पहाडको होली आज -शान्त बन्दै सहरको होली

562 पटक पढिएको

सम्पादक: Dhadingnews.com

holi

काठमाडौ, चैत्र २ – विगतको तुलनामा राजधानीको होली शान्त र सौहार्दपूर्ण बन्दै गएको छ । पूर्वसुरक्षा सतर्कता, चेतना विस्तार र कानुनी कारबाहीको डरका कारण यसले सभ्य रूप ग्रहण गरेको हो ।

‘पहिले जस्तो एक साताअघिदेखि बाटोमा हिंड्नै नसक्ने गरी लोला र गोला हानेको देखिएन,’ सुविधानगर तीनकुनेका ५३ वषर्ीय गोविन्द श्रेष्ठ भन्छन् । विगतमा अघिल्लो दिन नै पसल बन्द गर्नुपथ्र्यो । ‘पानी अभाव, लोला प्रहारबाट बटुवाले पाउने दुःख र प्रहरीको नियमित गस्तीले यो सम्भव भएको हो,’ उनले भने । होलीको दिन आइतबार पनि मध्याह्नसम्म पसल खोलेर रङ खेल्न जाने उनको योजना छ ।

डेढ दशकदेखि राजधानी बस्दै आएकी गृहिणी तथा मःम पसल सञ्चालक गंगा राना मगरले २/३ वर्षयता होलीमा हूलहुज्जत कम भएको बताइन् । रङ नखेल्नेहरूसमेत आनन्दले घर बाहिर निस्किन सक्ने वातावरण बनेको उनी सुनाउँछिन् । ज्यान जाने र घाइते हुने गरी भएका दुर्घटनाबाट सहरवासीले पाठ सिकेको उनको ठम्याइ छ ।

मुलुकभरका नागरिकको बसोबास रहेको उपत्यकामा बहुसांस्कृतिक र समावेशी चरित्रको होली देख्न पाइन्छ । विभिन्न सञ्चारगृह, व्यावसायिक प्रतिष्ठान र संस्थाले रङ खेल्ने/छर्ने कार्यक्रम आयोजना गर्छन् । त्यस्ता कार्यक्रमले सहरमा होलीको रौनक बढाएका छन् । चोक-चोकदेखि टुँडिखेलसम्म यसको रमझम देख्न पाइन्छ । तराईको ‘जोगिरा सरर’ देखि सुदूरपश्चिमको होरी एकसाथ मनाउन उपत्यकामै पाइन्छ ।

शनिबार अपराह्नदेखि मात्र हल्का चहलपहल देखिएको काठमाडौं गोलढुंगा ४ की गृहिणी धन गुरुङ बताउँछिन् । ‘पोहोर र यसपालि अराजक भीड देखिएन,’ उनी भन्छिन्, ‘पहिले यो पर्व मन पर्दैनथ्यो, अचेल छोरा साथमा लिएर चिने-जानेकासँग खेल्न घर बाहिर आउँछु ।’ पब्लिक युथ क्याम्पसमा स्नातक पाँचौं सेमेस्टर अध्ययनरत छोरा महादेव पनि बल्ल साँच्चिकै होरी मनाउन थालिएको बताउँछन् ।

रङ खेल्ने क्रममा विगतमा छतबाट लडेर ज्यान जानेसम्मका घटना भएका थिए । लोला प्रहारबाट आहत हुने बटुवाको त लेखाजोखा नै हुँदैनथ्यो । त्यस्ता अपि्रय घटनालाई ध्यानमा राखेर केही दिनदेखि प्रहरीले सचेतना र चेतावनी अभियान सुरु गरेको छ । प्रहरीका विभिन्न एकाइ र एफएमहरूले पनि यसमा सक्रिय भूमिका निर्वाह गरेका छन् । प्रहरीले ३ दिनदेखि गि्रज, डिजल, मोबिल र प्रदूषित पानी प्रयोग नगर्न माइकिङ गरिरहेको छ । विभिन्न एफएममार्फत् प्रहरीले अपरिचितलाई रङ नदल्न, परिचितसँग पनि सोधेर मात्र खेल्न र आवागमनमा अवरोध हुने गरी लोला हाने कारबाही गर्ने सूचना निरन्तर प्रसारण गरिरहेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले अघिल्ला वर्षको तुलनामा निकै मर्यादित भएको बताए । उच्छृंखल गतिविधि गर्नेविरुद्ध शुक्रबारदेखि कारबाही सुरु गरिएको छ । शनिबार साँझसम्म नियन्त्रणमा लिइएका ४२ जनामध्ये अधिकांश अबोध बालबालिका छन् ।

गम्भीर प्रकृतिको घटनामा संलग्न दुई वयस्कलाई सार्वजनिक अपराधमा मुद्दा चलाइएको र बालबालिकालाई सम्झाएर अभिभावकको जिम्मा लगाइएको पालले जनाए । अघिल्ला वर्षको तुलनामा निकै कम पक्राउ र कारबाहीमा परेको उनको भनाइ

छ । पक्राउ परेकामा पनि वयस्क कम छन् । गत वर्ष होली अवधिमा पक्राउ परेका ३ सय ५० मध्ये २१ जनालाई सार्वजनिक अपराधमा मुद्दा चलाइएको थियो ।

समाजशास्त्री चन्द्रकान्त ज्ञवालीको भनाइमा सहरिया समाजले विस्तारै होलीलाई चाडका रूपमा स्वीकार्दै सौहार्दपूर्ण वातावरणमा मनाउन थालेको छ । स्थानीय प्रशासनले केही दिनअगावै होलीको बहानामा गरिने हूलदंगालाई सार्वजनिक अपराधको कोटिमा राखेर कारबाही गर्ने सूचना दिएकाले सुधार आएको उनको ठम्याइ छ । कानुनको डरले होली खेल्नेको मानसिकतामा परिवर्तन ल्याएको ज्ञवालीले बताए ।

उनका अनुसार पञ्चायतकालमा होली शान्तिपूर्ण हुन्थ्यो । पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जाँदा ०४८ देखि ०६४ सम्म यसले निकै अराजक रूप ग्रहण गर्‍यो । दुर्घटना बढेपछि सुरक्षा निकायले सजगता अपनाए । सचेतना अभियानमा प्रहरी/प्रशासन र नागरिकबीच सञ्चारमाध्यमले कोसेढुंगाको भूमिका निर्वाह गरेको उनी बताउँछन् । ‘सञ्चारमाध्यमको खबरदारीका कारण वसन्त ऋतुमा बर्सेनि मनाइने सुविचार, सत्य र सामाजिक एकताको यो पर्व पूर्वसांस्कृतिक स्वरूपमा फर्किन थालेको छ,’ ज्ञवाली भन्छन् इ कान्तिपुर डट कमले लेखेको छ ।