामाङ समुदाय कस्ता स्थानमा बसोबास गरेका छन् भन्ने कुरा गाउँखाने कथामा गरिने सबाल जबाफमा आकलन गर्न सकिन्छ । आफू बसोबास गर्ने स्थानहरूको चिनारी दिन गाउँखाने कथाहरू सफल छन् । उनीहरू प्रश्न वा उत्तर स्थानीय भौगोलिक परिवेशमा आधारित रहेर रचना गर्ने गर्छन् ।
धार्मिक महत्त्व
तामाङ गाउँखाने कथाले यस जातिका धार्मिक आस्था र विश्वास पनि दर्साउँदछ । तामाङहरूका सनातन धर्म, आस्था र विश्वासको बारेमा तामाङ गाउँखाने कथाहरूबाट थाहा पाउँदछौं । त्यसैले तामाङ गाउँखाने कथाले धार्मिक महत्त्व पनि बोकेको छ । लामाले लगाउने गरेको मालालाई तामाङ गाउँखाने कथामा यसरी प्रस्तुत भएको छ । ग्यरस गी ल ग्रुङ गीएनो ता ? फ्रेङपा (एक सय आठकै एउटै आन्द्रा के हो ? फ्रेङपा लामाले लगाउने माला) ।
निष्कर्ष
तामाङ गाउँखाने कथाहरू अति संक्षिप्त प्रकार, प्रश्नात्मक अभिव्यक्ति, चतुर्याइपूर्ण, बौद्धिक र गुढ, बुद्धि र योग्यताको परीक्षण, मनो विनोदको माध्यम, प्राचीन र सार्वभौमिक रूप, गुढ र कुट शैलीको प्रयोग, भाषा संक्षिप्त, कसिलो, अनेकार्थी र अल्मलाउने खालको, गद्यात्मक र पद्यात्मक दुबै प्रकारका भाषामा हुने हुँदा वाल वालिकादेखि बृद्ध बृद्धासम्मले रूचाउँछन् । सामाजिक, आर्थिक, जातीय, साहित्यिक र सृजनात्मक, ऐतिहासिक र भौगोलिक महत्त्व रहेको छ । तामाङहरूको ऐतिहासिक पहिचानको खोजीमा तामाङ गाउँखाने कथाहरूले सहयोग पुग्दछन् । तामाङ गाउँखाने कथालाई विषय वस्तु, माध्यम र संरचनाको आधारमा वर्गीकरण गरिएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, प्राकृतिक, स्थानीय र विविध कोणबाट विश्लेषण गरिएको छ ।
गाँउघर, गोठ, पधँेरो तथा चौतारीमा मात्र स्थान पाएको तामाङ गाउँखाने कथाको थप खोजी तथा अध्ययन गरेर थप चर्चायोग्य बनाउनु पर्छ । विकास र प्रचार प्रसारमा उचित अवसर पाउने हो भने तामाङ समुदायको थप मूल्य र मान्यताहरू उत्घाटन हुनेछन् । जसले तामाङ साहित्य र समुदाय मात्र नभई नेपाली साहित्य र समुदायले लाभ उठाउन सक्नेछन् ।
(लेखक गोपाल फ्युवा तामाङ विगत एक दसकदेखि ल्हाप्साङकर्पो क्षेत्रका तामाङ लोक साहित्यको खोज र अनुसन्धानरत अध्यता हुन् ।)
सन्दर्भ सूची
अन्तर्वार्ता (२०६९) ः बुद्घिबहादुर तामाङ, (दार्खा ब्युर्चेत निवासी ७५ वर्षियसँगको अन्तर्वार्ता )
तामाङ, गोपाल फ्युबा (२०७०) ः तामाङ गाउँखाने कथाहरूको सङ्कलन, वर्गीकरण र विश्लेषण, स्नातकोत्तर शोधपत्र अप्रकाशित
पराजुली, कृष्ण प्रसाद (२०६५), नेपाली उखान र गाउँखाने कथा, काठमाडौैं ः रत्न पुस्तक भण्डार ।
भट्ट, गोविन्द (इ. २०००), लोक साहित्यको अवलोकन, काठमाडौं ः एकता बुक्स ।
भट्टराई, घटराज (२०५६), नेपाली साहित्यको ऐतिहासिक रुपरेखा, काठमाडौं ः सृष्टि प्रकाशन ।
सुवेदी, राजेन्द्र र होम सुवेदी (२०५५), नेपाली साहित्यको रुपरेखा, नेपाल ः पाठ्यसामाग्री प्रकाशन ।